मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडामा बन्यो लिफ्टको सुविधासहित तरकारी बजार

मङ्गलबार, २२ असोज २०८१, २० : ०२
मङ्गलबार, २२ असोज २०८१

मकवानपुर । बागमती प्रदेश सरकारको महत्त्वपूर्ण आयोजनाको रूपमा रहेको प्रादेशिक कृषि थोक बजार निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोकबजार निर्माण अन्तिम चरणमा पुगेको हो ।

प्रदेश सरकारको ७० र स्थानीय तहको ३० प्रतिशत लगानीमा बनेको उक्त थोक बजारको काम ४ प्रतिशतमात्र बाँकी छ । थोक बजार क्षेत्रका सडक र विद्युतीकरणको काम बाँकी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

२०७८ असार १८ मा बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल र उपमहानगरपालिकाका तत्कालीन मेयर हरिबहादुर महतले यसको शिलान्यास गरेका थिए । २ बिघा ४ धुर क्षेत्रफलमा तीन वर्ष लगाएर थोकबजार निर्माण गर्ने लक्ष्यसहित २०७७ भदौ १४ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता भएको थियो ।

९६ प्रतिशत भौतिक प्रगति भएको बजारको कार्यविधि बनाएर सञ्चालनको तयारी भइरहेको मन्त्रालयको भनाइ छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माण भएको कृषि थोक बजारमा ४ वटा सुविधासम्पन्न भवन छन् भने एउटा कोल्ड स्टोर निर्माण गरिएको छ ।

सडक कालोपत्रे र अन्य सामान्य काममात्रै गर्न बाँकी रहेको निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिमल्सिनाले जानकारी दिए ।

थोकबजारमा होलसेल मार्केट, रिटेल मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेजलगायतका संरचना बनेका छन् । यसमा २ वटा लिफ्टको सुविधासमेत छ ।

कार्गो र मानिसहरूको आवतजावतका लागि फरकफरक लिफ्टको सुविधा रहेको तिमल्सिनाले बताए । थोक बजारको थोक मार्केटमा ४० वटा सटर र खुद्रा मार्केटमा २३ वटा सटर छ । भवनमा अण्डरग्राउण्ड पार्किङको सुविधा छ ।

भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधन जस्ता कार्य गर्न सकिने गरी थोक बजार निर्माण गरिएको तिमल्सिनाले बताए । ए एन के/माउण्टेनले ३० करोड ८७ लाख ६२ हजार ७८७ रुपैयाँमा ठेक्का लिएको उक्त थोकबजार निर्माणको काम २०७८ जेठबाट थालिएको थियो । निर्माण कम्पनीलाई २६ करोड ५५ लाख ३५ हजार ९९६ रुपैयाँ गत असारमै भुक्तानी भएर थप २ करोडभन्दा बढीको भुक्तानीको चरणमा रहेको निर्देशनालयले जानकारी दिएको छ ।

२०८१ जेठसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि विविध कारणले निर्धारित समयमा काम सम्पन्न हुन सकेको थिएन । निर्माणको काम सम्पन्न गर्नेगरी ७ महिना म्याद थप गरेर आगामी मंसिर ८ सम्मको समयसीमा दिइएको थियो । चालु आर्थिक वर्ष (२०८१/०८२) मा प्रदेश सरकारले थोक बजारको काम सम्पन्न गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कार्यविधि निर्माणको चरणमा छ : प्रवक्ता न्यौपाने

हेटौंडा–१ स्थित राप्ती खोलाको नदीको उकास जमिनमा हेटौंडा उपमहानगरपालिकाले तरकारी बजार निर्माण गरेको छ । सो बजारलाई व्यवस्थापन गर्ने गरी सञ्चालनमा ल्याउने तयारी छ ।

बजार तयार भएर सञ्चालनको अन्तिम चरणमा पुग्दासमेत कार्यविधि बनाउन सकेको छैन । कार्यविधि बनाएर सञ्चालन मोडालिटी टुङ्ग्याउने गृहकार्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय लागेको छ ।

थोक बजारको भौतिक संरचना तयार भएसँगै कार्यविधि निर्माणमा जुटेको मन्त्रालयका सचिव विनोद भट्टराईले बताए । कार्यविधि बनाएर छिटै सञ्चालन गरिने उनको भनाइ छ । भवन हस्तान्तरण हुनुअघि कार्यविधि बनाइसक्ने योजना रहेको उनले बताए ।

सोही अनुसार कृषि विकास निर्देशनालयले काम गरिरहेको भट्टराईले जानकारी दिए । थोकबजारबाट किसानले श्रमको उचित मूल्य पाउने र बिचौलियाको समस्या हल हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप