बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

विश्व क्रिकेटमा सात वर्षपछि फर्कियो हङ्कङ सुपर सिक्सेस, यस्ता छन् नियम

बुधबार, २३ असोज २०८१, १३ : २८
बुधबार, २३ असोज २०८१

काठमाडौँ । लामो समयपछि फेरि ‘हङ्कङ सुपर सिक्स’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता हङ्कङमा खेलिने छ । विश्व क्रिकेटमा सात वर्षपछि फेरि ‘हङ्कङ सुपर सिक्स’ आयोजना गर्न लागिएको हो ।

यो ढाँचाको क्रिकेटमा एउटा टोलीले पाँच ओभरमात्र ब्याटिङ गर्न पाउँछ । यसपटक ‘हङ्कङ सुपर सिक्स’ मा १२ वटा टोलीको सहभागिता रहने समाचारमा जनाइएको छ । प्रतियोगितामा अस्ट्रेलिया, भारत, इङ्ल्यान्डलगायतका टोलीले भाग लिने बताइएको छ ।

प्रतियोगिता आगामी नोभेम्बर १ देखि ३ तारिखसम्म आयोजना हुनेछ । यो प्रतियोगितामा कस्ता खेलाडीले सहभागिता जनाउँछन् भन्ने विषयमा केही खुलाइएको छैन । यो ढाँचाको प्रतियोगितामा प्रत्येक टोलीबाट केवल ६ जना खेलाडी मैदानमा ओर्लन पाउँछन् ।  

प्रतियोगितामा सहभागी हुने १२ टोलीमध्ये नेपाल पनि रहेको छ । प्रतियोगितामा नेपालका अतिरिक्त भारत, पाकिस्तान, इङ्ल्यान्ड, अस्ट्रेलिया, हङ्कङ, न्युजिल्यान्ड, ओमान, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र संयुक्त अरब इमिरेट्स (यूएई) ले सहभागिता जनाउने बताइएको छ ।

यसअघि भारतका सचिन तेन्दुल्कर, महेन्द्रसिंह धोनी, अनिल कुम्बलेलगायतका खेलाडी पनि ‘हङ्कङ सुपर सिक्स’ खेलिसकेका छन् । यो ढाँचाको प्रतियोगितामा फाइनलअघि बलरहरुले प्रत्येक ओभरमा ६ बल नै फाल्नेछन् । तर, फाइनलमा भने आठ बलको एक ओभर हुनेछ ।

यो ढाँचाको क्रिकेटमा विकेटकिपरलाई छाडेर अन्य सबै खेलाडीले एक–एक ओभर बलिङ गर्न पाउने छन् । यदि बलरले वाइड वा नो बल फालेमा विपक्षी टोलीले एक रनको सट्टा अतिरिक्त रूपमा दुई रन पाउने छ ।  

यसैगरी, पाँच ओभर पुरा हुनुअघि नै कुनै टोलीको पाँच खेलाडी आउट भए भने क्रिजमा रहेका अन्तिम ब्याट्सम्यान एक्लैले पनि ब्याटिङ गर्न पाउने छन् । यस्तो स्थितिमा पाँचौँ नम्बरमा आउट हुने ब्याट्सम्यानले ‘रनर’ को भूमिका निर्वाह गर्नेछन् ।

खेलका क्रममा यदि कुनै ब्याट्सम्यानले ३१ रन बनाएमा उक्त ब्याट्सम्यान स्वतः रिटायर्ड भएर मैदानबाट बाहिरिने छ । यदि त्यो टोलीका सबै ब्याट्सम्यान आउट भएको अवस्थामा भने ३१ रन बनाएर रिटायर्ड भएको ब्याट्सम्यानले पुनः ब्याटिङ गर्न पाउने छ ।

‘हङ्कङ सुपर सिक्स’ को अघिल्लो संस्करण सन् २०१७ मा आयोजना भएको थियो । यसपटक भने प्रतियोगितालाई ‘हङ्कङ क्रिकेट सिक्सेस’ को नामबाट निरन्तरता दिइएको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप