बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

बङ्गलादेशका स्टार अलराउन्डर महमुदउल्लाहको सन्न्यास

बुधबार, २३ असोज २०८१, १२ : ०७
बुधबार, २३ असोज २०८१

काठमाडौँ । बङ्गलादेशको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महमुदउल्लाह रियादले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । भारतविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटसँगै उनले यो ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

३८ वर्षीय महमुदउल्लाहले एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितालाई भने आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् । सम्भवतः पाकिस्तानमा सन् २०२५ मा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीपछि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्यास लिनेछन् ।

टेस्ट क्रिकेटबाट भने उनले सन् २०२१ मै सन्न्यास लिइसकेका छन् । उनी बंगलादेशी टोलीका प्रभावशाली अलराउन्डर हुन् । हाल भारत भ्रमणमा रहेको बंगलादेशी टोलीले बुधबार आयोजक राष्ट्रसँग दोस्रो टी–२० प्रतियोगिता खेल्दैछ ।

तेस्रो तथा अन्तिम टी–२० भने शनिबार खेलिने छ । ‘टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो मेरो अन्तिम शृङ्खला हुनेछ । भारत भ्रमणसँगै मैले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पनि सन्न्यास लिने निर्णय गरेको छु,’ दोस्रो टी–२० अन्तर्राष्ट्रियअघि उनले भनेका छन् ।

टी–२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएपछि आफ्नो सम्पूर्ण ध्यान एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा केन्द्रित गर्ने पनि उनले बताएका छन् । उनले भारत भ्रमणमा आउनुअघि नै आफूले यो योजना बनाएको जानकारी पनि दिएका छन् ।

‘भारत भ्रमणमा आउनुअघि नै मैले यस विषयमा आफ्नो परिवार, कप्तान, प्रशिक्षक, प्रमुख चयनकर्ता र बंगलादेश क्रिकेट बोर्डका अध्यक्षसँग सल्लाह गरेको थिएँ,’ सञ्चारकर्मीसँगको कुराकानीमा महमुदउल्लाह रियादले भनेका छन् ।

महमुदउल्लाह रियादले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले देशका लागि एक सय ३९ टी–२० अन्तर्राष्ट्रिय खेल्दै कुल दुई हजार तीन सय ९५ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले आठवटा अर्धसतक पनि बनाएका छन् ।

टी–२० अन्तर्राष्ट्रियमा उनले ४० विकेट पनि लिएका छन् । उनले देशका लागि ५० टेस्टको ९४ पालीमा कुल दुई हजार नौ सय १४ रन बनाएका छन् । टेस्टमा उनले पाँच शतक र १६ अर्धसतक पनि बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने अविजित एक सय ५० रन हो । टेस्ट क्रिकेटमा पनि उनले ४३ विकेट लिएका छन् ।

यसैगरी, महमुदउल्लाह रियादले देशका लागि दुई सय ३२ एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल पाँच हजार तीन सय ८६ रन बनाएका छन् । एक दिवसीय अन्तर्राष्ट्रियमा उनले चार शतक र २८ अर्धसतक बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय २८ रन हो । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा ८२ विकेट पनि लिएका छन् ।

उनी अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन बनाउने, एक सयभन्दा बढी विकेट लिने र एक सयभन्दा बढी क्याच लिने कीर्तिमानी खेलाडीमध्ये एक हुन् । उनी सन् २०१९ मा बङ्गलादेशको टी–२० टोलीको कप्तान पनि बनेका थिए ।

महमुदउल्लाह रियादले सन् २०२१ को टी–२० विश्वकपसम्म कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए । एक दिवसीय विश्वकपमा उनको नाममा एउटा गतिलो कीर्तिमान पनि छ । उनी सन् २०१५ को एक दिवसीय विश्वकपमा लगातार दुई शतक प्रहार गर्ने अलराउन्डर हुन् ।

उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेशका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनी बङ्गलादेशका लागि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा चौथो र टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा छैटौँ स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप