नेपाल–चीन सम्बन्धमा बीआरआईको प्रभाव
वर्तमान विश्वको पहिलो अर्थतन्त्र, विश्वको दोस्रो शैन्य शक्ति भएको मुलुक चीनलाई नेपालीले चिन्नै सकेनन् । नेपालीले अमेरिका–युरोपमा पाउने सामान्य आम्दानी अब चीनमै प्राप्त हुन सक्छ, तर चिन्ताको कुरा चीनले गरेको यो विकासको कुराले नेपालीको मन जित्न सकेको छैन ।
केरुङ–काठमाडौँ रेल चीनका लागि सामान्य परियोजना हो, जुन अझै सुरु हुन सकेको छैन । तातोपानी, कोरला तथा हिल्सा नाकाहरू सुनसान छन् । एउटा सडक गतिलो छैन । व्यापार ठप्पजस्तै छन्, तर उता चीनको महत्त्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड’ पहलले विश्व थर्कमान छ । कांग्रेस–कम्युनिस्ट नेपालीले महान् चीनलाई चिन्नु चानचुने चुनौती नै हो ।
- के हो बीआरआई ?
‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) चीनको एक महत्त्वाकांक्षी र विश्वलाई नै प्रभाव पार्न सक्ने विकास रणनीति हो । यसलाई सन् २०१३ मा चीनका राष्ट्रपति सी जिनपिङले प्रस्तुत गरेका थिए । यस रणनीतिको मुख्य उद्देश्य चीन र अन्य देशहरूबिचको व्यापार, लगानी र आधारभूत संरचनाको विकासलाई प्रवद्र्धन गर्नु हो । बीआरआई, जसलाई पहिले ‘वन बेल्ट वन रोड’ (ओबीओआर)का रूपमा चिनिन्थ्यो । हाल आएर यो कार्यक्रम एसिया, अफ्रिका र युरोपभरि प्रसारित छ ।
चीनको पहलमा गरिएको लगानीले सम्बन्धित देशहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आर्थिक विकासमा योगदान पुर्याउँछ । बीआरआईले चीनलाई अन्य देशसँग कूटनीतिक सम्बन्ध बलियो बनाउन र आफ्नो क्षेत्रीय प्रभावलाई विस्तार गर्न मद्दत गर्छ ।
‘बेल्ट एन्ड रोड’ पहलको अवधारणा प्राचीन सिल्क रोडबाट उत्पन्न भएको हो, जुन चीन र युरोपबिचको व्यापारिक मार्ग थियो । पुरानो सिल्क रोडले मध्य एसियामा रहेका विभिन्न देशलाई जोड्ने काम गरेको थियो । बीआरआई यसै पुरानो मार्गलाई आधुनिक सन्दर्भमा पुनः जागृत गर्न चाहन्छ, जसले चीनलाई दक्षिणपूर्व एसिया, दक्षिण एसिया, मध्यएसिया, अफ्रिका र युरोपसँग जोड्नेछ ।
बीआरआई चिनियाँ सरकारको एक ठुलो परियोजना हो, जसले एसिया, युरोप र अफ्रिकासम्मको भौगोलिक क्षेत्रलाई जोड्ने उद्देश्य राखेको छ । बीआरआईले सडक, रेलमार्ग, बन्दरगाह, ऊर्जा परियोजनाहरू र सञ्चार नेटवर्कजस्ता संरचनाहरूको विकासलाई प्राथमिकता दिएको छ । चीनले बीआरआईका माध्यमबाट यस्ता परियोजनामा लगानी गरी सम्बन्धित देशको विकासमा योगदान पुर्याएको छ । यसले चीनको व्यापारिक पहुँचलाई विस्तार गर्नुका साथै साझेदार देशहरूको अर्थतन्त्रलाई पनि बलियो बनाउने अपेक्षा गरिएको भए पनि नेपाल बत्तीमुनिको छायाजस्तै भएको छ । १० वर्ष भयो, न सडक बन्यो, न त रेल नै आयो ।
बीआरआईको अर्को प्रमुख उद्देश्य चीनको अन्तर्राष्ट्रिय व्यापारलाई विस्तार गर्नु हो । चीनले आफ्ना उत्पादनलाई नयाँ बजारमा पुर्याउन र आयात–निर्यातको प्रवाहलाई सहज बनाउन बीआरआईको प्रयोग गर्छ । यस पहलले विभिन्न देशसँग द्विपक्षीय र बहुपक्षीय व्यापार सम्झौताहरू गर्न चीनलाई मद्दत गर्छ, जसले विश्वव्यापी व्यापारिक नेटवर्कलाई मजबुत बनाउँछ ।
बीआरआईले विकासशील देशहरूलाई भौतिक पूर्वाधारको विकासमा सहयोग पुर्याएर उनीहरूको आर्थिक विकासको गति बढाउन मद्दत गर्छ । यसले गरिबी निवारण, रोजगारी सिर्र्जना र औद्योगिकीकरणलाई प्रोत्साहन दिन्छ । चीनको पहलमा गरिएको लगानीले सम्बन्धित देशहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा आर्थिक विकासमा योगदान पुर्याउँछ । बीआरआईले चीनलाई अन्य देशसँग कूटनीतिक सम्बन्ध बलियो बनाउन र आफ्नो क्षेत्रीय प्रभावलाई विस्तार गर्न मद्दत गर्छ । यसले अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई नयाँ उचाइमा पुर्याउँछ र चीनको वैश्विक भूमिका अझ महत्त्वपूर्ण बनाउँछ । बीआरआईसँगै पछिल्लो समय राष्ट्रपति सीले अघि सारेको ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ (जीएसआई), ‘ग्लोबल डेभलप्मेन्ट इनिसियटिभ’ (जीडीआई), ‘ग्लोबल कल्चरल इनिसियटिभ’ (जीसीआई) मा चीनले नेपालको पनि सुरुमा सहभागिता खोजेको थियो । तर न नेपालले चीनलाई चिन्यो, न त चीनले नेपाल नै । नेपालको सन्दर्भमा बीआरआई एक कागजमा लेखिएको योजना मात्रै जस्तो भयो, परिणाम देखिएन ।
- नेपालमा ‘बेल्ट एन्ड रोड’ पहल
बीआरआईमा संलग्न १५० देशमध्ये नेपाल एक हो । नेपाल र चीनबिच बीआरआई अन्तर्गत विभिन्न सम्झौता भएका छन्, जसले नेपालमा भौतिक संरचना विकास, व्यापार विस्तार र लगानी आकर्षित गर्न मद्दत गरेको छ । नेपालले बीआरआईमा सामेल भएको छ र यसले नेपालमा आधारभूत संरचना विकासमा ठुलो अवसर प्रदान गर्न सक्छ । यस परियोजनाले सडक, रेल र जलविद्युत् परियोजनामा ध्यानकेन्द्रित गरिरहेको छ ।
नेपाल सन् २०१७ मा बीआरआईमा सामेल भएको थियो । नेपाल र चीनबिचको दुई पक्षीय आपसी सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा आधारित रहेकाले परस्पर सम्मान, सार्वभौम समानता, एर्काकाका साझा चासो र संवेदनशीलताप्रतिको बुझाइमा हुर्कंदै आएको छ ।
दुवै देशबिच अत्यन्तै राम्रो आपसी–सम्बन्ध र विश्वास छ, तर भारत तथा अमेरिकी चाहनाबमोजिम चिनियाँ प्रभाव कांग्रेसहरूले रोक्छन् भने त्यसका विरुद्ध कम्युनिस्टहरूले बोक्छन् ।
बीआरआईले नेपालका लागि ठुला अवसर सिर्जना गरेको छ । नेपालमा जलविद्युत्, सडक र रेलमार्गको विकासमा चिनियाँ लगानीले देशको आर्थिक विकासमा सकारात्मक प्रभाव पारेको छ । यस परियोजनाले नेपाललाई व्यापार र सम्पर्कको सन्दर्भमा मजबुत बनाउँदै गएको देखिन्छ । सन् २०१३ मा ‘वान बेल्ट वान रोड’ (ओबीओआर) नाम दिएर सुरु भएको बीआरआईलाई कुनै बेला चीनको नेतृत्वले ‘यो शताब्दीको परियोजना’का रूपमा उल्लेख गरेको थियो । ‘कार्नेगी इन्डाउमेन्ट फर डेमोक्रेसी’मा प्रकाशित एउटा लेख अनुसार, हालसम्म नेपाल लगायत १५० वटाभन्दा बढी देश उक्त परियोजनामा आबद्ध छन् भने सयौँ दुईपक्षीय सम्झौतामा हस्ताक्षर भएका छन् ।
वालस्ट्रिट जर्नलमा प्रकाशित भएको एउटा विवरण अनुसार चीनले बीआरआई अन्तर्गत एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा १० खर्ब अमेरिकी डलर लगानी गरिसकेको छ । तर नेपालमा ? पुँजीवादी दक्षिणपन्थी कांग्रेस–कम्युनिस्टले जनाधार गुमाउँंदै गएको अवस्थामा चीनले नेपाली जनताको चाहना अनुरूप एउटा रेलमार्ग निर्माण गरेर जनताको मन जित्नु आवश्यक भइसकेको छ ।
- चिनियाँ रेल
नेपालीको ठुलो सपना हो, रेल चढ्नु । राष्ट्रपति सी जिनपिङले सन् २०१९ मा काठमाडौँको भ्रमण गर्दा दुई देशले बहुआयामिक हिमालय वारपार सम्पर्क सञ्जाल विस्तार गरिनेमा जोड दिँदै तिब्बतबाट काठमाडौँ हुँदै लुम्बिनीसम्म रेल–वे निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । चीन–लाओस रेल–वे परियोजनाको निर्माण पूरा भइसकेको छ । तर नेपाल–चीन रेल–वेको हाल चिनियाँ प्राविधिक टोलीले विस्तृत सम्भाव्यता अध्ययन गरिरहेको छ र यसको निर्माणका लागि अझै लामो समय लाग्न सक्ने ठानिएको छ । काठमाडौँसम्म जोड्ने रेलमार्गका लागि आठ अर्ब अमेरिकी डलर लाग्न सक्ने एउटा अध्ययनले देखाएको छ । चिनियाँ लगानीका जलविद्युत् परियोजनाबाट बिजुली नकिन्ने घोषणा गरेको भारतले अमेरिकासँग मिलेर नेपालमा चिनियाँ प्रभाव कम गर्नका लागि कूटनीतिक सक्रियता बढाएको विज्ञले बताउने गरेका छन् । बीआरआई परियोजनामा नेपालले हस्ताक्षर गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । गत साल पोखरास्थित फेवातालमा पहिलो चीन–नेपालमैत्री ‘ड्रागन बोट रेस’ समारोह सफलतापूर्वक सम्पन्न भएको थियो । लुम्बिनीको चिनियाँ मन्दिरमा हजारौँ मानिसले विश्व शान्तिका लागि दीप प्रज्ज्वलन गरी प्रार्थना गरेका थिए, तर हाम्रो अवस्था उस्तै छ । कुनै स्पष्ट योजनाअगाडि बढ्नै सकेको देखिँदैन । नेपालीलाई धेरै ठुलो आशा छ— चीनको सहयोगमा बनेर चल्ने बेइजिङदेखि केरुङ काठमाडौँ, काठमाडौँदेखि पोखरा हुँदै लुम्बिनी पुग्ने रेल चढ्ने । ढिला गर्नु नेपाल–चीन सम्बन्धमा चिसो पस्नु नै हो, रात रहे अग्राख पलाए ।
दुवै देशबिच अत्यन्तै राम्रो आपसी–सम्बन्ध र विश्वास छ, तर भारत तथा अमेरिकी चाहनाबमोजिम चिनियाँ प्रभाव कांग्रेसहरूले रोक्छन् भने कम्युनिस्टहरू त्यसलाई बोक्छन् ।
एक दशक भयो, चीनले रफ्तारमा बीआरआईलाई अघि बढाउन सकेको छैन । जस्तो कि घोषणाको प्रारम्भिक पाँच वर्ष त योजना बनाउन र विश्व समुदायलाई यसको महत्त्व बुझाउनमै गयो भने त्यसपछिका वर्षमा जब चीन आक्रामक रूपमा प्रस्तुत हुन खोज्दै थियो, तब कोरोना महामारी, चीन र भारतबिचको तिक्ततापूर्ण सम्बन्ध, रसिया–युक्रेन युद्ध, चीन–अमेरिका सम्बन्ध लगायत अन्तर्राष्ट्रिय परिस्थिति निरन्तर परिवर्तन भइराख्दा बन्दरगाहको प्रवद्र्धन, राजमार्ग, कोइला पावर स्टेसन लगायत दक्षिण एसियामा चिनियाँ लगानी रहेका परियोजनामा प्रत्यक्ष असर पर्यो । चीन अब युद्धस्तरमा नेपाललाई साथ लिएर दक्षिणपन्थलाई जितेर अगाडि बढ्नुपर्छ ।
- आर्थिक प्रभाव
बीआरआईको प्रमुख उद्देश्य आधारभूत संरचनामा लगानी गर्नु हो, जसमा सडक, रेलमार्ग, पुल र जलविद्युत्् परियोजना पर्छन् । आधारभूत संरचनाका सुधारले नेपालका विभिन्न क्षेत्रलाई एकापसमा जोड्न र चीनसँगको व्यापारलाई प्रोत्साहन गर्न सक्छ । चीनसँगको सम्पर्क बढ्दा नेपालको वस्तु र सेवाहरूको निर्यात वृद्धि हुन सक्छ र व्यापार वृद्धि हुन्छ । बीआरआई परियोजनाहरूले नेपालमा विदेशी लगानीकर्तालाई आकर्षित गर्न मद्दत गर्न सक्छ । आधारभूत संरचना विकासका कारण उद्योग र सेवाहरूको स्थापनामा सजिलो हुने अपेक्षा गरिएको छ । नेपाल चिनियाँहरूको एक प्रमुख पर्यटकीय क्षेत्र हो ।
बीआरआई परियोजनाले चीनसँगको यातायात सुविधामा सुधार ल्याएर नेपालमा पर्यटकहरूको आगमनमा वृद्धि गर्न सकिन्छ । हिल्सा–सिमकोट सडक परियोजनासँगै नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन प्रोजेक्ट (चिलिमे केरुङ)मा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ अन्तर्राष्ट्रिय डेभलपमेन्ट को–अपरेसन एजेन्सीबिच समझदारी भएको छ । त्यस्तै, बीआरआई अन्तर्गत चीन र नेपालबिचको व्यापारिक सम्बन्धमा सुधार आएको देखिन्छ । चीनले नेपालका लागि मुख्य व्यापारिक साझेदारका रूपमा आफ्नो स्थानलाई बलियो बनाएको देखिन्छ । नेपालले चीनसँगको व्यापारिक मार्गहरूलाई सुधार गरेर निर्यातलाई बढावा दिनैपर्छ । जनतादेखि जनतासम्मको सम्बन्ध स्थापना गर्न हरेक चिनियाँ नागरिकको पवित्र पर्यटकीय गन्तव्य अब नेपाल हुनैपर्छ ।
- निष्कर्ष
बीआरआईले नेपालमा आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय पक्षमा गहिरो प्रभाव पार्नेछ नै । नेपालले बीआरआई परियोजनाहरूको कार्यान्वयनमा सन्तुलित दृष्टिकोण अपनाउन आवश्यक छ, जसले देशको विकासलाई समर्थन गर्दै स्थानीय संस्कृतिको संरक्षण र वातावरणीय सुरक्षालाई सुनिश्चित गर्न सक्छ ।
समग्रमा, बीआरआईले नेपाललाई आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा अवसर प्रदान गर्न सक्छ, तर यसको साथमा आउने चुनौतीलाई सम्बोधन गर्न उचित नीति र योजना आवश्यक छन् । नेपालले चीनसँगको सम्बन्धलाई सुदृढ गर्दै आन्तरिक स्थिरता र वातावरणीय संरक्षणका बिचमा सन्तुलन कायम गर्नुपर्छ । यसले नेपालको दीर्घकालीन विकास र स्थायित्वमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । बीआरआईले छोए पनि नछोए पनि नेपालले चीन र चीनले नेपाल चिन्नैपर्छ । केरुङ–काठमाडौँ रेलमार्ग तुरुन्तै निर्माण सम्पन्न हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारद्वारा १४ उद्यमी सम्मानित
-
सरकारी कामकाजको भाषा चाँडै लागु हुन्छ: मुख्यमन्त्री सिंह
-
पञ्जाबले कीर्तिमानी मूल्य २६ करोड ७५ लाखमा किन्यो श्रेयष ऐयरलाई, बटलर गुजरातमा
-
चार कारणले थपियो रवि लामिछानेसहितलाई १५ दिन म्याद
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
बेलायतमा तीन अमेरिकी सैन्य शिविरमाथि रहस्यमय ड्रोन