बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

पशुपति गौशाला धर्मशाला बुधबारदेखि खाली गर्न महानगरपालिकाको माइकिङ

मङ्गलबार, २२ असोज २०८१, २३ : १०
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं ८ स्थित श्री पशुपति गौशाला धर्मशाला असोज २३ गते बुधबारदेखि खाली गर्न माइकिङ गरेको छ ।
 
पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबीच आज गौशाला धर्मशाला व्यवस्थापनसम्बन्धी सहमति भएपछि महानगरपालिकाले खाली गर्न माइकिङ गरेको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए ।

काठमाडौँ जिल्ला अदालतले मारवाडी सेवा समितिले अनधिकृत रुपमा गौशाला धर्मशाला चलाएकाले कोषले सञ्चालन गर्नेगरी फैसला गरेको थियो । यसअघि कोष (अमालकोट कचहरी) र समितिबीच भएको सहमति खारेज गर्ने सञ्चालक परिषद्को निर्णयविरुद्ध समिति अदालत गएको थियो । 

फैसलापछि कोष सञ्चालक परिषद् बैठकले गौशाला व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले दिने निर्णय असोज २० गते आइतबार गरेको हो ।
 परिषद्को निर्णयबमोजिम आज सहमति भएपछि महानगरपालिकाले आजै पशुपति क्षेत्रमा अनधिकृत संरचना बुधबार हटाउन माइकिङ गरेको छ । गौशाला धर्मशाला खाली गराएर महानगरपालिकाले व्यवस्थित रुपमा यसको सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । 

गौशाला धर्मशालाका सबै सेवा निःशुल्क दिइने व्यवस्थापन समितिको संयोजकसमेत रहनुभएका वडाअध्यक्ष सङ्गतले बताए । निःशुल्क सेवा दिएबापत खर्च सबै महानगरपालिकाले नै व्यहोर्ने सहमतिपत्रमा उल्लेख गरिएको जनाइएको छ ।

दाताले दिन चाहेमा भने दान दिन सक्नेछन् । दाताले दिएको दानलाई पनि व्यवस्थापन समितिले पारदर्शी रुपमा राख्नेछ । गौशाला व्यवस्थापन समितिले सहयोग भने नखोज्ने जनाइएको छ । व्यवस्थापन समितिमा कोषका तर्फबाट पनि सदस्य राखिनेछ । 

भगवान् पशुपतिनाथको सम्पत्तिका रुपमा रहेको पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको हो । २१ वर्षसम्म मारवाडी सेवा समितिले गौशाला धर्मशाला कब्जामा लिएको थियो । काठमाडौँ जिल्ला अदालतले २०६० मा पशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको हो । 
 
कोष मातहत आएलगत्तै यसको सञ्चालन महानगरपालिकाले गर्नेगरी आज कोषका कार्यकारी निर्देशक सुभासचन्द्र झा र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले सहमति पत्रमा हस्ताक्षर गरेका थिए। हस्ताक्षर गरेपछि नै महानगरपालिका यसको कार्यान्वयनमा सक्रिय रुपमा जुटेको छ । व्यवस्थापन समितिले जनगुनासो नआउने गरी यसको सञ्चालन गर्ने महानगरपालिकाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप