मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा पाकिस्तानको विशाल योगफल, तीन ब्याट्सम्यानको शतक

मङ्गलबार, २२ असोज २०८१, १६ : ४३
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । इङ्ल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली पाकिस्तानले उत्कृष्ट सुरुवात गरेको छ । मुल्तानमा जारी पहिलो टेस्टको दोस्रो दिन मंगलबार पाकिस्तानी टोली आफ्नो पहिलो पालीमा पाँच सय ५६ रन बनाउँदै अलआउट भयो । पाकिस्तानी टोलीले पहिलो पालीमा लगातार एक सय ४९ ओभर ब्याटिङ गर्‍यो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तानका लागि तीन ब्याट्सम्यानले सतकीय पाली खेलेका छन् । पाकिस्तानका लागि ओपनर अब्दुल्लाह सफिक, कप्तान सान मसुद र सलमान आघाले शतक बनाएका हुन् ।

कप्तान सान मसुदले एक सय ५१ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ३४ वर्षीय सान मसुदले एक सय ७७ बलको सामना गरी दुई छक्का र १३ वटा चौका प्रहार गरे । आक्रामक ब्याट्सम्यान सान मसुदले टेस्ट क्रिकेटमा बनाएको यो पाँचौँ शतक हो ।

यसैगरी, ओपनर अब्दुल्लाह सफिकले पनि टोलीको खातामा एक सय दुई रन थपे । उनले एक सय ८४ बलको सामना गरी दुई छक्का र १० चौका पनि हिर्काएका थिए । २४ वर्षीय अब्दुल्लाह सफिकले पनि टेस्ट क्रिकेटमा बनाएको यो पाँचौँ शतक नै हो ।

यसैगरी, आठौँ नम्बरमा क्रिज समाल्न आएका सलमान आघाले अविजित एक सय चार रनको योगदान गरे । उनले एक सय १९ बलको सामना गरी तीन छक्का र १० चौका पनि हिर्काए । ३० वर्षीय सलमान आघाले टेस्ट क्रिकेटमा प्रहार गरेको यो तेस्रो शतक हो ।

पाकिस्तानले केवल आठ रनको कुल स्कोरमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि अब्दुल्लाह सफिक र सान मसुदले टोलीको स्कोरलाई दुई सय ६१ रनको स्थितिसम्म पुर्‍याएका थिए । त्यसपछि अन्य ब्याट्सम्यानले पनि पाकिस्तानका लागि महत्त्वपूर्ण पाली खेले ।

घरेलु टोलीका लागि साउद सकिलले पनि ८२ रनको योगदान गरे । साउद सकिलले एक सय ७७ बलको सामना गरी आठ चौका पनि हिर्काए । २९ वर्षीय साउद सकिलले टेस्ट क्रिकेटमा प्रहार गरेको यो सातौँ अर्धसतक हो ।

नसिम शाहले टोलीको खातामा ३३ रन थपे । अनुभवी ब्याट्सम्यान बाबर आजम ३० रन बनाउँदै पेभेलियन फर्किए । साहिन शाह अफ्रिदी २६ रन बनाउँदै पेभेलियन फर्किए । इङ्ल्यान्डका बलर ज्याक लिचले तीन विकेट लिए । गस एट्किन्सन र ब्रायडन कार्सले पनि दुई–दुई विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप