बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
घुमघाम

दसैँ बिदामा घुम्न लायक लुम्बिनी प्रदेशका ११ पर्यटकीय स्थल

बुधबार, २३ असोज २०८१, १३ : ००
बुधबार, २३ असोज २०८१

बुटवल । लुम्बिनी प्रदेश पर्यटकीय गन्तव्य प्रशस्त छन् । लुम्बिनीमा विभिन्न धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्र छन् । धार्मिक एवं ऐतिहासिक स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्ने उद्देश्यले केन्द्र, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारले लुम्बिनीमा काम गरिरहेका छन् । 

लुम्बिनी प्रदेशको उद्योग तथा पर्यटन विकासमन्त्री प्रचण्ड विक्रम न्यौपानेले पर्यटन क्षेत्रलाई उच्च महत्त्व दिँदै तीनै तहका सरकारसँगको समन्वयमा पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार, प्रचारप्रसारमा काम गरिरहेको रातोपाटीलाई बताए । 

लुम्बिनी प्रदेशका तराईका समथर भूभागमा रहेका धार्मिक र ऐतिहासिक स्थल हुन् वा पहाडको काखमा रहेका मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने उनले बताए ।

प्रदेश पर्यटन परिषद्ले स्थानीय तहसँग सहकार्यमा नयाँ पर्यटकीय गन्तव्यको खोजी गरिरहेको छ । जसमा ओझेलमा परेको एक सयभन्दा धेरै पर्यटकीय स्थल सूचीकृत गरिएको छ । लुम्बिनीमा प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थलमध्ये प्रमुख ११ पर्यटकीय स्थलको यहाँ चर्चा गरिएको छ ।

१. लुम्बिनी 

  भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी एउटा मुख्य पर्यटकीय क्षेत्र हो । यहाँ खासगरी बुद्धमार्गी आउने गर्दछन् । लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत छ ।

बौद्ध धर्मावलम्बीसँगै हिन्दु धर्मावलम्बीले पनि लुम्बिनीलाई पवित्र स्थलका रूपमा लिने गरेका छन् । लुम्बिनी आउँदा मायादेवी मन्दिर सबैको रोजाइमा पर्छ । तर लुम्बिनीमा मायादेवी मन्दिरमात्रै होइन, धेरै आकर्षक अन्य बिहार पनि छन् । दैनिक ४ हजारभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक यहाँ घुम्न आउने गरेका छन् । स्थलमार्गबाट बुटवल, भैरहवा हुँदै लुम्बिनी जान सकिन्छ भने गौतम बुद्ध विमानस्थल हुँदै हवाई मार्गबाट पनि आउन सकिने लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले बताए । 

२. स्वर्गद्वारी

लुम्बिनी प्रदेशको धार्मिक गन्तव्यमा प्युठानको स्वर्गद्वारी पनि पर्दछ । स्वर्गद्वारीबाट आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमाल र अन्य दर्जनौँ हिमशृङ्खला हेर्न सकिन्छ । पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास छ ।

स्वर्गद्वारी मन्दिरमा यज्ञशालाभित्र पाञ्चायन देवदेवी, गणेश, सूर्य, विष्णु र शिवका मूर्ति छन् । चार दिशाका कोठामा अग्नि कुण्ड र बिचको यज्ञशालामा होम कार्य हुन्छ । स्वर्गद्वारीमा वटुकले पूजा, वेद पाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन् । हवन कुण्डमा हालसम्म निरन्तर अग्नि जलिरहेको छ ।

यहाँ जान घोराही, होलेरी हुँदै जाँदा ५९ किलोमिटर दुरी पर्दछ भने प्युठान जिल्लाको भिग्रीदेखि १४ किलोमिटर पर्दछ । यहाँ नेपालका साथै भारतीय पर्यटकको विशेष रोजाइ पर्ने गरेको छ ।

३. रानी महल

पाल्पाको रानी महललाई नेपालको ताज महल पनि भनिन्छ । विक्रम सम्वत् १९५० देखि १९५४ सम्म चार वर्ष लगाएर बनाइएको कलात्मक रानी महल दरबार पनि पर्यटकको मुख्य रोजाइ बन्ने गरेको छ ।

खड्ग शमशेरले दिवङ्गत रानी तेजकुमारीको सम्झनामा बनाएको रानी महल दरबार बेलायती इन्जिनियरले डिजाइन गरेको इतिहास छ । काली गण्डकीको तीरमा मनोरम प्राकृतिक स्थलमा रहेको रानी महललाई तानसेन नगरपालिकाले सङ्ग्रहालय बनाएर संरक्षण गरेको छ । महलभित्र पोखरी, मन्दिर, बगैँचा आदि छन् ।

खासगरी प्रेमको प्रतीकका रूपमा रहेको यो महल हेर्न मुख्यतः प्रेम दिवसको दिन पर्यटकको निकै भिड लाग्ने गर्दछ । नयाँ वर्षको पहिलो दिन र प्रेम दिवस (१४ फेब्रुअरी) का दिन यहाँ अत्यधिक पर्यटक पुग्ने गर्दछन् । अन्य दिन पनि यहाँ पर्यटक घुम्न जाने गरेका हुन्छन् ।

सदरमुकाम पाल्पाबाट १३ किलोमिटर उत्तरतर्फ बौवागुम्बास्थित काली गण्डकीको किनारमा यो पर्यटकीय स्थल पर्दछ । तानसेनबाट पैदल जान करिब २ घण्टा लाग्छ ।

४. तिलौराकोट

भगवान् गौतम बुद्धसँग जोडिएको महत्त्वपूर्ण स्थल कपिलवस्तुको तिलौराकोट हो । बुद्धको जन्मस्थल रुपन्देही र क्रिडास्थल कपिलवस्तु तिलौराकोटमा जिल्लामा पर्दछ ।

भगवान् गौतमबुद्धले तिलौराकोटमा २ वर्ष बिताएका थिए । यहाँ तीन वटा भग्नावशेष छन् । यहाँ दरबारको भग्नावशेष र पूर्वी पश्चिमी द्वार छन् । तिलौराकोटलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ ।

गौतमबुद्धका बुबा शुद्धोदन बस्ने यो तिलौराकोट कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि तीन किलोमिटर उत्तरमा वाणगंगा खोलाको किनारमा पर्छ ।

गौतमबुद्धबारे चासो राखेर अध्ययन गर्न धेरै पर्यटक यहाँ पुग्ने गरेका छन् । भग्नावशेष जीर्ण बन्दै गए पनि निकै शान्त र सुन्दर लाग्ने यो स्थल पर्यटकको रोजाइमा पर्ने गरेको छ । लुम्बिनीसँगै यससँग जोडिएका बुद्ध सर्किटलाई हेरेर घुम्ने योजना बनाएमा यो पनि एक महत्त्वपूर्ण स्थान रहेको पर्यटकविद् तथा प्राध्यापक डा गितु गिरीले बताए ।

५. बर्दिया राष्ट्रिय निकुञ्ज

लुम्बिनी प्रदेशका घुम्नका लागि अर्को मुख्य गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज हो । यहाँ बाघ, हात्तीसहित अन्य जङ्गली जनावर तथा दुर्लभ पंक्षीको अवलोकन गर्न सकिन्छ । यहाँ  पर्यटकहरू वन्यजन्तु हेर्ने गरी जङ्गल सफारीका लागि आउने गरेका छन् ।

९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा ५४ प्रजातिका स्तनधारी, चार सय प्रजातिका चराचुरुङ्गी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छन् । यो पूर्वपश्चिम राजमार्गसँग जोडिएकाले यातायातको सहज व्यवस्था छ । यहाँ केही थारु होमस्टे र केही स्तरीय होटल पनि छन् ।

Bardiya-national-park-bardiya

६. रेसुङ्गा

गुल्मीको रेसुङ्गा पनि धार्मिक पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ । प्राचीन युगमा धेरै ऋषि महर्षिले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको मान्यता छ । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रूपमा पनि लिइन्छ । त्रेता युगमा महर्षि ऋषि श्रृङले यहाँ आश्रम बनाइ साधना गरेका हुनाले उनै ऋषिको नामबाट रेसुङ्गा नामकरण भएको मान्यता छ ।

गुल्मीको सदरमुकाम तम्घासबाट माथि पहाडमा रहेको रेसुङ्गाबाट सुन्दर दृश्य हेर्न सकिन्छ । यहाँबाट आकाश खुलेको बेलामा तराईका समथर भूभाग समेत हेर्न सकिन्छ । पोखरीको दर्शन गरेर मन्दिरका लागि कम्तीमा ३० मिनेटको पैदल यात्रापछि मन्दिरमा पुग्न सकिन्छ, जहाँ अखण्ड अग्नि हवन कुण्ड छ । यहाँ तामाको छाना भएको भव्य मन्दिर छ । रेसुङ्गामा आवासको व्यवस्था भएकाले राति बस्ने गरी जान पनि सकिन्छ । तम्घासबाट रेसुङ्गा पुग्न पक्की सडकको सुविधा छ ।

Resunga-Temple

७. सुपा देउराली

पर्यटक परिषद् लुम्बिनीका प्रमुख कार्यकारी निर्देशक रामु जोशीका अनुसार सुपा देउराली धार्मिक ऐतिहासिक पर्यटकीय गन्तव्य हो । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्कबाट ४७ किलोमिटर दक्षिणतर्फ कपिलवस्तुको गोरुसिङ्गे रोडमा पर्ने यो मन्दिर नरपानीमा अवस्थित छ । यो मन्दिर बाइसे चौबिसे राज्यका बेला खाँचीकोटका राजाले निर्माण गरेको बताइन्छ ।

भाकल गरेर फल प्राप्त भएपछि पनि देवीलाई ढाँटेको कारण एक लाहुरेलाई यो भिरमा देवीले टाँसेको भन्ने मान्यता छ । मन्दिर नजिकैको भिरलाई ‘लाहुरे टाँसिएको भिर’ नामकरण गरिएको छ ।

स्थानीयको भनाइ अनुसार प्राचीन कालमा एक युवकले आफू लाहुरे (भारतीय सेना) हुन पाउँ भनी भाकल गरेको र लाहुरे भइसकेपछि देवीलाई छलेर अर्कै बाटो प्रयोग गर्दा उनी भिरमा टाँसिएर मृत्यु भएको मान्यता छ । नरपानीको सुन्दर डाँडाबाट हिमशिखरहरू हेर्दै सुपा देउराली मन्दिरमा पुग्न सकिन्छ । यहाँ आन्तरिक पर्यटकका साथै भारतीय नागरिकसमेत आउने गर्दछन् । गोरुसिङ्गे–सन्धीखर्क सडक खण्डमा पर्ने हुँदा यहाँ यातायातको सुविधा सहज छ ।

८. केबलकार (बुटवल)

रुपन्देहीको बुटवलका अहिले दुईवटा केबलकार सञ्चालनमा छन् । बुटवलका गोलपार्कदेखि पाल्पाको तिनाउ गाउँपालिका पर्ने वसन्तपुरसम्म एउटा र बुटवलदेखि पाल्पाको नुवाकोटसम्म अर्को केबलकार सञ्चालन आएको छ ।

बुटवलमा आउने पर्यटयकहरूलाई अहिले केबलकार एउटा महत्त्वपूर्ण गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल बजारमा पुगेका पर्यटकले लुम्बिनी केबलकार चढेर वसन्तपुरमा रहेमा रहेको कामाख्या देवीको मन्दिर पुग्न सकिन्छ । यता सिद्धार्थ केबलकार चढेर नुवाकोटको चिसो हावासँगै रमणीय दृश्य हेर्न सकिन्छ ।

cablecar butwal

९. भैरवस्थान (पाल्पा)

पाल्पाको रिब्दीकोट गाउँपालिका– ४ मा भैरवस्थानको मन्दिर छ । ११ रोपनी चार आना क्षेत्रफलमा रहेको यो मन्दिर पाल्पाका तत्कालीन सेन वंशीय राजाले स्थापना गरेको इतिहास छ । यो मन्दिरमा पाल्पाका राजा मुकुन्द सेनले काठमाडौँबाट भैरवको मूर्ति ल्याएर वि.सं. १५१५ तिर स्थापना गरेका थिए । भैरवको मूर्ति भु्इँ तलामा छ । नजिकै कालीको मूर्ति छ । मन्दिरमा भाकल पूजा, पञ्चवली पूजा, क्षमा पूजा आदि गरिन्छ । यस्तै यहाँ ठुलो त्रिशूल पनि राखिएको छ । प्राकृतिक मनोरम स्थलमा रहेको मन्दिरको दक्षिणतिर रोट पकाउने रोटघरहरूले झनै आकर्षण बढाएका छन् । यो मन्दिरमा चढाइने प्रसादको रूपमा रोट प्रख्यात छ ।

-bhairabstan-

पाल्पाको सदरमुकाम पाल्पाबाट १० किलोमिटर पश्चिममा रहेको भैरव मन्दिर पनि पाल्पाको एक प्रमुख पर्यटकीय स्थल हो ।

१०. जगदीशपुर ताल

कपिलवस्तुमा रहेको जगदीशपुर तालमा विश्वका विभिन्न देशबाट चरा आउने गर्दछन् । साइबेरियाबाट आउने विभिन्न चरा हेर्न यहाँ पर्यटक आउने गर्दछन् ।

SUD-Kapilbastu-JagadishpurTaal_20201120122938

विश्व सीमसार एवं पंक्षी आरक्ष जगदीशपुर तालमा डुङ्गाको सुविधा पनि छ । तालमा डुङ्गा सञ्चालन भएपछि आन्तरिक पर्यटक बढ्न थालेका छन् । सिँचाइ प्रयोजनका लागि २०३५ सालतिर बनाइएको यो ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको थियो ।

जगदीशपुर जलाशय हिउँदे आगन्तुक चराहरूको आश्रय स्थल पनि हो । यहाँ पुग्नको पूर्वपश्चिम राजमार्गबाट सहज छ । भैरहवा, लुम्बिनी हुँदै जान करिब १ घण्टा लाग्छ भने बुटवलबाट पनि करिब एक घण्टा लाग्छ । 

११. धारापानी

dharapani

दाङ जिल्लाको सुन्दर सहर घोराही नजिकै रहेको धारापानी क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य हो । यहाँ अग्लो पञ्चधातु मिश्रित त्रिशूल स्थापना गरिएको छ भने पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर पनि छन् । धारापानीमा तीर्थाटनका लागि धेरै आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । खास गरी शिवरात्रिका बेला यहाँ भव्य मेला लाग्दछ । यहाँ जान पनि सडकको पूर्वाधारको सुविधा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप