बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

अमेरिकाले चीनको विकास किन रोक्न सक्दैन ?

बुधबार, २३ असोज २०८१, १४ : ४६
बुधबार, २३ असोज २०८१

चीनमा अहिले राष्ट्रिय बिदाको समय छ । सातदिने बिदा लिएर चीनमा राष्ट्रिय दिवस धूमधामले मनाइरहँदा चीनको आर्थिक गतिविधिमा बढोत्तरी र मजबुती पनि सँगसँगै देखिएको छ । यस्ता बिदाले चिनियाँलाई घुमघाम, किनमेल, मनोरञ्जनको अवसर दिने मात्रै होइन चीनको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतालाई झल्काउने अवसर पनि प्रदान गर्छ ।

पछिल्ला केही वर्षमा अमेरिकाले दोधारे चीन नीति अख्तियार गरिरहेको छ । एकातर्फ ‘चीनको आर्थिक पतन’को भाष्यलाई जोडतोडले प्रचार गरिरहेको छ । यसमा अमेरिकाका उच्चस्तरका अधिकारी आफैँ संलग्न छन् । यस्तो हल्ला यति धेरै दोहोर्‍याइएको छ कि यो उन्मादको स्तरको देखिन्छ । 

अर्कोतर्फ, चीनको आर्थिक प्रगतिको कारण अमेरिकाको बजारमा परेको भनिएको काल्पनिक प्रभावलाई अतिरञ्जित गर्दै ‘सेकेन्ड सक’ भन्दै हल्ला गरिरहेका छन् । अमेरिकाको चीनसम्बन्धी रणनीति जे जसरी भए पनि चीनको अर्थतन्त्रलाई घेराबन्दी गर्ने, दबाउने लक्ष्यसहित ‘आर्थिक युद्ध’कै स्तरमा विकास भइरहेको छ ।

चीनको यस्तो ठुलो र गतिशील अर्थतन्त्रविरुद्ध अमेरिकी रणनीति सफल होला त ? यस वर्षको राष्ट्रिय दिवस उत्सव मनाउँदाको तथ्याङ्कले यसको जवाफ खोज्न सहयोग गर्न सक्छ ।

यो वर्षको राष्ट्रिय दिवसको बिदामा सवारी–साधनको आवतजावतको मात्रा उच्च स्तरको देखियो । राजमार्गहरूमा सवारी–साधनको औसत दैनिक बहाव ६ करोड १० लाखदेखि ६ करोड २० लाखसम्म हुने देखियो । यो अघिल्लो वर्ष २०२३  को यसै समयको तुलनामा एक देखि तीन प्रतिशतसम्म बढी हो । अन्तर्राष्ट्रिय उडानको ‘बुकिङ’ यो वर्ष दोब्बर भएको देखिन्छ । 

China

चिनियाँ पर्यटकले संसारभरिका एक सय ४४ देशका लगभग १६ सय सहरमा घुम्न हवाई टिकटको बन्दोबस्त गरेको देखिन्छ । यी तथ्याङ्कले जुनसुकै मापदण्डबाट हेर्दा पनि धेरै राम्रो गतिशीलताको संकेत गर्छ । चीनको अर्थतन्त्रबारे छुट्टीको समयको पर्यटन गतिविधिको आधारमा मात्रै मूल्यांकन गर्नु गल्ती हुन जान्छ । यद्यपि बढ्दो यात्रा–पर्यटन उद्योगले चीनको फैलिँदो आर्थिक विविधताको झल्को त पक्कै दिन्छ ।

यहाँनेर चीनको यातायात प्रणालीले कसरी यस्तो व्यापक मानव ओहोरदोहोरले कसरी व्यवस्थापन गर्छ भन्ने कुरा आउँछ । यस्तो क्षमता थोरै मुलुकसँग मात्रै छ । यहाँ कुरा केवल पूर्वाधारको होइन; अर्थतन्त्रको स्तर, मात्रा, क्षमता र जनताको भावनाको पनि कुरा हो । यी सन्दर्भमा विचार नगरी हेर्दा यथार्थबारेको बुझाइ सही नहुन सक्छ ।

राष्ट्रिय दिवसको घुमघामको आकर्षक तथ्याङ्कले खर्चयोग्य आयमा भएको बढोत्तरी, परिष्कृत यातायात प्रणाली र उच्च गुणस्तरीय जीवनको चाहना प्रस्तुत गर्छ । सुदृढ उत्पादन क्षेत्र, व्यापक सडक सञ्जाल र बसोबासको बन्दोबस्तीमा भएको नवीन विकासलाई पनि उत्तिकै देखाउँछ । समग्रमा यी सबै पक्षले चीनको अर्थतन्त्रको बृहत् तस्बिर देखाउँछन् ।  

सन् २०२४ मा आर्थिक विविधता मापन गर्ने सूचकांक ‘ग्लोबल इकोनोमिक डाइभर्सिफिकेसन इन्डेक्स’ले चीनलाई दोस्रो व्यापक आर्थिक विविधता भएको मुलुकमा सूचीकृत गरेको छ । अमेरिका यो सूचीमा पहिलो स्थानमा रहेको छ ।

how-chinas-economy-compares-us

यस्तो मजबुत र विविधतापूर्ण आर्थिक संरचनालाई सहजै अवरोध गर्न सम्भव छैन । यसको शक्ति नयाँ र गुणस्तरीय उत्पादकत्वको विकासमा सघाइरहेका यसका रूपमा विविध स्वरूपमा छ । अर्थात् चीनको अर्थतन्त्र आधारभूत रूपमै विविधता र मजबुती साथ उभिएको छ ।

यो सत्य हो, चिनियाँ अर्थतन्त्र अझै यसको विकासको चुनौतीपूर्ण रूपान्तरणको चरणमै छ । राष्ट्रिय दिवस अघिका सेयर बजारका उछाल र बिदाको दौरान देखिएको पर्यटनको तेजीले त्यो रूपान्तरणको प्रक्रियालाई आजको भोलि नै पूरा गर्ने होइनन् । यसका लागि अझै समग्र अर्थतन्त्र र यसका आधारभूत मापकको सुधारको नीति कार्यान्वयनको क्रमिक प्रक्रिया आवश्यक छ ।

चिनियाँ अर्थतन्त्रको मात्रा, स्तर, क्षमता तथा समाज र संस्कृतिको विविधता लगायत आधारभूत पक्षहरूको गहिरो बुझाइले मात्र वास्तविक अवस्थाको आकलन गर्न सकिन्छ । साथै ‘आसन्न आर्थिक पतन’जस्ता भाष्यका आधारमा बन्ने नीतिगत निर्णयबाट जोगाउन सक्छ । यस्तो गहन समझदारीले चीनको अर्थतन्त्रको जटिलता, लचिलोपना र यसको मजबुतीलाई देखाउँछ ।

चीनको आर्थिक विकासलाई रोक्न उच्चस्तरको प्रविधि (हाइ–टेक) उद्योगमा अमेरिकाले गरेको प्रतिबन्ध लगायत गतिविधि प्रभावकारी नहुने देखिन्छ । हाइ–टेक क्षेत्र आवश्यक क्षेत्र त हो, तर चीनको अर्थतन्त्रको आधार चाहिँ यसमा भन्दा अन्य क्षेत्रमा ज्यादा छ । यसको विस्तृत उत्पादन तथा निर्माण क्षेत्र, विश्वस्तरीय पूर्वाधार, मजबुत आपूर्ति शृङ्खला तथा एक अर्ब ४० करोड जनताको विविध उपभोग स्वरूपले यसलाई जोगाएको र जगाएको छ ।

चीनको अर्थतन्त्र याङ्सी नदीजस्तै छ । यसले विभिन्न स्रोतबाट आफ्नो शक्ति प्राप्त गर्छ । कुनै एउटा उद्योगबाट मात्र नभएर चौतर्फी आर्थिक विकासबाट यसको शक्ति प्राप्त हुन्छ । यो विविधता औद्योगिक संरचना तथा एक अर्ब ४० करोड जनताको उन्नत जीवनको आकाङ्क्षामा पनि देखिन्छ । 

यसैले चीनको आर्थिक आत्मविश्वासलाई आधार प्रदान गएको छ । यही त्यो शक्ति हो, जसले जुनसुकै प्रकारका घेराबन्दी नीतिलाई लागु हुन रोकिदिन्छ । अमेरिकाको चीनसम्बन्धी रणनीतिमा चीनको आर्थिक विकासलाई केले चलाउँदै छ भन्नेबारे गलत बुझाइ देखिन्छ । 

अमेरिकी नीति निर्माताले चिनियाँ अर्थतन्त्रको शक्तिलाई गम्भीरतापूर्वक अनुभव गर्ने र बुझ्ने प्रयास गर्ने हो भने उनीहरू धेरै विषय सहजै बुझ्न सक्छन् । चीनलाई अमेरिकी संस्कृतिभन्दा फरक रूपमा उदाउँदै गरेको शक्तिको रूपमा बुझ्न सक्छन् । आफ्नो दृष्टिकोणमा पुनर्विचार गर्न सक्छन् । दुर्भाग्य, अमेरिकी निर्णयकर्ताहरू पश्चिमा दृष्टिकोणबाट प्रभावित भएर चीनको उदयको अन्तर्यलाई बुझ्न अझै असमर्थ भइरहेका छन् ।

(ग्लोबल टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप