मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

मेयर साम्पाङले सङ्घीय मन्त्रीलाई लेखेको दुई पत्र चर्चामा, योजनाको लागि पुग्दो पैसा हाल्दिन माग

मङ्गलबार, २२ असोज २०८१, ११ : ५७
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङले सङ्घीय मन्त्रालयलाई लेखेको पत्र यतिवेला चर्चामा आएको छ । मेयर साम्पाङले २१ गते सोमबार खानेपानी मन्त्रालयलाई पत्र लेख्दै फोहोर मैला व्यवस्थापनका लागि व्यवस्थित ‘स्यानिटेरी ल्याण्डफिल्ड साइट’ बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिन माग गरेका छन् ।

उनले फोहोर जङ्गलमा फाल्दा व्यवस्थित नभएको तथा फोटो खिच्ने र राजनीति गर्नेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले फोहोर बगेर तल्लो भेगमा पुग्ने र बर्सेनि सुख्खा याममा फोहोरमा आगो लाग्ने र डढेलोका कारण बिजोग हुने गरेको पत्रमा उल्लेख गरेका छन् ।

‘तार घेरा लाउन लाको वनका मान्छेहरू आएर डोजरले भत्काइदिए । यो विषयमा पत्र पठाएको पनि धेरै भयो ।’ उनले लेखेका छन् । अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई समेत बोधार्थ गरिएको पत्रमा कति लामो अध्ययन हो भन्ने प्रश्न पनि गरेका छन् ।

‘कति वर्षे कोर्स हो ? जनतालाई, देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रियामाथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ ?‚’ उनले लेखेका छन्‚ ‘लौन सरकार खत्रा लाग्नु पर्‍यो । सेवां ढोग गरे फेरि पनि ।’

त्यसैको अघिल्लो दिन अर्थात् असोज २० गते उनले खानेपानी मन्त्रालयका लागि अर्को पत्र पनि लेखेका थिए । उनले धरान उपमहानगरपालिका भित्र सप्तकोशी नदीबाट खानेपानी ल्याउन प्रोजेक्ट सुरु गरिदिन माग गरेका छन् ।

‘धराने जनता खानेपानी खानेपानी भन्दै कतिन्जेल कराउँदै बस्नु पर्ने हो ? मन्त्रालय धाएको, निवेदन चढाएको र नमस्कार गरेको पनि २ वर्ष बित्यो‚’ उनले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख गरिएको छ‚ ‘ खबौं रुपैयाँको बजेट बनाउने नेपाल सरकारले धराने जनतालाई खानेपानी जस्तो अत्यावश्यक सेवा सुविधा प्राण आधार तत्त्वदेखि समेत वञ्चित गर्नुपर्ने कारण के पर्‍यो ? किन धरानलाई विभेद गरेको हो ? पार्टी नमिले पनि देश त हाम्रो एउटै हो नि । होइन र ? कि कसो ?’

मेयर साम्पाङले उक्त पत्र सामाजिक सञ्जालमा पनि राखेका छन् । पत्रमा उनले धराने जनताले खानेपानी नपाउनुको कारण सार्वजनिक गर्न पनि माग गरेका छन् । खानेपानी सम्म खुवाउन नसक्ने सरकारको कुनै औचित्य नरहने भन्दै उनले सरकारलाई औचित्य पुष्टि गर्न पनि चुनौती दिएका छन् ।

‘आश्वासनले जीवन चल्दैन डेलिभरी दिने गरी काम गर्नु पर्छ है । कुरा तितो छ तर सत्य कुरा यस्तै हुन्छ असत्य बोल्न जानिएन‚’ उनले लेखेका छन्‚ ‘मन नदुखाउनु होला बरु काम थाल्नु होला । जय होस नेपाल सरकारको।’

यो पत्र उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत बोधार्थ गरेका छन् ।

harka l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप