मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
समाचार

धौलागिरि क्षेत्रमा यसरी गयो पाँच जना रसियन आरोहीको ज्यान

मङ्गलबार, २२ असोज २०८१, १९ : ३५
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । धौलागिरि हिमालमा पाँच जना आरोहीको मृत्यु भएको मंगलबार पुष्टि भयो । आइतबार राती ११ बजे धौलागिरिको क्याम्प–१ क्षेत्रबाट सम्पर्कविहीन रहेका उनीहरूको शव मंगलबार ७६०० मिटर उचाइमा भेटिएको पर्यटन विभागले जनाएको छ ।

त्यसरी मृत्यु हुनेहरूमा अलेक्जेन्डर दुशेयेको, ओलेग क्रुग्लोभ, भ्लादमिर चिस्टिकोभ, मिखाइल नोसेन्को, दिमित्री श्पिलेभोइ रहेका छन् । त्यसमध्ये अलेक्जेन्डर टोलीका नेता थिए । उनकै नेतृत्वमा १४ जनाको आरोहण टोली नेपाल आएर धौलागिरि आरोहण गर्न लागेको थियो । उनीहरूलाई विभागले आइतबार नै आरोहणको अनुमति दिएको थियो ।  

आईएएम ट्रेकिङ कम्पनीको व्यवस्थापनमा गएका ती आरोही सुरुमा दुई समूह बनाएर आरोहण गर्न चाहन्थे । तर, १४ मध्ये ६ जनाको स्वास्थ्य बिग्रिएपछि उनीहरुले आरोहणको योजना रद्द गरेर आधार शिविरमै बसे । शपिलेवो नामका व्यक्ति पनि क्याम्प १ बाटै आरोहण योजना रद्द गरेर फर्किएको विभागले जनाएको छ ।  

बाँकी ७ जनामध्ये दुई जना छिटोछिटो नै आरोहण सम्पन्न गरेर फर्किसकेका थिए । पाँच जना भने आरोहणको क्रममै थिए । ८ हजार १६७ मिटरको उचाइ भएको धौलागिरि हिमालमा उनीहरू ८ हजार भन्दा माथिको उचाइमा पुगिसकेका थिए, आरोहण सम्पन्न गर्न दुई सय मिटरभन्दा पनि कम उचाइ बाँकी थियो । तर, त्यही बेला मौसम प्रतिकुल भएपछि उनीहरूलाई तत्कालै झर्न रेडियो सेटबाट अनुरोध गरिएको थियो । तर उनीहरू ‘समिट पुस’ गरेरै फर्किने भन्दै अगाडी बढेका थिए । केही समयपछि भने उनीहरुले आफूहरू आरोहण परित्याग गरेर झर्दै रेडियो सेटमार्फत् जानकारी गराएका थिए ।  

त्यसको केही समयपछि अर्थात् असोज २० गते राती ११ बजेदेखि भने उनीहरूको रेडियो सेटसँगको सम्पर्क विच्छेद भएको पर्यटन विभागले जनाएको छ । भोलिपल्ट अर्थात् सोमबार ट्रेकिङ कम्पनीले पाँच जना हराइरहेको भन्दै विभागलाई सम्पर्क गरेको थियो । रिपोर्टिङलगत्तै हेलिकोप्टर पठाउने तयारी गरे पनि मौसम प्रतिकुलताका कारण यो सम्भव नभएको विभागका प्रवक्ता राकेश गुरुङले जानकारी दिए ।

आज अर्थात् मंगलबार हेलिकोप्टर पुग्दा भने उनीहरू समुन्द्री सतहबाट ७६०० मिटरको उचाइमा लडिरहेको भेटेको र सबैको मृत्यु भइसकेको पाइएको बताइएको छ । क्याम्प १ बाट झरेका पर्वतारोहीलाई भने उद्धार गरी काठमाडौँ ल्याएर उपचारमा पठाइसकेको विभागले जनाएको छ ।

मौसम प्रतिकुल हुनु र समयमा गरेको अनुरोध पालना नगरेर आरोहण सम्पन्न गरेरै छाड्ने अडानले उनीहरू दुर्घटनामा परेको देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप