मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
आलेख

सबैले अर्थशास्त्र बुझ्न किन आवश्यक छ ?

मङ्गलबार, २२ असोज २०८१, ११ : ४६
मङ्गलबार, २२ असोज २०८१

सन् १९८६ मा म मेरो देश दक्षिण कोरिया छाडेर अर्थशास्त्रको अध्ययन गर्न क्याम्ब्रिज विश्वविद्यालय आएँ । तत्कालीन समयमा यहाँ मेरा लागि धेरै कुरा प्रतिकूल थिए । अंग्रेजी बोल्नमा म धेरै कमजोर थिएँ । म पुगेको ठाउँमा जातिवाद र सांस्कृतिक पूर्वाग्रह व्यापक थिए । मौसम प्रतिकूल थियो । मेरा लागि सबैभन्दा अप्ठेरो त त्यहाँका खानेकुराहरू थिए । 

बेलायत आउनुअघि मैले खानेकुरा यतिसम्म झुर र खराब हुन्छन् भन्ने अनुभव नै गर्न पाएको थिइनँ । मासु धेरै पकाएको र कम सेकाइएको हुन्थ्यो । रस नराख्ने हो भने त त्यो खानै नसक्ने हुन्थ्यो । त्यही पनि कहिलेकाहीँ झनै बिग्रेको हुन्थ्यो । 

सरस्युसँग चाहिँ म प्रेममै पर्न पुगेँ । यसले मलाई अंग्रेजी खानासँगको संघर्षमा धेरै ठुलो सहयोग गर्‍यो । तरकारीलाई यति धेरै उमालिन्थ्यो कि त्यसमा खानलायक कुरा जम्मा नुन मात्र बाँकी रहन्थ्यो । बेलायतीहरू आफ्नो खानालाई प्रशंसा गर्दै फ्रान्सेली ‘सस’ बिनै स्वादिष्ट हुने बताउँथे । ‘सस’को प्रयोग खराब खाना छोप्न गरिने भन्दै उडाउँथे । पछि जब म फ्रान्स गएर खास फ्रान्सेली खाना खाएँ, मलाई बल्ल वास्तविकता थाहा भयो ।

सन् १९९० को दशकमा बेलायती खाद्य संस्कृति साँच्चै परम्परागत ढर्राको थियो । बेलायतीहरू नयाँ खानेकुरा खान बिल्कुल रुचाउँदैनथे । आफ्नो संस्कृति बाहेकको खानालाई धार्मिक कट्टरताकै स्तरमा परहेज गर्दथे । अङ्ग्रेजी परम्परामा भिजिसकेका केही भारतीय र चिनियाँ खानाबाहेक अन्य परिकार खान या त सोहो सहर वा लन्डन नै पुग्नुपथ्र्यो । 

त्यो समय असाध्यै चलेको तर अहिले हराएको ‘पिज्जाल्यान्ड’को अवस्थाले मलाई आज पनि त्यो समयको बेलायती खाद्य संस्कृतिको संकीर्णतालाई सम्झाउँछ । साँच्चै पिज्जाघरको ‘मेन्यु’ मा आलुको परिकार नहुने थियो भने पिज्जाले पनि पक्कै पराई खानाकै नियति भोग्थ्यो होला ।

खानामा आफ्नो–पराईको यो सन्दर्भलाई गहिरिएर हेर्दा अर्को विसंगत अवस्था देखापर्छ । बेलायतमा प्रिय मानिने क्रिसमस डिनरमा उत्तर अमेरिकाको टर्की, पेरु वा चिलीको आलु, अफगानिस्तानको गाजर र बेल्जियमको गेडागुडी खुब स्वादले खाने गरिन्छ, तर पनि चलनचल्तीमा बेलायतीहरू पराई खानेकुरा नखाने भन्न चाहिँ छाड्दैनथे ।

आजको दिनमा अवस्था नितान्त फरक छ । बेलायती खानपानमा व्यापक विविधीकरण र प्रयोगहरू भएका छन् । लन्डनले अहिले सबै प्रकारका परिकार पेस गर्ने गर्छ । ‘टर्किस कवाव’, जापानी ‘काइसेकी’, स्पेनिस ‘वार’, पोलिस, कोरियाली सबै शैली र स्वाद पाइन्छ । 

सन् १९७० को दशकमा बेलायत पढ्न आएका एक मित्रका अनुसार, उक्त समयमा अक्सफोर्डमा जैतुनको तेलको कुनै प्रयोग नै हुँदैनथ्यो । तेल खोज्नुपर्‍यो भने औषधि पसलमा जानुपथ्र्यो ।

मेरो ठम्याइमा बेलायतीले सन् ९० को दशक मध्यसम्म आइपुग्दा उनीहरूको खाना सर्वोत्कृष्ट होइन भन्ने थाहा पाए । विभिन्न ठाउँमा बिदा मनाउन जाँदा घुमघामको समयमा चाखेका नयाँ स्वादहरू तथा आप्रवासीका नयाँ खानाले उनीहरूलाई यस्तो बनाएको हो । 

एकपटक पुरानो पद्धति छाडेपछि उनीहरू विविध स्वादमा बानी पर्न थाले । अहिले थाई, भारतीय, टर्किस, मेक्सिकालीमा भेद हुनै छाडिसक्यो । जुन स्वादिष्ट हुन्छ, त्यो राम्रो हुन थाल्यो । सबै स्वादहरूलाई स्वतन्त्र परीक्षण गर्ने यही बेलायती शैलीले आज बेलायतमा सबैभन्दा समृद्ध खाद्य संस्कृति बन्नलाई सजिलो बनाएको छ ।

सन् १९७० को दशकसम्म अर्थशास्त्र आजको बेलायती खानपानको अवस्थामै थियो । आफ्ना सबलता र दुर्बलतासहित विभिन्न परिकार मानिसको ध्यान तान्न लागिरहेका, सबै आफ्ना विगत र परम्पराप्रति गौरव गर्ने तथा जान–अन्जानमा एक–अर्काबाट सिकिरहेका वा कहिलेकाहीँ एक–अर्कामा मिश्रित भइरहेका जस्ता देखिन्थे ।

मेरो खानपिनको दुनियाँ तीव्र गतिमा फैलिरहेको थियो तर अर्को दुनियाँ अर्थात् अर्थशास्त्र चाहिँ त्यही समय ‘ब्ल्याक होल’तर्फ गएजस्तै हुँदै थियो ।

सन् १९७० सम्म अर्थशास्त्र विविध स्कुलका भिन्न–भिन्न सोच र अनुसन्धान पद्धतिले हराभरा थियो । त्यसमा उल्लेखनीय शास्त्रीय, माक्र्सवादी, नवशास्त्रीय, किन्सियाली, विकासवादी, अस्ट्रियाली, सुम्पेटरवाला, संस्थागतवादी (इन्स्टिच्युसनलिस्ट) र व्यवहारवादी जस्ता धेरै पर्दथे । यी फरक धाराहरूले फरक दृष्टि बोक्थे । 

यिनीहरूका आधारभूत नैतिक मूल्य र राजनीतिक मान्यता परस्पर विरोधी थिए । अद्यापि यी मूल्य र मान्यता यस्तै परस्पर विरोधी नै छन् । यिनीहरू अर्थतन्त्रले कसरी काम गर्छ भनेर फरक ढंगले बुझ्ने गर्छन् । मैले मेरो पुस्तक ‘इकोनोमिक्स ः द युजर्स गाइड (२०१४)’ को एक अध्याय ‘हजारौँ फूलहरू फुल्न दिऔँ’ भन्नेमा यस्ता प्रतिस्पर्धी पद्धतिबारे व्याख्या गरेको छु ।

अर्थशास्त्रमा विभिन्न विधिहरू सह–अस्तित्वमा रहने मात्र नभएर निरन्तर अन्तक्र्रियामा पनि रहन्छन् । कहिलेकाहीँ प्रतिस्पर्धी ‘स्कुल अफ थट’हरू सन् १९२०–३० को दशकमा माक्र्सवाद र अस्ट्रियाली सिद्धान्तजस्तो वा सन् १९६०–७० को दशकमा किन्सियाली सिद्धान्त र नवशास्त्रीय आर्थिक सिद्धान्तजस्तो जीवन–मरणको लडाइँ पनि लड्ने गर्छन् । अन्य समयमा यी अन्तक्र्रिया सहज हुने गरेका पनि छन् । 

संसारभर विभिन्न सरकारले गरेका विविध नीतिगत अभ्यास र बहसहरूमा हरेक ‘स्कुल अफ थट’ ले यसका तर्कलाई सम्मान गर्न बाध्य बनाएका छन् । फरक विचारधाराले एक–अर्काबाट महत्त्वपूर्ण विचार लिने गरेका छन् । कहिलेकाहीँ यसरी लिएका विचारको स्रोत उल्लेख समेत नगर्ने गरेको पनि भेटिन्छ । 

केही अर्थशास्त्रीले विभिन्न सिद्धान्तलाई मिसाएर नयाँ सिद्धान्त बनाउने प्रयास पनि गरेका छन् । जस्तै ः माक्र्सवादी र किन्सियाली सिद्धान्त मिसाएर ‘उत्तर–किन्सियाली’ अर्थशास्त्रको सिर्जना भएको छ ।

सन् १९७० को दशकसम्म अर्थशास्त्र आजको बेलायती खानपानको अवस्थामै थियो । आफ्ना सबलता र दुर्बलतासहित विभिन्न परिकार मानिसको ध्यान तान्न लागिरहेका, सबै आफ्ना विगत र परम्पराप्रति गौरव गर्ने तथा जान–अन्जानमा एक–अर्काबाट सिकिरहेका वा कहिलेकाहीँ एक–अर्कामा मिश्रित भइरहेका जस्ता देखिन्थे ।

सन् ८० को दशकमा आइपुग्दा अर्थशास्त्र सन् ९० अघिको बेलायती खानपानजस्तो हुन पुग्यो । नवशास्त्रीय अर्थशास्त्रको एउटै परम्परा मात्रै मेनुमा पाइन थाल्यो । अन्य स्कुलहरू बिलाउन थाले । तथापि यसका पनि सबल र गम्भीर दुर्बल पक्ष दुवै छन् । नवशास्त्रीय सिद्धान्तको उदयको कथा जटिल छ, यहाँ ठ्याक्कै विचार गर्न सकिन्न ।

भन्ने नै हो भने यो कथामा धेरै कुरा छन् । पक्कै पनि त्यहाँ विविध प्राज्ञिक तत्त्व छन् । गणितको बढ्दो प्रभाव छ । गणितले खास ज्ञानको दायरालाई थप विकसित गर्न सहयोग गरेको भए पनि यसले अन्य विधिलाई दबाउन पनि उस्तै भूमिका खेलेको देखिन्छ । 

तथापि यसको उदयमा राजनीतिको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । यो भूमिका अर्थशास्त्रको विषयगत क्षेत्रमा र बाह्य जगत् दुवैमा देख्न सकिन्छ । विषयगत क्षेत्रमा हेर्दा नोबेल पुरस्कारले नवशास्त्रीय अर्थशास्त्रलाई प्रवद्र्धन गर्न ठुलो भूमिका खेलेको देखिन्छ । विषयगत क्षेत्रभन्दा बाहिर राजनीतिको क्षेत्रमा हेर्दा नवशास्त्रीय अर्थशास्त्रमा निहित प्रचलित सामाजिक आर्थिक व्यवस्थामा विद्यमान आय, सम्पति र शक्तिको वितरण बारेको मौनताले सम्भ्रान्त वर्गलाई मोहित गराउन सफल भयो । 

दोस्रो विश्वयुद्धपश्चात् भएको शिक्षाको भूमण्डलीकरणमा अमेरिकाको भूमिका रह्यो । यसमा अमेरिकाको प्रभावशाली सांस्कृतिक शक्तिको असर धेरै हुन गयो । यसले अमेरिकामा सन् ६० को दशकमा प्रभावशाली रहेको नवशास्त्रीय अर्थशास्त्रलाई विस्तार गर्न प्रमुख भूमिका खेल्यो ।

कारणहरू जेसुकै भए पनि आजको दिनमा नवशास्त्रीय अर्थशास्त्र केही अपवाद छाडेर संसारभर प्रभावशाली बन्न पुगेको छ । धेरैका लागि अर्थशास्त्र भन्नु र नवशास्त्रीय अर्थशास्त्र भन्नु पर्यायवाची बन्न पुगेका छन् । यस्तो बौद्धिक एकात्मकताले यो शास्त्रमा विविधीकरणलाई असहज बनाएको छ । अचेल प्रायः नवशास्त्रीय अर्थशास्त्रीहरू अन्य धाराका आर्थिक विचारको अस्तित्व र महत्त्वलाई स्वीकार नै गर्दैनन् । 

जसले थोरै स्वीकार गर्छन्, उनीहरू पनि नयाँ विचारलाई असाध्यै कमजोर ठान्ने गर्छन् । माक्र्सवादी धाराजस्ता केही सिद्धान्तलाई त उनीहरू अर्थशास्त्र नै मान्दैनन् । केही अन्य विचार जस्तो सुम्पेटरको नवप्रवर्तनबारेको विचार, व्यवहारवादीहरूको मानवीय विवेक बारेको विचारलाई कथित ‘मूलधारको अर्थशास्त्र’ अर्थात् नवशास्त्रीय अर्थशास्त्रमा समाहित गरिसकिएको दाबी गरिएको छ । यी मिश्रण सतही प्रकारका मात्रै हुन् भन्ने देख्न चाहिँ उनीहरू असमर्थ छन् ।

म नवशास्त्रीय अर्थशास्त्रलाई पूरै बेठिक हो भनिरहेको छैन । अन्य स्कुलहरूजस्तै यो पनि निश्चित नैतिक र राजनीतिक परिवेशमा खास केही कुरालाई व्याख्या गर्न बनाइएको हो । अन्य सिद्धान्तले काम नगर्ने विभिन्न सन्दर्भमा यसले धेरै राम्रोसँग काम गर्न सक्छ । यहाँनेर समस्याचाहिँ आफ्ना स्वाभाविक र गम्भीर सैद्धान्तिक साथै विधिगत सीमाका बाबजुद सबै सिद्धान्तहरूमाथि एउटा सिद्धान्तको प्रभुत्वमा हो । 

जसरी सन् ९० को दशकमा खानपानको विविधतालाई स्वीकार नगर्दा बेलायती खाद्य संस्कृति दिक्कलाग्दो भएको थियो, त्यसै गरी एउटै धाराको आर्थिक सिद्धान्तको प्रभुत्वले अर्थशास्त्रलाई साँघुरो घेरामा संकुचित गराएको छ । यसले अर्थशास्त्रको प्रभाव र नैतिक आधारलाई नै खुम्च्याइदिएको छ ।

केही पाठकलाई साँच्चै लाग्न सक्छ, यसरी कुनै एक सिद्धान्तमा एकतर्फी रूपमा प्राज्ञिकहरू लागेकामा मलाई किन चासो लागेको होला भनेर । तर पनि मलाई लाग्छ, हामी सबैले यसबारे चासो राख्नुपर्छ, किनकि हामीले मन पराए पनि नपराए पनि अर्थशास्त्र शक्तिको भाषा भइसकेको छ । 

आजका दिनमा बजारमुखी अर्थशास्त्रको प्रभुत्वले गर्दा गैरअर्थशास्त्रीय मुद्दाहरू (जस्तो ः स्वास्थ्य, शिक्षा, साहित्य, कला आदि) बारेको निर्णयमा आर्थिक तर्कको प्रभाव असाध्यै बढेर गएको छ । मैले त्यस्ता बेलायती समेत भेटेको छु, जसले पर्यटनबाट आउने आम्दानीको हिसाब देखाएर राजतन्त्रको औचित्य साबित गर्न खोज्छन् । म राजतन्त्रवादी होइन तर हेर्नुस् त एउटा महत्त्वपूर्ण संस्थालाई यसरी रक्षा गर्न खोजेको कस्तो अपमानजनक देखिने रहेछ !

जब हाम्रो दैनिकीमा प्रभाव पार्ने यति धेरै निर्णयहरू प्रभावशाली आर्थिक सिद्धान्तका आधारमा गर्ने गरिन्छ भने र तपाईंले अर्थशास्त्रको थोर–बहुत ज्ञान राख्नुहुन्न भने यो निश्चित हो कि तपाईं कुन विकल्प छान्न मतदान गर्दै हुनुहुन्छ भन्नेबारे पनि अनभिज्ञ हुनुहुन्छ ।

अर्थशास्त्रको अध्ययन अन्य कुराको अध्ययनभन्दा अलि फरक कुरा हो । यो कुनै दुर्बोध्य भाषा सिकेजस्तो वा भूगर्भको लामो इतिहास पढेजस्तो बौद्धिक विलास वा कल्पनाको विषय होइन । हाम्रो जीवन र दैनिकीमै यसको सिधा र असाध्यै ठुलो प्रभाव छ ।

हामी सबैलाई यो थाहा छ— आर्थिक सिद्धान्तले कर, सरकारी खर्च, ब्याजदर र श्रम बजार नियमनजस्ता कुरामाथि सरकारले लिने नीतिमा ठुलो प्रभाव पार्छन् । यस्ता नीति र निर्णयले रोजगारी, कामको अवस्था, ज्याला, विद्यार्थी लगायत सर्वसाधारणको बैंकको कर्जा चुक्ता गर्ने लगायत हाम्रो दैनिक जीवनमा फरक पार्छन् । 

आर्थिक सिद्धान्तहरूले दीर्घकालीन रूपमा उच्च उत्पादकत्व भएका उद्योगहरूको क्षमता विकास गर्दै नयाँ आविष्कार र प्रवर्तनको साथमा पर्यावरणीय रूपमा दिगो रूपमा अगाडि लाने सामूहिक उद्देश्यलाई पनि धेरै हदसम्म निर्धारण गर्न सक्छन् । योभन्दा पनि बढी, अर्थशास्त्रले केवल व्यक्तिगत वा सामूहिक आर्थिक चरहरूलाई मात्रै प्रभावित गर्दैन् । यसले त हामी को हौँ भन्ने कुरामै प्रभाव पार्ने र फेरबदल गर्ने तागत राख्छ ।

अर्थशास्त्रले हामीलाई दुई तरिकाले प्रभाव पार्छन् । पहिलो, यसले विभिन्न विचारको सिर्जना गर्छ । फरक आर्थिक सिद्धान्तले मान्छेका फरक गुणलाई आधारभूत मानवीय स्वभावको रूपमा लिएको हुन्छ । त्यसैले प्रचलित आर्थिक सिद्धान्तले मानिसले केलाई ‘प्राकृतिक’ र ‘मानवीय स्वभाव’का रूपमा लिएका हुन्छन् भन्ने आधारमा सांस्कृतिक मूल्यहरूको रचना गरेको हुन्छ । 

मेरा समकक्षी अर्थशास्त्रीको आक्रोशको पारो बढाउने गरी मैले भनेको छु— ९५ प्रतिशत अर्थशास्त्र ‘कमन सेन्स’ हो । यसलाई अप्ठेरो देखाउन विविध जार्गन, गणित र तथ्यांकशास्त्रको प्रयोग गरिएको छ । बाँकी पाँच प्रतिशत पनि राम्रोसँग बुझाउने हो भने मूलतः अर्थशास्त्र बुझ्न सकिन्छ ।

‘मानिस आधारभूत रूपमा स्वार्थी हुन्छ’ भन्ने विद्यमान प्रभुत्वशाली नवशास्त्रीय अर्थशास्त्रको मान्यताका कारण चरम आत्मकेन्द्रित व्यवहार सामान्यजस्तै भएको छ । परोपकारी भावमा काम गर्ने मानिसलाई या त शोषकका रूपमा वा अझै उच्चस्तरको स्वार्थी मनसायले काम गर्ने मान्छेको रूपमा व्व्याख्या गर्ने गरिन्छ । 

व्यवहारवादी वा संस्थागतवादी आर्थिक सिद्धान्तहरू प्रभावशाली भएका भए हामी मानव जातिमा जटिल प्रेरणाहरू छन्, जसमध्ये आत्मकेन्द्रित खोजीका धेरै प्रेरणामध्येको एक मात्र हो भन्ने विश्वास गर्ने थियौँ । यी र यस्ता विचारमा समाजका विविध बनोटले फरक–फरक प्रेरणा ल्याउन सक्छन् र मानिसको उत्प्रेरणालाई विभिन्न तरिकामा आकार दिन सक्छन् भन्ने कुरा बुझ्न हामीलाई अप्ठेरो हुने थिएन । 

अर्को शब्दमा भन्दा अर्थशास्त्रले मानिसले के कुरालाई सामान्य मान्छन् ? एकअर्कालाई कसरी हेर्छन् ? र, विद्यमान अवस्थामा लायक हुनका लागि कस्तो व्यवहार देखाउँछन् भन्ने कुरालाई समेत असर गर्छ ।

अर्थशास्त्रले अर्थतन्त्रको विकासको स्वरूप, हाम्रो दैनिकी र काममा प्रभाव पार्दै हामी को हौँ भन्ने कुरामै फरक पार्न सक्छ । फरक आर्थिक सिद्धान्तले विकासशील मुलुकले कसरी औद्योगिक नीति तय गर्ने भन्नेबारे फरक–फरक सुझाव दिन्छन् । फरक तरिकाको औद्योगिकीकरणले फरक तरिकाको समाज र व्यक्ति तयार पार्छ । जस्तै: कृषिप्रधान समाजको मान्छे र औद्योगिक समाजको मान्छेमा समयलाई कसरी लिने भन्ने धारणामै फरक हुन्छ । 

औद्योगिक समाजमा निश्चित समयमा हुने कामले मानिसको जीवनलाई घडीको समयको आधारमा व्यवस्थित गर्छ । औद्योगिकीकरणले ठुलो संख्यामा कामदार भेला गर्ने हुनाले ठुला मजदुर आन्दोलन हुने गर्छन् । यसले मानिसलाई खेतीपातीभन्दा थप फरक तरिकाले संगठित गर्ने र सहकार्य गर्नुपर्ने अवस्थामा लैजान्छ । यस्ता आन्दोलनले वामपन्थी राजनीतिक दलहरूको उदय गराउँछ, फलस्वरूप समतावादी नीतिहरू बन्न थाल्छन् । उद्योगहरू नहुँदा यस्ता पहलहरू कमजोर हुन्छन् । पछिल्ला केही दशकमा धेरै धनी राष्ट्रहरूमा यस्तो देखिएको छ ।

हामी थप यसो पनि भन्न सक्छौँँ, अर्थशास्त्रले हामी बाँचेको समाज कस्तो हुने भन्ने कुरामै प्रभाव पार्छ । पहिलो, व्यक्तिलाई फरक–फरक रूपमा लिएर फरक आर्थिक सिद्धान्तले समाज नै फरक–फरक बनाउँछन् । माथि उल्लेख गरेजस्तो आर्थिक नीतिले औद्योगिकीकरणलाई प्रोत्साहन गर्दै समाजलाई समतावादी बनाउनेतर्फ लैजान पनि सक्छन् । 

उदाहरणका लागि— मान्छे नितान्त आफ्नो स्वार्थले प्रेरित हुन्छ भन्ने सिद्धान्तले यस्तो समाजको निर्माण गर्छ, जहाँ सहकार्य असाध्यै अप्ठेरो हुन पुग्छ । दोस्रो, विभिन्न आर्थिक सिद्धान्तले ‘आर्थिक क्षेत्र’को सीमा कहाँसम्म हो भन्नेबारे फरक धारणा राख्छन् । यसरी कुनै आर्थिक सिद्धान्तले सबै आर्थिक गतिविधिको निजीकरणको पैरवी गर्छ भने यसमा आधारभूत कुराहरू स्वास्थ्य, शिक्षा, खानेपानी, सार्वजनिक यातायात, विद्युत्, आवास मात्रै निजीकरण हुँदैनन् । 

यसको तर्क यहाँसम्म पुग्छ कि यसले बजारको तर्क अघि सार्दै ‘एक व्यक्ति एक भोट’को सट्टा ‘एक डलर एक भोट’ ठिक हो भन्नेसम्म सिफारिस गर्न थाल्छ । 

अन्त्यमा, आर्थिक सिद्धान्तहरू आय र सम्पत्तिको असमानता वा आर्थिक अधिकार (श्रम र पुँजी, उपभोक्ता र उत्पादक)जस्ता आर्थिक चरहरूमा पनि फरक प्रभाव पार्ने गर्छन् । यस्ता चरहरूमा भएका फरकले समाजमा कुन स्तरको द्वन्द्व हुन्छ भन्ने विषय तय गर्छ । धेरै आय असमानता वा थोरै श्रमिक अधिकारले शक्तिशाली र कमजोरबिचका भिडन्त मात्रै सिर्जना गर्दैन, अझ थोरै उपलब्ध स्रोतको तानातानमा निम्न वर्गबिच पनि द्वन्द्व पैदा गर्छ ।

यसरी बुझ्दा अर्थशास्त्रले केवल आय, जागिर र पेन्सनको मात्रै कुरा नगरेर यसले कसरी हामीलाई आधारभूत रूपमै प्रभाव पार्छ भन्ने थाहा पाउन सक्छौँ । यसकारण प्रत्येक नागरिकले थोरै भए पनि अर्थशास्त्र सिक्न र बुझ्न धेरै महत्त्वपूर्ण छ । हामी हाम्रो अर्थतन्त्रलाई बहुसंख्यक मानिसको हितमा फेर्न चाहन्छौँ भने हाम्रो लोकतन्त्रलाई अझ प्रभावकारी बनाउन चाहन्छौँ भने र विश्वलाई हामी र हाम्रो आउँदो पुस्तालाई बाँच्न योग्य बनाउन चाहन्छौँ भने हामीले अर्थशास्त्रको आधारभूत साक्षरता अनिवार्य रूपमा हासिल गर्दै जानुपर्छ ।

सन् २००७–०८ को विश्वव्यापी वित्तीय संकट र त्यसपछिका आर्थिक अड्चन तथा ध्रुवीकरणले हामीलाई निर्मम शिक्षा दिएका छन् कि हामी अर्थतन्त्रको जिम्मा अर्थविद् वा ‘टेक्नोक्रयाट’लाई मात्र दिएर ढुक्कले बस्न सक्दैनौँ । हामी सबैले सक्रिय नागरिकका रूपमा यसको व्यवस्थापनमा संलग्न हुन आवश्यक हुन्छ ।

पक्कै पनि, यहाँ ‘हुनुपर्छ’ र ‘हुन सक्छ’ छन् । हामी धेरैजसो मानिस हाम्रा दैनन्दिन जीवनका झिनाझप्टी र संघर्षले शारीरिक र मानसिक रूपमै थकित भएका हुन्छौँ । सक्रिय आर्थिक नागरिक बन्न आवश्यक अर्थशास्त्रको सिकाइ र अर्थतन्त्रमा दिनुपर्ने ध्यान हाम्रा लागि मुस्किल कामजस्तो देखिन सक्छ ।

तर, यस्ता प्रयास तपाईंले सोचेभन्दा सहज छन् । अर्थशास्त्र धेरै अर्थशास्त्रीले तपाईंलाई विश्वास दिलाउन खोजेजस्तो दुरुह विषय होइन । त्योभन्दा धेरै सजिलो छ । मैले मेरो पुस्तक ‘ट्वेन्टी थ्री थिङ्स दे डन्ट टेल यु अबाउट क्यापिटलिजम्’ (२०१०) मा धेरै मेरा समकक्षी अर्थशास्त्रीको आक्रोशको पारो बढाउने गरी भनेको छु— ९५ प्रतिशत अर्थशास्त्र ‘कमन सेन्स’ हो । यसलाई अप्ठेरो देखाउन विविध जार्गन, गणित र तथ्यांकशास्त्रको प्रयोग गरिएको छ । बाँकी पाँच प्रतिशत पनि राम्रोसँग बुझाउने हो भने मूलतः अर्थशास्त्र बुझ्न सकिन्छ । हो, केही प्राविधिक सन्दर्भ अप्ठेरा हुन सक्छन् ।

एकपटक तपाईंले अर्थतन्त्रले कसरी काम गर्छ भन्ने आधारभूत कुरा ठम्याउनुभयो भने के भइरहेको छ भन्ने बुझ्न धेरै समय र ध्यान खर्चिनुपर्दैन । साइकल चलाउन सिक्ने, नयाँ भाषा सिक्ने वा तपाईंको नयाँ कम्युटर चलाउन सिकेजस्तै सक्रिय आर्थिक नागरिक बन्ने काम सुरुवाती असहजताका बाबजुद अभ्यास गर्दै जाँदा सजिलो हुँदै जान्छ ।

यो काम तपाईंले छुट्टै गर्नुपर्ने पनि होइन । जागिर, महँगी, बैंकिङ संकटजस्ता दैनिक जीवनका सन्दर्भमा परिवार र साथीभाइसँग कुराकानी र छलफल बढाउँदै जाँदा तपाईंको ज्ञानको दायरा र तर्क बढ्दै जान्छ । आजभोलि धेरै अभियन्ता पनि उपलब्ध छन्, जसले अनलाइन वा अन्य विविध तरिकाले सर्वसाधारणलाई आर्थिक शिक्षा प्रदान गर्ने गर्छन् ।

आममान्छेले अर्थशास्त्रबारे जान्न र चिन्तन गर्ने प्रयासलाई थप रुचिकर र आनन्ददायी बनाउने उद्देश्यले मैले खानेकुराका कथा र अर्थशास्त्रलाई जोडेर ‘इडिबल इकोनोमिक्सः अ हङ्ग्री इकोनोमिस्ट एक्स्प्लेन्स द वल्र्ड’ नामको किताब निकालेको छु । पढेर आनन्द लिनुहोला भन्ने आग्रह गर्छु ।

एअनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हा जुन चाङ
हा जुन चाङ
लेखकबाट थप