सत्ताको दुरुपयोग र अनैतिक राजनीतिद्वारा भ्रमको खेती !
तथ्यबाट सत्य पत्ता लगाउनु, छलफल र बहसबाट निष्कर्षमा पुग्नु मार्क्सवादको मान्यता हो । विचारको विविधता, अभिव्यक्ति र संगठनको स्वतन्त्रताको नेपालको संविधानले नै प्रत्याभूत गरेको छ । नेकपा (एमाले) को जनताको बहुदलीय जनवादले बहस र छलफललाई आत्मसात् गर्दै फरक मतको सम्मान गर्ने कुरा गरेको छ । फरक मतको सम्मान गरिने कुरा एमालेको विधान मै उल्लेख छ । तर यसको विपरीत केही समय यता विभिन्न जिम्मेवारीमा रहेका केही व्यक्तिहरू नै फरक मतप्रति शत्रुवत् व्यवहार गर्ने, कार्यकर्ताहरूको चुन्ने र चुनिन पाउने अधिकारमाथि हस्तक्षेप गर्दै “आफ्ना” मानिसहरूलाई मात्र उम्मेदवार हुन दिने वा जबरजस्ती टीका लगाइ दिने वा अधिवेशन नै लम्ब्याएर पद सुम्पने क्रियाकलाप गरिरहेको व्यापक गुनासो सुनिन्छ ।
यही परिवेश र सन्दर्भमा मैले राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी विषयलाई महत्वका साथ उठाउँदा प्रहारको सामना गरिरहनु परेको छ । देश विभाजनको कुरा गर्ने, कम्युनिष्टहरुलाई समाप्त गर्ने लक्ष्यको उद्घोष गर्ने, एमालेलाई कमजोर पार्ने वा विभाजन गर्नेहरू कतिका लागि “मित्र र निकट” तर नेपालको स्वाधीनता, स्वाभिमान, समृद्धि तथा एमालेको विधिसम्मत सञ्चालन प्रणाली तथा राष्ट्रको सर्वोपरि हितको कुरा गर्ने म जस्ता मानिसहरू “शत्रु” ठानिएको प्रतीत हुन्छ । यो देश र पार्टीलाई बलियो बनाउने र समाजवादको लक्ष्यतर्फ अग्रसर हुने चिन्तन र कार्यशैली कदापि हुन सक्दैन । यस्तै प्रवृत्ति, चिन्तन, शैली र व्यवहारको एउटा उदाहरण हालै सुदूरपश्चिम प्रदेशमा प्रकट भएको छ । पार्टीको जिम्मेवार पदमा रहेकाहरूले नै तथ्यहीन कुरा गर्नुका साथै सार्वजनिक रूपमा प्रेस वक्तव्यबाट धम्की दिएपछि थप कुरा लेख्न म बाध्य भएको छु ।
नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्टले २०८१ साल असोज ११ गतेको नेपाल प्रेसमा अन्तरवार्ता दिँदै उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा पार्टीद्वारा गठित वार्ता समितिसँग २०८० साल वैशाख २१ गते पार्टी केन्द्रीय कार्यालयमा मेरो वार्ता भएको विषयमा झुटा कुरा गरी एमाले पङ्क्तिमा भ्रम सिर्जना गर्ने कार्य गर्नुभएकोले त्यो दिन मैले के भनेको थिएँ र सहमति के भएको थियो भन्नेबारे यथार्थ खोली सामाजिक सञ्जालमा प्रेषित गरेको थिएँ । हुँदै नभएका कुरा सार्वजनिक रूपमा गरी कसैको विरुद्ध भ्रमको खेती गर्ने नभई समस्या र अन्तर्विरोधको समाधान गर्ने नेतृत्वको दायित्व हुने पार्टीको परिपाटी तर्फ ध्यान आकर्षित गरेको थिएँ ।
सार्वजनिक रूपमा नभएका कुरा गरी व्यक्तिगत किसिमले प्रहार गर्ने कामको थालनी स्वयं लेखराज भट्टले अन्तरवार्ता दिएर गर्नुभएको तथ्य स्पष्ट छ । अन्तरवार्तामा असत्य कुरा गरिएकोले मैले केवल सत्य–तथ्यको जानकारी मात्र गराएको थिएँ । यदि मैले भनेका कुरा गलत थिए भने स्वयं लेखराजबाट आफ्ना कुरा भन्ने नैतिक आँट हुनुपर्ने हो । त्यसको विपरीत पर्दा पछाडि बसेर वार्तामा हुँदै नभएका र त्यसबारे प्रत्यक्ष कुनै जानकारी नै नभएका प्रदेश कमिटीका अध्यक्ष कृष्ण प्रसाद जैसीलाई पार्टीको कागज र छापको प्रयोग गरी प्रेस वक्तव्य दिन लगाएर पुनः एमाले पङ्क्तिलाई सत्यबाट विमुख गराउन खोजेको देख्दा आश्चर्य लागेको छ । यस्तो कार्य अनैतिक राजनीति र सत्ताको चरम दुरुपयोग ठहर्छ ।
अब उक्त वक्तव्यमा उल्लेखित भ्रामक एवं द्वेषपूर्ण कुराको चर्चा गरौँ ।
१) भ्रम सिर्जनाबारे: माथि भनिएको वार्ताबारे लेखराज भट्टबाट सार्वजनिक रूपमा नेपाल प्रेसमा तथ्यहीन कुरा गरिएकोले मैले त्यसबारे तथ्य–सत्य कुरा सबैलाई जानकारी गराउँदा मैले “भ्रम सिर्जना” गरेको हुन्छ कि पार्टीको जिम्मेवार पदमा बसेको व्यक्तिले झुटा कुरा गरी अन्तरवार्ता दिँदा भ्रम सिर्जना गरेको ठहर्छ? तथ्य विपरीत कुरा गरी “भ्रम सिर्जना” गर्ने काम लेखराज भट्टबाट नेपाल प्रेस मार्फत पहिले गरिएको होइन र?
२) अध्यक्षले बोलाएपछि मात्र जान्छु भनेकोबारे: मैले यस अघि नै भनिसकेँ, २०८० साल वैशाख २१ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा विष्णु पौडेल, लेखराज भट्ट र कर्ण थापासँगको वार्तामा मैले तपाईँहरू वा अरू कसैसँग मेरो व्यक्तिगत केही छैन मेरा राजनीतिक, वैचारिक र विधिगत कुराहरू छन्, यसबारे सबै गएर अध्यक्षसँग कुरा गरौँ । उहाँका कुरा सुनेपछि फेरी बसौला भनेको र उहाँहरूको त्यसमा सहमति रहेकोमा उहाँहरूले त्यस्तो कुराको लागि पहल गर्नु भएन । लेखराज भट्टबाट उल्टो “तपाईँहरूसँग मेरो केही छैन, अध्यक्षसँग हो मेरो भन्नु भयो” भन्दै सार्वजनिक रूपमा नै झुटा बोलिएकोले मैले सत्य कुरा मात्र सबैलाई जानकारी गराएको हुँ ।
३) अध्यक्षसँग वार्ता गर्नेबारे: वार्ताको लागि बोलाइएपछि मैले २०८० साल साउन ३० गते अध्यक्ष के.पी. ओलीसँग कुरा गर्दा फेरी कुरा गर्ने भनिएकोमा समय मिलाउने जिम्मेवारी मेरो हो कि पार्टी नेतृत्वको हो? प्रदेश इन्चार्जको हैसियतले लेखराज भट्टबाट अध्यक्षसँग वार्ता गराउन आजसम्म के के प्रयास गरियो त? मेरो वास्तविक भनाई र भावना के हो भन्नेबारे उहाँले मसँग जान्ने र बुझ्ने किन कहिल्यै प्रयास नगरेको र मसँग कुरा नगरेको त? स्वयं कृष्ण प्रसाद जैसी लगायत दुई जना केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष सहितले २०८० साल चैत ९ गते बिहान मेरो घर कालाआममा मसँग कुरा गर्दा वार्ताका लागि तयार भएको जानकारी गराउनुका साथै पार्टीलाई सबल बनाउन सकारात्मक कुरा गरेको थिएँ । सो कुराकानीमा जैसी लगायतका व्यक्तिहरूले अध्यक्षसँग वार्ता गराउन पहल गर्ने भनी सहमति भए अनुसार के के गरियो त? त्यहाँ भएका सहमतियुक्त कुराको कार्यान्वयन किन नगरिएको त? उल्टै सो वार्ता पछि महाधिवेशन प्रतिनिधि परिषद्को गोदावरीमा भएको बैठकमा मेरो अधिकारलाई कुल्चेर परिचय पत्रसमेत नबाइएपछि प्रदेश इन्चार्ज र अध्यक्ष लगायतका व्यक्तिहरूको अत्तोपत्तो किन भएन?
मैले २०८१ साल असार १९ गते कुराकानीका लागि स्वयं अध्यक्ष के.पी. ओलीलाई फोन गरेको थिएँ । साथै सोही दिन कुराकानीका लागि समय मिलाउन उपाध्यक्ष विष्णु पौडेललाई फोनमा आग्रह गरेको थिएँ । तर न फोन उठ्यो न कुनै जवाफ आयो । यस अघि २०८१ साल जेठ ६ गते उपमहासचिव प्रदीप ज्ञवालीसँग काठमान्डुमा राम्रो किसिमले भएको कुराकानीमा अध्यक्षसँग कुरा गरौँ भनेको थिएँ र उहाँले म मिलाउने प्रयास गर्छु भन्नु भएको थियो । तर पछि कुनै जवाफ आएन । अनि अध्यक्षसँग मैले वार्ता गर्ने भनेको के हो? मैले कुरा गर्न नचाहेको भन्ने भ्रम सिर्जना गर्नुको आशय के हो? के वार्ताको नाटक वा रट लगाएर सत्य–तथ्यमाथि पर्दा हाल्न वा देशभक्तिपूर्ण भावनाबाट देश र जनताको पक्षमा बोली बन्द गर्नुपर्ने हो र? पार्टी सदस्य र जनप्रतिनिधि हुँदा खाएको शपथमाथि आफै तुसारापात गर्नुपर्ने हो र ? यस सन्दर्भमा अरू पनि धेरै तथ्य छन्, अहिले यत्ति नै पर्याप्त होला।
४) पार्टी र आन्दोलनको पक्षमा वकालत गर्नेबारे: मैले २००६ सालदेखि कम्युनिस्ट पार्टीले भन्दै र उठाउँदै आएका र नेकपा (एमाले) ले विभिन्न महाधिवेशन एवं पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादसम्बन्धी दस्ताबेजमा राष्ट्रियता, जनवाद र जनजीविका, सिद्धान्त, कार्यक्रम, आचरण, शैली र विधिबारे बोल्दै तिनको पक्षपोषण गर्दै आएको छु । यो काम पार्टी र आन्दोलनको पक्षमा होइन र? पार्टीका घोषित सिद्धान्त, कार्यक्रम, नीतिको पक्षमा बोल्नु पार्टी र आन्दोलनको पक्षमा वकालत होइन र? गलतलाई गलत, झुटालाई झुटा भन्नु तथा भ्रष्ट, अनैतिक तथा पार्टीले प्रतिगामी भन्दै आएकाहरुसँगका अवाञ्छित साँठगाँठबाट नेपालमा समाजवाद आउनु त टाढाको कुरा नेपालको स्वाधीनता र जनताको हक–हितको संरक्षण समेत हुन सक्दैन भन्नु के पार्टी विरोधी र कम्युनिस्ट आन्दोलन विरोधी कुरा हो र? मैलै पाँच दशक लामो राजनीतिक जीवनमा अविचलित रूपमा देश, जनता र पार्टीको सिद्धान्त र आदर्शमा दृढताका साथ उभिँदा कुन प्रतिक्रियावादी र देशघातीको हितमा बोलेको ठहर्छ र ? अतः कार्यकर्तालाई सिद्धान्त, आदर्श र देशभक्तिबाट विमुख गराएर व्यक्ति विशेषका सत्ता स्वार्थ र शक्ति पूजामा लाग्न प्रेरित गर्ने कुनै पनि कार्य बरु पार्टी र कम्युनिस्ट आन्दोलन विरोधी ठहर्छ । इतिहासले यही प्रमाणित गर्छ । पद नपाउँदा वा सत्ता स्वार्थमा धक्का लाग्ने स्थिति देखिएपछि पार्टी नै छोड्ने वा पार्टी विरुद्ध सामाजिक सञ्जालमा बोल्नेहरूले नै कतै पार्टी र आन्दोलनको पक्षमा वकालतको ढ्वाङ्ग फुक्ने गरिरहेका त छैनन् भनी एमाले पङ्क्तिमा चर्चा हुने गरेको छ ।
५) कार्यकर्ताको विश्वास टुट्नेबारे: केन्द्र, प्रदेश र जिल्लाका कुनै पनि कार्यक्रममा मलाई सहभागी हुन नदिने, लामो समयसम्म गरेको कामको आधारमा मलाई विश्वास र माया गरेर विभिन्न कार्यक्रममा आमन्त्रण गर्ने तथा भेटघाट गर्ने कार्यकर्तालाई “तिम्रो नम्बर घट्छ, योजना पाउने छैनौँ” भनी निरङ्कुश र तानाशाही शैलीमा धम्क्याउने अनि मैले देश, जनता एवं सत्य–तथ्यको पक्षमा बोल्दा पार्टीको कागज र छाप मलाई धम्क्याउन दुरुपयोग भएकोमा वक्तव्यमा मप्रति “कार्यकर्ताको विश्वास टुट्ने” कुरा गर्दै गोहीको आँसु झारे गर्नुको केही अर्थ हुन्छ र?
६) भ्रम नछर्न चेतावनी बारे: कृष्ण प्रसाद जैसीले प्रदेश अध्यक्षको हैसियतले साँच्चि नै एमालेलाई बलियो बनाउन चाहेको भए नेपाल प्रेसको अन्तरवार्तामा झुटा कुरा गरी अन्तर्विरोध बढाउने कुराको थालनी गर्ने लेखराज भट्टलाई “चेतावनी” दिन सक्नु पर्थ्यो । “चेतावनी” देशलाई विभाजन गर्न खोज्ने, कम्युनिस्ट पार्टीले २००६ सालदेखि प्रतिक्रियावादी भनिएकाहरूसँग साँठगाँठ गरी निहित स्वार्थपूर्ति गर्ने, कम्युनिस्ट नैतिकता टाढाको कुरा सामान्य सामाजिक मर्यादासमेत मिचेर बदनाम, विगतमा नेकपा (एमाले) लाई समाप्त गर्न त्यसलाई विभाजन गर्ने, भ्रष्टाचारका काण्ड गर्दै देशमाथि घात गर्ने, दलाल र बिचौलियाहरूसँग गठजोड गरी राष्ट्रलाई क्षति पुर्याउने, कार्यकर्ताको हत्या गर्नेहरूको बारे चुइँक्क नबोल्ने चरित्रले के पार्टी र कम्युनिस्ट वा समाजवादी आन्दोलन बलियो होला भनी कसैले विश्वास गर्छ र? लेखराज भट्ट र कृष्ण प्रसाद जैसी जिम्मेवार सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा नेपाली भूमि मिचिएको छ, कैलाली र कञ्चनपुर जिल्लाका कतिपय सीमा क्षेत्र मिचिएका छन्, नेपाली संस्कृति र अस्मितामाथि प्रहार भइरहेको छ । यस्ता कुरामा बोलेको वा वक्तव्य दिएको कतै सुनिँदैन, देखिँदैन। तर देशको आधारभूत हित, स्वाधीनता र स्वाभिमानको रक्षा र जनताको समृद्धिको लागि निरन्तर, अविचलित र स्पष्ट रूपमा योगदान गर्दै आएको र बोल्दै आएको पार्टी सदस्यलाई प्रेस वक्तव्यद्वारा “चेतावनी” दिने धम्कीपूर्ण घृष्टता कुन विधि, विधान र पद्धतिमा पर्दछ? यस्तो धम्कीलाई म पूर्ण रूपमा अस्वीकार गर्दछु । यस्तो गलत शैलीले क्षति मात्र हुने हुँदा परित्याग गर्न सुझाव दिन चाहन्छु ।
धाक–धम्कीबाट कोही विचलित हुने छैन । सिद्धान्त, आदर्श, सत्य र न्यायको पक्षमा सम्पूर्ण देशभक्त र इमानदार पार्टी नेता र कार्यकर्ताका जनसमुदाय दृढतापूर्वक उभिने छन् भन्नेमा म विश्वस्त छु । स्मरण रहोस्, देश, जनता र कम्युनिस्ट पार्टीको पक्षमा उभिँदा पञ्चायत मण्डलेले धम्की दिन्थे, बहुदलमा नेकपा (एमाले) को विकास र विस्तार गर्दा कांग्रेसले धम्की दिन्थे, द्वन्द्वकालमा पार्टी र जनताको रक्षाको लागि उभिँदा माओवादी भनिनेहरूले धम्की दिन्थे । विडम्बना, अहिले देश र जनता, सिद्धान्त, आदर्श र सत्यको उभिँदा लेखराज भट्टको अख्तियारीमा विगतमा माओवादी अपहरणमा पर्दा मैले नै अभियान चलाएर जोगिएका कृष्ण प्रसाद जैसीबाट “चेतावनी” दिइयो । यस्तो “चेतावनी”को मैले मात्र होइन, नेकपा (एमाले) मा लामो समय निरन्तर रगत–पसिना बगाएका सबै इमानदार, देशभक्त नेता र कार्यकर्ताले पूर्ण रूपमा अस्वीकार र विरोध गर्नेछन् । सत्य र न्याय स्थापित भइछोड्ने छ ।
२०८१ असोज २२ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई भाडा अनुगमन गर्न कार्यदल गठन, ११ एयरलाइन्सले बुझाए भाडादर सूची
-
टेनिस टोली बहराइन जाने
-
मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु
-
एनआरएन अस्ट्रेलियाको ‘नेपाल महोत्सव’ तयारी अन्तिम चरणमा
-
दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान
-
युरोपियन फुटबलमा जातीय दुर्व्यवहारका उदेकलाग्दा घटना !