मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

विराटनगर प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूद्वारा शपथग्रहण

मङ्गलबार, २२ असोज २०८१, १८ : १३
मङ्गलबार, २२ असोज २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले गठन गरेको ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’का पदाधिकारी र सदस्यहरूको शपथग्रहण सम्पन्न भएको छ । 

भाषा, साहित्य, कला र संस्कृतिको विकास र संवर्द्धन गर्ने उद्देश्यले गत साउन ३१ गतेको कार्यपालिका बैठकले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो । महानगरले अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको थियो । 

मंगलबार महानगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले अध्यक्ष पोखरेललाई शपथ गराएका हुन् । त्यस लगत्तै अन्य पदाधिकारी, कार्यसमिति सदस्य र परिषद् सदस्यहरूलाई अध्यक्ष पोखरेलले शपथ गराएका थिए । 

त्यस्तै मेयर कोइरालाले अध्यक्षसहित परिषद् सदस्यहरूलाई मनोनयन पत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर औद्योगिक र राजनैतिक नगरी मात्रै नभएर भाषा, कला, साहित्य र संस्कृतिको नगरी पनि भएको बताए । 

विराटनगरमा १२२ भन्दा बढी विभिन्न जातजातिको बसोबास रहेको उल्लेख गर्दै उनले हरेकका आफ्नै भाषा र मौलिक संस्कृति रहेको चर्चा गरे । उहाँले महानगरले भौतिक विकास सँगसँगै मानवीय विकासमा पनि ध्यान दिएको प्रस्ट पारे । 

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले विराटनगरले थुप्रै मूर्धन्य साहित्यकार र कलाकार जन्माएको बताए । उनले भाषा, साहित्य, कला र संस्कृतिको विकास बिना देशको विकास नहुने जिकिर गरे । 

पोखरेलको अध्यक्षतामा गठित प्रज्ञा प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं, सदस्यसचिवमा दिङ्लाली कान्छो (दिनेशराज सुवेदी), सदस्यहरूमा माया पौडेल (नृत्य/गीत–सङ्गीत), अनुराधा थापा (ललितकला), प्रा. भूषण ढुंगेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य/रङ्गमञ्च) र शिवनारायण पण्डित सिङ्गल (मातृभाषा) रहनुभएको छ । त्यस्तै प्रा.डा. हरिहर भण्डारी, लक्ष्मण नेवटिया, गोकुल अधिकारी, रामा मण्डल, हरि कट्टेल, भेषराज पोखरेल, रामबाबु दाहाल, केशव रायमाझी, डा. विमला श्रेष्ठ, सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल र इन्द्र परियार परिषद् सदस्य छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप