बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकपमा आज

साबिक उपविजेता दक्षिण अफ्रिकालाई नवप्रवेशी स्कटल्यान्डको चुनौती

बुधबार, २३ असोज २०८१, १० : ४४
बुधबार, २३ असोज २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा बुधबार दुई खेल खेलिँदै छ । समूह ‘बी’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्नेछ ।

दक्षिण अफ्रिका र स्कटल्यान्डबिचको खेल नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ । जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । दक्षिण अफ्रिका यसअघि खेलिएको दुईमध्ये एक खेलमा विजयी र एक खेलमा पराजित भएको छ ।

आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाको टोली बलियो इङ्ल्यान्डसँग सात विकेटले पराजित भएको थियो । स्कटल्यान्ड भने दुवै खेलमा पराजित भएको छ ।

South Africa

स्कटल्यान्ड आफ्नो पहिलो खेलमा बंगलादेशसँग १६ रनले र दोस्रो खेलमा वेस्ट इन्डिजसँग ६ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकाले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ ।

दक्षिण अफ्रिका हालसम्म एकपटक मात्र महिला टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको छ । सन् २०२३ मा घरेलु मैदानमा सम्पन्न विश्वकपको आठौँ संस्करणको फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि चुमेको थियो ।

स्कटल्यान्डको भने महिला टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । समूह ‘बी’ मा रहेका पाँचवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । चार अङ्कसहित इङ्ल्यान्ड पहिलो र दुई अङ्कसहित वेस्ट इन्डिज दोस्रो स्थानमा आसीन छन् ।

यसैगरी, दुई अङ्कसहित दक्षिण अफ्रिका तेस्रो र समान अङ्क बटुलेको बंगलादेश चौथो स्थानमा आसीन छन् । अघिल्ला दुवै खेलमा पराजित भएको स्कटल्यान्ड भने पाँचौँ स्थानमा छ । समूहगत चरणको खेलपछि अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुईवटा टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Scotland

स्कटल्यान्डको टोली क्याथरिन ब्राइसको कप्तानीमा छ । २७औँ वर्ष प्रवेशको सँघारमा रहेकी क्याथरिन टोलीकी अलराउन्डर खेलाडी हुन् । प्रभावशाली ब्याटर क्याथरिनले टोलीका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । सराह ब्रायस टोलीकी उपकप्तान हुन् ।

यसैगरी, दक्षिण अफ्रिकाको टोली यसपटक लाउरा वोल्भार्डको कप्तानीमा रहेको छ । २५ वर्षीया लाउरा टोलीकी प्रभावशाली ब्याटर हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले तीनवटै ढाँचाको क्रिकेटमा सतक पनि प्रहार गरिसकेकी छन् ।

महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा बंगलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप