बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
दसैँ

चाडपर्वको किनमेल : सीमावारी सुनसान, सीमापारी खचाखच

बुधबार, २३ असोज २०८१, ११ : २७
बुधबार, २३ असोज २०८१

धनगढी । धनगढी उपमहानगरपालिका–७ देवहरियाकी सीता चौधरी दसैँमा चाहिने सामान किन्न भारतीय बजार बनगाँवा पुगिन् । धनगढी बजार छिचोल्दै मोहनापारीको भारतीय बजार वनगाँवा पुगेर उनले दसैँका लागि आवश्यक सामान किनिन् ।

धनगढी बजारमा भन्दा भारतीय बजारमा सबै सामान सस्तो पाइने भएकाले आफू उतै जाने गरेको चौधरीले बताइन् । संविधान सभा सदस्य हरिराम श्रीपाइली पनि दसैँमा चाहिने सामान खरिद गर्न सीमावर्ती भारतीय बजार टिकुनिया पुगे ।

सीता चौधरी र श्रीपाइलीको मात्रै होइन, आम सर्वसाधारण चाडपर्वमा किनमेलका लागि भारतीय बजार पुग्ने गरेका छन् । त्यसैले यतिबेला भारतीय बजार नेपाली ग्राहकले खचाखच हुँदा नेपाली बजार भने सुनसान छन् ।

कैलाली जिल्लाका ठुला बजार धनगढी, अत्तरिया, टीकापुर, लम्की, भजनी, हसुलियालगायत बजारमा उपभोक्ताको चहलपहल छैन । तर, कैलालीसँग सीमा जोडिएका मोहनापारीको भारतीय बजार बनगाँवा, टिकुनिया, चन्दन चौकी, सुडा, पलिया लगायतका बजारमा भने किनमेल गर्ने नेपालीको घुइँचो छ ।

bangaun bajar india1

वनगाउँमा किनमेल गर्न पुुगेका धनगढी उपमहानगरपालिका–८ का राजेश रानाले धनगढी बजारको तुलनामा भारतीय बजारमा हरेक सामान सस्तो पाइने बताए । खासगरी नुन, चिनी, खुर्सानी, मसलालगायत दैनिक उपभोग्य वस्तु किन्न आफूहरू भारतीय बजार पुग्ने गरेको रानाको भनाइ छ ।

भारतीय बजारका प्रमुुख ग्राहक तथा उपभोक्ता नै नेपाली हुन् । वनगाँवा बजारस्थित जयश्रीराम बर्तन भण्डार एण्ड हार्डवेयरका सञ्चालक विरेन्द्र गुप्ताले दसैँ, तिहार, तीजलगायत मुख्य–मुख्य चाडपर्वमा हजारौँ नेपाली किनमेलका लागि आउने गरेको सुनाए । नेपाली उपभोक्ताबाटै बजार चलेको स्वीकार गर्दै गुप्ताले नेपाली बजारभन्दा सस्तोमा मालसामान बिक्री गर्दै आएको दाबी गरे ।  

धनगढी बजारदेखि करिब ५ किलोमिटर र त्रिनगर भन्सार नाकादेखि करिब २÷३ किलोमिटर दुरीमा रहेको अस्थायी वनगाँवा बजार फस्टाउनु पहिले झण्डै डेढ सय वर्षसम्म गौरीफन्टा बजार फस्टायो । तर एसियाकै दोस्रो ठुलो मानिने दुधुवा नेशनल पार्कभित्र पर्ने र जैविक विविधता तथा पार्यावरणमाथि असर पारेको निष्कर्ष निकाल्दै सो बजारलाई भारतको उत्तर प्रदेश सरकारले विस्थापन गर्‍यो । गौरीफन्टा बजार हटेपछि त्यहाँकै व्यपारीले दुधुवा नेशनलपार्क छेउमा वनगाँवा बजार सञ्चालनमा ल्याएका हुन् ।

chandanchauki bajar

गौरीफन्टा बजार विस्थापन भएपछि धनगढीका व्यवसायी खुसी भएका थिए । तर २ वर्ष नपुग्दै वनगाँवा बजारले गौरीफन्टाकै रूप लिन थालेपछि धनगढी बजारमा प्रत्यक्ष असर पारेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा बताउँछन् । नेपाली बजारले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा केही हदसम्म असर गरेको उनले उल्लेख गरे ।

तर पछिल्लो समय धनगढीलगायत नेपाली बजारले पनि निकै फट्को मारेको ओझाले बताए । स्वदेशी वस्तुको उत्पादन, उपभोगले मात्रै अर्थतन्त्र मजबुत हुने बताउँदै आमउपभोक्ताले गुणस्तरीय स्वदेशी वस्तुको उपभोगमा ध्यान दिनुुपर्नेमा उनले जोड दिए ।

भारतीय वनगाउँ बजारले धनगढी बजारलाई, चन्दनचौकी बजारले कैलाली जिल्लाका दक्षिणी क्षेत्रमा रहेको हसुलिया बजारलाई र अर्को भारतीय टिकुनिया बजारले जिल्लाको टीकापुर बजारलाई ओझेलमा पार्दै आएको हसुलिया उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप