बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
समाचार

हामीले प्राकृतिक स्रोत साधन परिचालनको रणनीति बदल्नुपर्छ : प्रचण्ड

‘भौतिक पूर्वाधारबारे समग्र नीतिकै समीक्षा गर्ने बेला आएको हो कि ?’
बुधबार, २३ असोज २०८१, ०९ : ४५
बुधबार, २३ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत साधन परिचालनका सवालमा राज्यले रणनीति बदल्नुपर्ने बताएका छन् । बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले हालैको बाढीपहिरो र विपत्तिबाट सिक्दै आगामी दिनमा जनधनको क्षति कम गर्न अहिलेबाटै सबैको ध्यान र सक्रियता आवश्यक रहेको बताएका हुन् ।

‘हाम्रो विकास निर्माण, शिक्षा, भूगोल, चेतना,नदीनाला लगायत प्राकृतिक स्रोत साधन परिचालनका विषयमा गम्भीर बहस र समीक्षा गरेर नयाँ नीति र रणनीतिको विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ’, प्रचण्डले भने, ‘हाम्रो देशको भूराजनीतिको मात्र कुरा होइन, भौगोलिक बनावटका कारण पनि हामी जहिले पनि अप्ठेरोमा पर्ने रहेछौ कि जस्तो लागेको छ ।’

उनले बर्खा लाग्दा बाढीपहिरो जाने र असाधारण जनधनको क्षति बर्सेनि हुने गरेको भन्दै हिउँदमा वनजंगल र तराईमा आगजनीका घटनाबाट ठुलो क्षति हुँदै आएको बताए ।

‘त्यसैले हाम्रो भूगोलसँग तादात्म्य हुने गरी राज्यका नीतिहरू बनेनन् कि ? भौतिक पूर्वाधारसँगका नीति हाम्रो भूगोलसँग तालमेल हुनुपर्ने हो कि ?’, उनले भने, ‘विकासका नाममा पनि राम्रो अध्ययन नगरी बाटोघाटो बनाएर हो कि ?’

उनले यस वर्ष बागमती र रोशी खोलमा देखिएको घटनाबाट जथाभाबी प्रकृति र प्राकृतिक स्रोत परिचालनमा समस्या भएको हो कि भन्ने आफूलाई लागेको बताए ।

‘गिट्टी, बालुवा निकाल्ने कुरा कारण बन्यो कि या भौतिक पूर्वाधारबारे समग्र नीतिकै समीक्षा गर्ने बेला आएको हो कि ? यतातिर ध्यान दिएनौ भने क्षति बेहोर्ने र बर्सेनि शोक व्यक्त गरेर औपचारिकता पुरा गर्नुपर्नेजस्तोमात्र हुनसक्छ’, पूर्व प्रधानमन्त्री प्रचण्डले जोड दिँदै भने, ‘यसमा समय आयो अब नीतिगत समीक्षा नै सुरु गरौँ ।’

उनले प्राकृतिक विपत्तिसँग जुध्न राज्यले न्यूनतम तयारी समेत नगरेको भन्दै आफू राष्ट्रमा सङ्कट आउँदा जहिले पनि  एकता, समझदारी र सामूहिक सामना गर्नेतिर आफ्नो ध्यान जाने गरेको बताए । ‘सबै राजनीतिक दल, सत्ता प्रतिपक्ष र नागरिक समाज मिलेर सामना गर्ने परम्परा पनि बसेको छ । मैले त्यही मनसायका साथ भूकम्पका बेला पनि राष्ट्रिय सहमति बनाएर आम चाहाना अनुसार संविधान बनाउने मान्यता राखेर संसद्मै अपिल गरेर समझदारीका आधारमा संविधान निर्माण गर्न सकिएको थियो’, प्रचण्डको भनाइ छ ।

उनले अहिले पनि आफू सरकारलाई गाली नगर्ने भन्दै सतर्क हुन जरुरी रहेको पनि बताए । ‘सुरुका दिनमा सरकारको कमजोरी देखियो तर अव सक्रियतापूर्वक काम गर्नुपर्‍यो । पुनर्निर्माणका सन्दर्भमा अव सामान्य छैन’, उनले भने ‘हामीले जियोलोजिकल अध्ययन पनि गरेर अघि बढ्नुपर्छ । महांकालमा एउटा गाउँ छ त्यहाँ पुरै बस्न सक्ने अवस्था छैन । त्यो सरकारले लिएर उपयुक्त बसोबास मिलाउनुपर्ने कुरामा ध्यान दिनुपर्नेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप