कैलालीमा उत्पादित उन्नत बीउ जिल्ला बाहिर निर्यात
सुदूरपश्चिम । धनगढी उपमहागरपालिका–१३ का किसान कालुराम चौधरी उन्नत जातको बीउको प्रयोगले बालीको उत्पादन बढ्दा खुसी छन् ।
उन्नत जातको ‘हर्दिनाथ’ धानको बीउ प्रयोग गरिएको उनको खेतमा धानबाली फष्टाएको छ । धानबाली पाकेर पहेँलपुर हुँदा उनी यतिबेला धान काट्ने तयारीमा छिन् ।
अर्का किसान विरुप्रसाद १२ वर्षदेखि उन्नत बीउ प्रयोग गरेर धान र गहुँखेती गर्दै आएका छन् । उनले खेती गर्दाको विगतको आफ्नो अनुभव सुनाउँदै भने, 'पहिले यस्तो उन्नत बीउ पाउन मुश्किल थियो, हामीमा ज्ञान पनि थिएन, आजभोलि बीउ उत्पादन गर्ने कम्पनीले मूल्य चर्को लिए पनि सहज रूपमा पाउन थालेको छ, मूल्य चर्को भए पनि उत्पादन बढ्दा खुसी छौँ ।'
पहिले घरमै आफ्नै तरिकाले राखिएको गहुँको बीउ प्रयोग गर्दा प्रतिकठ्ठा जग्गामा मुश्किलले ४५ देखि ५० किलो फलाउन सकिने गरेकामा उन्नत बीउको प्रयोगपछि सोही जग्गामा ७० देखि ७५ किलोसम्म गहुँ फल्ने गरेको उनी बताउँछन् ।
उन्नत बीउको प्रयोगले उत्पादन बढेको भए पनि भरपर्दो सिँचाइको सुविधाको अभाव र रासायनिक मल समयमै उपलब्ध नहुने समस्याले हैरानी खेप्नुपरेको किसानको गुनासो छ ।
किसान माँझ सर्जु–५२ जातको धानको बीउ पहिलो रोजाइमा पर्ने गरेको छ । यो धान सरकारले सूचीकृत गरे पनि नेपाली जात नभएकाले सिफारिस भने नगरेको बताइएको छ ।
पछिल्लो दशकमा धान र गहुँको उन्नत बीउका लागि कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ देशका अन्य जिल्लामा निर्यात हुन थालेको बीउबिजन उत्पादक कम्पनीले बताएका छन् । निजी क्षेत्रबाट बीउबिजन कम्पनी धमाधम सञ्चालनमा आएसँगै बीउमा आत्मनिर्भर जिल्ला बनेको हो ।
'कैलाली जिल्ला बीउबिजन उत्पादनमा आत्मनिर्भर भएर बाहिरका जिल्लामा बीउ बिक्रीवितरण गर्न थालिएको छ,' पञ्चशक्ति सिड कम्पनी लिमिटेड धनगढीका सञ्चालक विष्णुराज बुर्लाकोटीले भने, 'यसबाहेक हाइब्रिड बीउ उत्पादन गर्ने देशभरिका नौ/दश कम्पनीमध्येका दुई कम्पनी कैलालीमा सञ्चालनमा छन् ।'
बीउको गुणस्तरका दृष्टिमा जिल्लामा उत्पादन हुने धान र गहुँको बीउ देशैभरि उत्कृष्ट रहेको उनले बताए ।
सरकारी स्वामित्वको बीउजन कम्पनी लिमिटेडले आफ्नो वार्षिक लक्ष्यअनुसार उन्नत बीउको उत्पादन र बिक्रीवितरण गर्दै आएको छ ।
पछिल्ला वर्षमा पर्याप्त बजेट अभावले यो कम्पनीको बीउ उत्पादनको काम सुस्त देखिएको छ । निजी क्षेत्रका एकदर्जन बढी बीउबिजन कम्पनी, सहकारी संस्था र कृषक समूहसमेतले उन्नत बीउ उत्पादन गर्न थालेका छन् ।
कतिपय विपन्न किसानले भने यस्तो उन्नत बीउको मूल्य चर्को हुँदा अझै पनि प्रयोग गर्न नसकिरहेको बताइन्छ । जिल्लामा वर्षभरीमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउको माग रहेकामा उक्त परिमाणभन्दा बढी बीउ उत्पादन भइरहेको छ ।
जिल्लाको झण्डै एक हजार हेक्टरमा चैते धानखेती र झण्डै ७१ हजार सात सय हेक्टर जग्गामा वर्षे धानखेती गरेर वर्षको दुई पटक धानखेती हुने गरेको छ । यस्तै झण्डै ३५ हजार हेक्टरमा गहुँखेती हुने गरेको छ । प्रतिहेक्टरमा धानखेती गर्न ५० किलो र गहुँखेती गर्न एक सय २० किलो बीउ आवश्यक पर्ने गरेको कृषि प्राविधिको भनाइ छ । स्थानीय जातको बीउ प्रयोग गर्दा हुने उत्पादकत्वको तुलनामा उन्नत जातको बीउ प्रयोगले २० देखि २५ प्रतिशतले उत्पादकत्व वृद्धि हुने गरेको जनाइएको छ ।
खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व बढाउन नयाँ जातको उन्नत बीउको विकाससँगै खेतीगर्ने नयाँ प्रविधि पनि अपनाइँदा पहिलेको तुलानामा खेतीको काम गर्न सहज भएको र उत्पादन पनि बढेको कृषक बताउँछन् ।
सरकारले कृषि विकास कार्यक्रमअन्तर्गत उन्नत बीउ उत्पादन तथा बजारीकरण, सिँचाइ तथा कृषि यान्त्रिकरणलाई प्राथमिकता दिँदै आएको कृषि निर्देशनालय दीपायलका प्रमुख खगेन्द्रप्रसाद शर्मा बताउँछन् । उन्नत बीउको प्रयोग र कृषिमा यान्त्रिकरणसँगै कृषि बालीको उत्पादकत्वमा वृद्धि भइरहे पनि सुदूरपश्चिम प्रदेशमा अझैँ पनि बाह्रै महिना खान पुग्नेगरी खाद्यान्न अपुग भइरहेको तथ्याङ्क छ ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा कूल कृषकमध्ये ८८ दशमलब नौ प्रतिशत कृषकले घरायसी खपतका लागि, १८ दशमलव तीन प्रतिशतले घरायसी खपतका साथै बिक्रीका लागि र शून्य दशमलव नौ प्रतिशतले बिक्रीका लागि कृषि उत्पादन गर्ने गरेको उल्लेख छ ।
प्रदेशका कृषकमध्ये ४० दशमलव एक प्रतिशत कृषकलाई घरायसी उपभोगका लागि पर्याप्त उत्पादन हुने गरेको छ । यस्तै २० दशमलव एक प्रतिशत कृषकलाई सातदेखि नौ महिना र सात दशमलव दुई प्रतिशत कृषकलाई दशदेखि १२ महिनासम्म घरायसी उपभोगका लागि आफ्नो उत्पादन अपुग हुने गरेको छ ।
प्रदेशमा मुख्य धानबाली, गहुँ र मकैखेती गरिने क्षेत्रफल र उत्पादकत्वमा वृद्धि हुँदै गएको उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ । उन्नत बीउको प्रयोग बढेसँगै स्थानीय जात (रैथाने)को कालो धान, आइरेट, गुर्रा, राईमनुवा, सौँटेरीजस्ता धानको बीउ लोप भइसकेको किसानले बताएका छन् ।
नेपालमा उन्नत बीउको प्रतिस्थापन दर बढेर झण्डै १८ देखि २० प्रतिशत पुगेको जनाइएको छ । ‘सिड भिजन २०२५’ सम्म उन्नत बीउको प्रतिस्थापन दर तरकारीको शतप्रतिशत, मकैको ३३ र अन्य बालीको २५ प्रतिशत पुर्याउने लक्ष्य लिइएको बताइएको छ ।