बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
डिस्कोर्स

धर्म, राजनीतिक पार्टी, प्रतिनिधिमूलक प्रजातन्त्र र प्रत्यक्ष प्रजातन्त्र

बुधबार, २३ असोज २०८१, १३ : ४०

पूर्वी एसियामा झन्डै पाँच हजार वर्ष अगाडिदेखि धर्मले स्थान लिँदै आइराखेको देखिन्छ । सबैभन्दा पुरानो धर्मका रूपमा हिन्दु धर्मलाई लिइन्छ । वेदान्त दर्शनको सुरुवात भएको चार हजार वर्ष मानिन्छ भने वेदान्त दर्शनका विरुद्धमा बोल्न थालिएको झन्डै तीन हजार वर्ष भइसकेको छ । 

चार्वाकले पहिलोपटक वेदान्त दर्शनका विरुद्धमा आफ्नो आवाज बुलन्द बनाएका थिए भने कपिल गौतम बुद्धले यसका विरुद्धमा बोल्न थालेको २६ सय वर्ष भइसकेको छ । 

आजसम्म आइपुग्दा हिन्दु धर्म र यसको प्रभावले पूर्वी एसियालाई निकै गाँजेको देखिन्छ । ‘गरिबको सहारा ईश्वर’ भन्ने भाष्य स्थापित छ । आज पनि गरिब बस्तीहरूमा नयाँ सम्भावनाको बीजारोपण धर्मले गर्दछ भन्ने विश्वास पाइन्छ । यद्यपि समाजले आजसम्म धर्मबाट कुनै लाभ प्राप्त गर्न सकेको छैन । मात्र विश्वासका आधारमा यसले आफ्नो स्थान ग्रहण गरिराखेको छ । 

मानिसले भक्ति र स्तुतिमा समय खर्च त गरिरहेको छ तर अभावपूर्ण जिन्दगीबाट उन्मुक्ति प्राप्त गर्न सकिराखेको छैन । प्राकृतिक घटनाहरूको वास्तविक ज्ञान हुन नसक्दा ईश्वरको पैदा हुन पुगेको देखिन्छ, त्यसभन्दा अलग्गै अरु कुनै तथ्य आजसम्म भेटिएको देखिन्न । घामपानी, वर्षा, हावाहुरी, चट्याङ लगायत प्राकृतिक घटना मानिसको तत समयको ज्ञानको दायराभन्दा बाहिरका थिए । यी घटनाका आधारमा मानिसले ईश्वरको कल्पना गरेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । 

आजसम्म प्रत्यक्ष रूपमा यस पृथ्वीका कुनै पनि मानवले ईश्वर भेटेको तथ्य छैन, तर पनि ईश्वरप्रति आस्था गर्नेहरू विश्वभरि नै छन् । 

आस्था र डरका आधारमा आजसम्म विश्व समुदायमा धर्मले स्थान ग्रहण गरिराखेको देखिन्छ । प्राकृतिक घटनाका कारक ईश्वर हुन् भन्ने विश्वासले ईश्वरको निर्माण र फैलावट हुने कार्य भयो । आजसम्म कसैले ईश्वर भेटेको छैन, ईश्वरमार्फत सेवा प्राप्त गरेको कुनै प्रमाण पनि छैन, तर पनि मानिस धर्मको पछाडि लागिराखेका छन् । बिरामी पर्दा झारफुक गरेर निको पार्न लागिपर्ने मानिस आज अस्पताल गएर विज्ञान प्रविधिको सेवामार्फत आफूलाई निको पार्दा पनि कहीँ न कतै ईश्वरमाथि आस्था र विश्वास राखिराखेको छ । अझै पनि विज्ञान–प्रविधिले ईश्वरमाथि आस्थावान् रहेका विभिन्न धर्महरूमाथि विजय प्राप्त गर्न सकेको छैन । मृत्युको कारण के हो ? मृत्युलाई कसरी रोक्न सकिन्छ ? अर्थात् मृत्युमाथि विजय प्राप्त गर्न सक्ने गरी विज्ञानले आफूलाई विकास गरेको क्षणमा सम्भवतः यस पृथ्वीबाट ईश्वरमाथिका मानिसका धेरै विश्वास हटेर जानेछन् ।
यहाँसम्म आइपुग्दा ईश्वरीय आस्थाले एउटा राजनीतिक प्रक्रिया नै सुरुवात गरेको देखिन्छ । ईश्वरका विभिन्न प्रतिनिधिका रूपमा पृथ्वीमा विभिन्न ईश्वरीय मानव रूप देखापरेको र तिनले जनमानसमा विश्वास स्थापित गर्न सकेको देखिन्छ । जसका आधारमा राजनीतिक व्यवस्था पनि स्थापना हुन सक्यो । विष्णुको अवतारका रूपमा राम, कृष्ण र पछिल्लो समयमा गौतम बुद्धलाई लिने पूर्वी एसियाको धार्मिक चेतना र त्यसका आधारमा निर्माण भएको राजनीतिक सत्ता आज पनि समाजमा गढेर रहेको छ ।

त्यस्तै पाश्चात्य जगतमा पनि जिसस क्राइस्ट ईश्वरको सन्देश बोकेर पृथ्वीमा आएको र मानवको सेवा गर्नका निम्ति तल्लीन रहेको भन्ने एउटा अवधारण निर्माण भयो । सोही अवधारणा अनुसार त्यहाँ राजनीतिक प्रणाली निर्माण हुन पुग्यो । आज विज्ञान र प्रविधिको चामत्कारिक अनुभूति पाश्चात्य जगत्ले जुन अवस्थामा गरेको छ, त्यही अनुपातमा धर्मले पनि पाश्चात्य जगतलाई जकडेर राखेको छ । त्यसै अनुरूपको राजनीतिक प्रक्रिया पनि चलिराखेको छ । 

प्रतिनिधिमूलक व्यवस्थाको अन्त्यको आधार विज्ञान र प्रविधिले पैदा गरेजस्तै गरी प्रत्यक्ष प्रजातन्त्रको आधार पनि विज्ञान र प्रविधिले नै प्रस्तुत गरिराखेको छ ।

आज पाश्चात्य जगत्मा अपनाइएको राजनीतिक प्रक्रिया प्रतिनिधिमूलक व्यवस्था हो । त्यसको उदय धार्मिक मूल्य–मान्यताबाट भएको थियो । ईश्वरको प्रतिनिधि भएर आएजस्तै गरी जनताको प्रतिनिधि भएर आज राजनीतिक प्रक्रिया सञ्चालन भइराखेका छन् । २५ सय वर्षअगाडि जिसस क्राइस्टको जन्म हुँदा जनताको जीवनमा आमूल परिवर्तन केही हुन सकेन । तर पनि आज मानिस त्यही आस्थामा आस्थावान् छन् र त्यही अनुरूपको राजनीतिक प्रक्रियामा अभ्यस्त भइराखेका छन् । पूर्र्वी एसियामा त राजनीतिक प्रक्रियामा धर्मले ठुलै स्थान ग्रहण गरेको देखिन्छ ।

ईश्वरमार्फत पठाइएका सन्देश लिएर पृथ्वीमा शासन गर्नका निम्ति राजा–महाराजा आइपुगेका हुन् भन्ने मान्यता स्थापित भयो । यद्यपि बलवान् मानिस विभिन्न क्षमता देखाउँदै स्थापित भएको थियो तर आफैँ बिचबाट स्थापित भएको कुरा मानिसले बिर्सिन पुग्यो र आफूलाई ईश्वरको प्रतिनिधिका रूपमा जोड्न पुग्यो । 

आफूलाई बलवान् साबित गरिसकेपछि सधैँ आफ्नो सत्तालार्ई बचाइराख्नका निम्ति नै मानिसले आफूलाई ईश्वरसँग जोड्न थालेको थियो । राजा–महाराजा आउनुभन्दा अगाडि नै ईश्वरको प्रतिनिधिका रूपमा पृथ्वीमा मानव विभिन्न स्वरूपमा देखिएका थिए । त्यसपश्चात् आफ्नो क्षमता प्रस्तुत गरेर जनताका बिचबाटै चुनिएर आएका राजा–महाराजाले आफूलाई ईश्वरको प्रतिनिधिका रूपमा व्याख्या गरे र आफ्नो सत्तालाई लम्ब्याउन सफल भए । प्रतिनिधिमूलक व्यवस्थाको सुरुवात ईश्वरको प्रतिनिधिका रूपमा ईश्वरधारीले गरिसकेका थिए भने आफूलाई भगवान् साबित गरेर समुदायकै बिचबाट आएको मानिसले पनि आफूलाई ईश्वरको प्रतिनिधि भन्दै जनताको प्रतिनिधिका रूपमा स्थापित गर्न सफल भए । यसरी ईश्वरको प्रतिनिधि बन्ने व्यवस्था आजसम्म संसारमा रहँदै आइरहेको देखिन्छ ।

धर्म, राजनीतिक पार्टी वा प्रतिनिधिमूलक व्यवस्था अबको विकल्प हुन सक्दैनन् । यी सम्पूर्ण कुराको विकल्पका रूपमा प्रत्यक्ष प्रजातन्त्र अबको युगको निर्विकल्प व्यवस्था हुन आइराखेको छ ।

विश्वमा पछिल्लो औद्योगिक क्रान्ति सँगसँगै राजा–महाराजाको व्यवस्था ढल्दै गयो र राजनीतिक पार्टीहरूको भूमिका स्थापित हुँदै गयो । पुराना राजा–महाराजाले आफ्नो स्थापनाको समयमा जनताको प्रतिनिधिकै रूपमा उभ्याएका थिए र त्यसलाई स्थायी रूप दिनका निम्ति ईश्वरसँग जोड्दै आफ्नो सत्तालाई लम्ब्याएका थिए । आजसम्म आइपुग्दा राजनीतिक पार्टीहरू पनि आफू जनताको प्रतिनिधिका रूपमा आउने र विभिन्न नाममा आफ्नो सत्तालाई टिकाइराख्नका निम्ति विभिन्न खालका तानाबाना बुन्ने गरेका छन् । आउँदा जनप्रतिनिधि भएर आएका हुन्छन्, सत्तामा पुगिसकेपछि आफूसँग अभूतपूर्ण क्षमता र अलौकिक क्षमता रहेको रूपमा स्थापित गर्नका निम्ति आजका राजनीतिक पार्टी र नेतृत्व तमतयार भएर बसिरहेका छन् । हिजो ईश्वरको प्रतिनिधि भएर आएका मानिस गर्ने व्यवहार आजका प्रतिनिधिले देखाइराखेका छन् । तसर्थ आजको व्यवस्था प्रतिनिधिमूलक व्यवस्था हो, जसले जनताको प्रतिनिधि भएर आउने र आफूलाई जनताभन्दा अलग रूपमा स्थापित गर्नका निम्ति तमतयार भएर लागिराखेको छ । 

राजा–महाराजाहरू पनि प्रतिनिधिमूलक व्यवस्थाका उपज थिए । जनताका बिचबाट आफ्नो समुदायको रक्षा गर्न सक्ने सामथ्र्यवान् मानिसका रूपमा उनीहरु स्थापित भएका थिए । सबैभन्दा बलवान् मानिस नै आफ्नो समुदायको राजा भएर स्थापित हुन्थ्यो, किनकि परिस्थितिसँग लड्नु वा भिड्नुपर्ने परिस्थिति थियो । प्रकृतिमा आश्रित मानव समुदायलाई प्रकृतिका विभिन्न घटनाबाट बचाउनका निम्ति आफ्नो समुदायभित्र बलवान् मानिसलाई नेतृत्व दिनु परिस्थितिको उपज थियो । तर आफ्नो सत्ता टिकाइराख्नका निम्ति मानिसले आफूलाई ईश्वरीय शक्तिसँग जोड्न थाल्यो । 

आजका दिनसम्म आइपुग्दा मानिसले समाजमा आफ्नो राजनीतिक शक्ति निर्माण गर्न पार्टीहरु खोल्ने जुन कार्य भइराखेको छ, यो हिजोको राजतन्त्रात्मक व्यवस्थाकै एक खालको निरन्तरता जस्तो देखिन्छ । हिजो राजा–महाराजाले जनतासँग जस्तो व्यवहार गरे आज राजनीतिक पार्टी र त्यसका नेतृत्वबाट त्यस्तै भइराखेको छ । राजसंस्थाभित्र राजपरिवारका सदस्यहरू उत्तराधिकारी हुन्थे भने आज राजनीतिक पार्टी र त्यसका उत्तराधिकारीले शासन गर्ने प्रक्रियाको सुरुवात मात्र भएको छ, मूलभूत कुरामा कुनै भिन्नता छैन । तसर्थ राजतन्त्रात्मक व्यवस्थादेखि आजसम्मको सम्पूर्ण व्यवस्था प्रतिनिधिमूलक व्यवस्था हो ।

आज विश्व समुदाय यहाँसम्म आइपुग्दा समेत व्यवस्था ज्युँका त्युँ छ, व्यक्ति र स्वरूपहरू मात्र फेरिएका छन् । तसर्थ आमूल परिवर्तनका निम्ति व्यवस्था फेर्न आवश्यक छ । आजभन्दा अगाडि स्थापित भएका व्यवस्था त्यो परिस्थितिको उत्तम व्यवस्था थियो । त्यसका कारण यी व्यवस्था स्थापित भएका हुन् । हरेक कुरा जन्मदा सुन्दर भएर जन्मन्छ र मर्दा कुरूप भएर मर्छ । आजसम्मको प्रतिनिधिमूलक व्यवस्था सुन्दर भएर जन्मिएको थियो, तर परिस्थितिका कारण कुरूप भएर अन्त्य हुने दिशातिर गइराखेको छ । आजको युगमा विकास भएको विज्ञान प्रविधिले प्रतिनिधिमूलक व्यवस्थाको अन्त्य गर्नका निम्ति आधार पैदा गरिराखेको छ । यही आधारमा नयाँ व्यवस्था निर्माण हुनेछ ।

प्रतिनिधिमूलक व्यवस्थाको सुरुवात ईश्वरको प्रतिनिधिका रूपमा ईश्वरधारीले गरिसकेका थिए भने आफूलाई भगवान् साबित गरेर समुदायकै बिचबाट आएको मानिसले पनि आफूलाई ईश्वरको प्रतिनिधि भन्दै जनताको प्रतिनिधिका रूपमा स्थापित गर्न सफल भए ।

आजसम्मको व्यवस्थाको आधार एउटै छ । राजतन्त्रात्मक व्यवस्थादेखि राजनीतिक पार्टीद्वारा शासित हुने व्यवस्थासम्मको आधार संरचनामा कुनै फेरबदल छैन । आधार संरचनालाई ज्युँका त्युँ राखेर व्यवस्था बदल्यौँ भन्दै आजसम्मका राजनीतिक पार्टीहरूले आफूलाई सत्तारोहण गरिरहेका छन्, यसैलाई व्यवस्था बदलिएको भनेर स्थापित गरेका छन् । 

आजसम्मको मानव समाज मानव श्रममा आधारित छ । आजसम्मको सिङ्गो मानव समाजको आधार संरचना नै मानव श्रममा आधारित छ । यसर्थ व्यवस्था बदल्ने आधार संरचनामा कुनै फेरबदल आएको छैन । त्यसो हुँदा आजसम्म व्यवस्था परिवर्तनको आधार संरचनामै परिवर्तन आएको थिएन भन्न सकिन्छ । आज विज्ञान र प्रविधिको विकासले आधार संरचनामा पूर्ण परिवर्तन लिएर आइरहेको परिवेशमा व्यवस्था परिवर्तन सम्भव भएको छ । तसर्थ आजको बदलिँदो परिवेशको राजनीतिक व्यवस्था के त भन्ने प्रश्न उब्जिएको छ ।

प्रतिनिधिमूलक व्यवस्थाको अन्त्यको आधार विज्ञान र प्रविधिले पैदा गरेजस्तै गरी प्रत्यक्ष प्रजातन्त्रको आधार पनि विज्ञान र प्रविधिले नै प्रस्तुत गरिराखेको छ । आज भएको विज्ञान र प्रविधिको विकासले व्यक्तिको व्यक्तिगत अधिकारलाई विश्वस्तरमा प्रयोग गर्न सक्ने बनाएको छ । व्यक्तिको व्यक्तिगत अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मानिस पूर्णरूपमा स्वतन्त्र भएको हुन सक्दैन । व्यक्तिको धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, वेशभूषा आदि कुराको व्यक्ति स्वयंले पूर्णरूपमा प्रयोग गर्न सक्ने राजनीतिक व्यवस्था निर्माण नभएसम्म पूर्ण प्रजातन्त्र असम्भव हुन्छ । 

भर्खरै विदेश भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्रीले अंग्रेजी भाषामा पोख्त नभए पनि सो भाषा बोल्नुपर्ने बाध्यताले गर्दा आफ्नो स्पष्ट धारणा राख्न नसक्ने अवस्था पैदा भयो । यस्तो अवस्था भनेको एउटा व्यक्तिको नैसर्गिक अधिकार विश्व समुदायले खोसेको अवस्था हो । तर आज विज्ञान र प्रविधिको विकासले भाषालाई आवश्यकता अनुसार अनुवाद गरिदिन्छ । यसले अब पूर्ण प्रजातन्त्रतिर सिंगो मानव समुदायलाई लैजाने देखिन्छ । अब एउटा भाषा प्रतिनिधि भाषा हुन सक्दैन । आज कुनै मानिसले आफूलाई विश्व समुदायसम्म पुर्‍याउनका निम्ति अर्को कुनै भाषा जानिराख्नुपर्दैन । यसो हुँदा वैयक्तिक अधिकारहरूको रक्षा हुने परिस्थिति निर्माण भएको छ, यसले अब विश्व राजनीतिक व्यवस्थामा नयाँ राजनीतिक प्रक्रियाको थालनी हुने आधार पैदा गरेको छ । तसर्थ आजको प्रतिनिधिमूलक व्यवस्थाको अन्त्यको आधार विज्ञान र प्रविधिले पैदा गरेको स्पष्ट देखिन्छ । 

धर्म, राजनीतिक पार्टी वा प्रतिनिधिमूलक व्यवस्था अबको विकल्प हुन सक्दैनन् । यी सम्पूर्ण कुराको विकल्पका रूपमा प्रत्यक्ष प्रजातन्त्र अबको युगको निर्विकल्प व्यवस्था हुन आइराखेको छ । यही आधारमा अबको विश्व समुदायले आफ्नो राजनीतिक कार्यदिशा र कार्यक्रम बनाउनेछन्, जसको आधार आजको विज्ञान प्रविधिले पैदा गरेको छ ।

(लेखक सुवेदी प्रत्यक्ष प्रजातन्त्र अभियानका संयोजक एवं अधिकारी त्रिविबाट विद्यावारिधि गर्दै छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश सुवेदी
दिनेश सुवेदी
लेखकबाट थप
प्रकाश अधिकारी
प्रकाश अधिकारी
लेखकबाट थप