बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी महिला टी–२० विश्वकप : बलियो अस्ट्रेलियासँग हार्‍यो न्युजिल्यान्ड

बुधबार, २३ असोज २०८१, १० : १०
बुधबार, २३ असोज २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । अस्ट्रेलियाले मंगलबार राति सम्पन्न खेलमा बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डमाथि ६० रनको सजिलो जित हात पारेको हो ।

टस जिती पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने १९.२ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर बेथ मुनीले ४० रनको योगदान गरिन् । उनले केवल ३२ बलको सामना गरी दुई चौका पनि हिर्काइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी एलिस पेरीले ३० रन बनाइन् । उनले २४ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काइन् ।

कप्तानसमेत रहेकी ओपनर एलिसा हेलीले २६ रन बनाइन् । उनले २० बलमा चार चौका पनि प्रहार गरिन् । फोब लिचफिल्डले पनि टोलीको खातामा १८ रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

न्युजिल्यान्डकी बलर अमेलिया केर एक्लैले चार विकेट लिइन् । जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डका लागि केरले नै सर्वाधिक २९ रन बनाइन् । अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । अस्ट्रेलियाकी बलर मेगन स्चुट र एनाबेल सथरल्यान्डले तीन–तीन विकेट लिए ।

जारी प्रतियोगितामा अस्ट्रेलियाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा साबिक विजेता अस्ट्रेलियाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । समूह ‘ए’ तालिकामा चार अङ्कसहित अस्ट्रेलिया पहिलो स्थानमा आसीन छ ।

दुई खेल खेलेको न्युजिल्यान्डको भने यो पहिलो हार हो । आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले भारतलाई ५८ रनले हराएको थियो । न्युजिल्यान्ड दुई अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दुई खेल खेलेको पाकिस्तान दुई अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

यसैगरी, दुई खेल खेलेको भारत दुई अङ्कसहित तालिकाको चौथो स्थानमा आसीन छ । तालिकाको पाँचौँ स्थानमा आसीन श्रीलंका भने आफ्नो दुवै खेलमा पराजित भएको छ । अस्ट्रेलिया र न्युजिल्यान्डले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् ।

अस्ट्रेलिया टी–२० महिला विश्वकपको सर्वाधिक सफल राष्ट्र हो । न्युजिल्यान्डले भने दुईपटक फाइनलमा पुगेर पनि उपाधि चुम्न सकेको छैन । आईसीसी महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले एकछत्र राज गर्दै आएको छ ।

अस्ट्रेलियाले हालसम्म ६ पटक टी–२० महिला विश्वकपको उपाधि उचालिसकेको छ । अस्ट्रेलियन टोलीले सन् २०१० (दोस्रो संस्करण) मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई तीन रनले हराएको थियो ।

यसैगरी, सन् २०१२ मा पनि अस्ट्रेलिया च्याम्पियन बनेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई चार रनले हराएको थियो । सन् २०१४ को उपाधि पनि अस्ट्रेलियाले नै चुमेको थियो । अस्ट्रेलियाले फाइनलमा इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै उपाधिमा ह्याट्रिक गरेको थियो ।

यस्तै अस्ट्रेलियाले सन् २०१८ मा चौथो पटक उपाधि उचालेको थियो । त्यतिबेला पनि फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई नै आठ विकेटले पराजित गरेको थियो । अस्ट्रेलियाले सन् २०२० मा पाँचौँ पटक उपाधि चुमेको थियो । फाइनलमा अस्ट्रेलियाले भारतलाई ८५ रनले हराएको थियो ।

अस्ट्रेलियाले सन् २०२३ मा छैटौँ पटक उपाधिमाथि कब्जा जमाएको थियो । त्यतिबेला अस्ट्रेलियाले फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै उपाधिमा दोस्रो पटक ह्याट्रिक गरेको थियो । त्यसैले अस्ट्रेलिया टी–२० महिला विश्वकपको साबिक विजेता पनि हो ।

अर्कोतिर, न्युजिल्यान्डको टोली सन् २००९ मा सम्पन्न पहिलो र सन् २०१० मा सम्पन्न दोस्रो संस्करणको फाइनलमा पुगेर पनि पराजित भएको थियो । सन् २००९ को विश्वकपको फाइनलमा घरेलु टोली इङ्ल्यान्डले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

त्यसपछि सन् २०१० मा सम्पन्न विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । महिला टी–२० विश्वकपको इतिहासमा सबैभन्दा कमअन्तरको जितको कीर्तिमान पनि त्यही खेलले बनाएको छ । त्यसयता न्युजिल्यान्ड फाइनलसम्म पनि पुग्न सकेको छैन ।

महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा बंगलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप