बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बुधबार, २३ असोज २०८१, १३ : ४२
बुधबार, २३ असोज २०८१

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्‍याएपछि उनी चिन्तित छन् । 

उनले भने, ‘आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए । दुईबिघा मध्ये १३ कट्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए । बाढीले क्षति गरेपछि ठुलो नोक्सानीको सामना गर्नुपरेको छ ।’ उनले भारतको मदरासबाट मदरासी(चिनिचम्पा) जातका केराको बीउ ल्याएर लगाएका थिए ।  

यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उनले बताए । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट भएको तथ्याङ्क प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

बाढीले रु ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उनले बताए । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ । हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् । यस वर्ष केरा खेतीमा दैवीप्रकोपले ठुलो नोक्सानी पुर्‍याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ भने मूल्य बढ्ने आँकलन गरिएको छ । सुनसरीमा पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप