बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
दसैँ

दसैँ बिदामा दिइने सेवाबारे बैंकहरूले आफू अनुकूल निर्णय गर्न सक्ने

बुधबार, २३ असोज २०८१, १२ : ०१
बुधबार, २३ असोज २०८१

काठमाडौँ । दसैँ बिदाको समयमा बैंकको शाखा खुला गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बैंकहरु स्वतन्त्र भएका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकर्सहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनले यसबारे कुनै निर्णय नगरेका कारण बैंकहरू यसमा स्वतन्त्र भएका हुन् ।  

बिहीबारदेखि दसैँ बिदा सुरु हुँदैछ । फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा दिनेगरी स्वीकृत भएको क्यालेन्डर अनुसार अब कम्तीमा पनि पाँच दिन सरकारी कार्यालयहरू खुल्ने छैनन् । राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थालाई उक्त अवधिभर बिदा दिनेगरी क्यालेन्डर बनाएको छ । यो अवधिमा बैंकका शाखा खोल्न बाध्य नपार्ने नीति राष्ट्र लिएको हो ।

यसअघि प्रत्येक त्रैमासको २५ गतेदेखि ३० गतेसम्म सबै राजश्व काउन्टरहरू खुला गर्नैपर्ने व्यवस्था थियो । दसैँका लागि यो व्यवस्था समेत निलम्बन गरिएको छ । मंगलबार जारी गर्दै राष्ट्र बैंकले यो त्रैमासका हकमा यो व्यवस्था लागु नहुने जनाएको हो । सूचनामा असोज २९ र ३० गते नियमित रूपमै बैंक खुल्ने भएकोले त्योभन्दा अगाडिका तीन दिन काउन्टर खुला गर्नु नपर्ने उल्लेख गरिएको छ ।  

राष्ट्र बैंकका सह–प्रवक्ता डिल्लीराम पोखरेल सार्वजनिक बिदा दिनेगरी क्यालेन्डर स्वीकृत गरेकोले यो समयमा बैंकहरुलाई शाखा खोल्न केन्द्रीय बैंकले बाध्य नपारेको बताउँछन् । ‘आफ्ना ग्राहकलाई कसरी सेवा दिने भन्ने उहाँहरूले निर्णय गर्ने कुरा हो । सार्वजनिक बिदाको समयमा बैंकहरुलाई शाखा जसरी पनि खोल भन्नु उपयुक्त हुँदैन । उहाँहरूले चाहेमा सञ्चालन गर्न सक्नुहुन्छ,’ पोखरेलले भने, ‘अहिले मोबाइल बैंकिङ र अनलाइन कारोबार पनि बढेको छ, शाखा खोलेरै सेवा दिनुपर्छ भन्ने पनि छैन ।’

उता, नेपाल बैंकर्स संघले समेत यसबारे कुनै निर्णय गरेको छैन । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरुको शाखा खुलाउने सम्बन्धमा संघले कुनै निर्णय नगरेको जानकारी दिए ।

यसपटक बैंकहरुले आईटी सेवालाई नियमित राख्ने र शाखालाई सीमित रुपमा मात्रै सञ्चालन गर्ने नीति बनाएका छन् । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले अनलाइन कारोबार गर्ने ट्रेन्ड व्यापक रहेकोले शाखा खोल्नैपर्ने अवस्था नभएको भन्दै अनलाइन कारोबारलाई सुचारु गरेर सीमित शाखा सञ्चालन गर्ने नीति लिइएको बताए । जसअनुसार अब बैंकहरुले  अब दसैँ बिदामा दिइने सेवाबारे आफू अनुकूल निर्णय गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप