मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

पुष्पकमललाई ‘प्रचण्ड’ मोह : ‘प्रचण्ड पथ’बारे के भन्छन् माओवादी नेता ?

मङ्गलबार, २२ असोज २०८१, १६ : २२
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रभित्र ‘प्रचण्ड पथ’ राख्ने कि नराख्ने भन्नेबारे बेलाबेला बहस हुने गरेको छ । २०६५ साल पुसमा बसेको तत्कालीन नेकपा माओवादी र नेकपा एकता केन्द्रको संयुक्त केन्द्रीय समिति बैठकले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा प्रचण्डपथ नराख्ने निर्णय गरेपछि यसको पक्ष/विपक्षमा थुप्रै बहस भएका छन् ।

प्रचण्डपक्षीय नेताहरूले ‘प्रचण्ड पथ’ फेरि बिउँताउनुपर्ने मत राख्दै आएका छन् । खासगरी एकता प्रक्रियामा जोडिएका नारायणकाजी पक्षधर नेताहरूले मार्क्सवाद, लेनिनवाद र माओवाद मार्गदर्शक सिद्धान्त अँगालिसकेपछि प्रचण्ड पथको औचित्य समाप्त भइसकेको तर्क गर्दै आएका छन् । केही नेताले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा राजनैतिक, सैद्धान्तिक र वैचारिक विचलन आएकाले नामको पछाडि ‘प्रचण्ड’ राख्न पनि आवश्यक नभएको बताउँदै आएका छन् ।

केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा आफूलाई ‘पुष्पकमल दाहाल’ मात्र भनेर सम्बोधन गरेकोमा प्रचण्डले आपत्ति जनाएका थिए । उनले दलाल पुँजीवादहरूले माओवादी आन्दोलनबाट स्थापित भएको ‘प्रचण्ड’ नाम नै सुन्न नचाहेको आरोप लगाएका थिए । ‘प्रचण्ड’ नामबाट मिडियासमेत पूर्वाग्रही भएको उनले गुनासो पोखेका थिए ।

२०३८ सालमा भूमिगत भएका प्रचण्डको सुरूमा कल्याण, निर्माण र विश्वास उपनाम थियो । ०५२ सालमा प्रचण्ड नाम राखेर उनले जनयुद्धको नेतृत्व गरेका थिए । उनले आफ्नो मनपर्ने नाम प्रचण्ड भएको बताउने गरेका छन् । खासमा ०५२ देखि ०६५ को अवधिलाई उनले प्रचण्ड अवधिका रूपमा परिभाषित गरेका छन् । वर्ग सङ्घर्षको लक्ष्य पूरा नभएसम्म प्रचण्ड नाम कायमै रहने उनले विभिन्न अन्तर्वार्तामा स्पष्ट पार्दै आएका छन् ।

०६२ सालमा सार्वजनिक भएपछि प्रचण्डले पहिलोपटक यसबारे एक अन्तर्वार्तामा विश्लेषण गरेका थिए । पुष्पकमलसँग सम्बन्ध काट्ने विषयमा आफूले कहिल्यै नभनेको तर राजनीतिमा सचेत भएर लागेपछि प्रचण्ड बनेको उनले बताएका थिए ।

‘हाम्रो परम्पराअनुसार मेरो न्वारनको नाम घनश्याम हो । मेट्रिक दिनेबेला म पुष्पकमल भएँ । पार्टीमा लागेर राजनीतिक रूपमा सचेत भइसकेपछि म प्रचण्ड भएँ । नाम मुख्य कुरा होइन । उसको विचार, आचरण, उसको संस्कार प्रमुख कुरा हो भन्ने लाग्छ । तैपनि सार र रुपमा कहीँ न कहीँ तालमेल भयो भने त्यो सुन्दर लाग्छ’, त्यतिबेला प्रचण्डले आफ्नो नामबारे विश्लेषण गरेका थिए ।

उनले अगाडि भनेका थिए, ‘पुष्पकमललाई हेर्नुभयो भने सौन्दर्य शास्त्री छ । अलिकति आदर्शवाद जस्तो पनि देखिन्छ । र, नेपाली समाज जुन प्रक्रियाबाट गुज्रिराखेको छ, यो प्रक्रिया पुष्पकमलबाट गुज्रिराखेको छैन । प्रचण्ड भएर गुज्रिराखेको छ । त्यो प्रचण्ड अवधि भएकाले सायद मलाई मन परेको हो । प्रचण्ड अवधि पूरा भइसकेपछि सायद शान्तिपूर्ण नाम राख्नुपर्ने अवस्था आउन पनि सक्छ ।’

प्रचण्ड र प्रचण्ड पथबारे माओवादीमा मतभेद

माओवादीका केन्द्रीय सदस्य एवं प्रेस सेन्टरका सहइन्चार्ज महेश्वर दाहालले त पुष्पकमल दाहालको नामको पछाडि रहेको ‘प्रचण्ड’  हटाउनु उपयुक्त हुने धारणा राखेका छन् । प्रचण्डले प्रचण्ड पथको निर्माणमा नेतृत्व गरेको तर अहिलेको खण्डित अवस्थाले यो नामको गौरवमा आँच ल्याएको उनको तर्क छ ।

‘पुष्पकमल दाहालले प्रचण्ड पथको निर्माणमा नेतृत्व गर्नुभयो तर आजको खण्डित अवस्थाले यो नामको गौरवमा आँच ल्याएको छ । मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा र सीपी गजुरेलले प्रचण्ड पथको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो,’ दाहालले भने, ‘हजारौँ सहिद, लाखौँ युवाको त्याग र बलिदानीपूर्ण सङ्घर्षसँगै यो नाम निर्माण भएको हो । नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रसँगको एकताका समयमा प्रचण्डपथ स्थगन भयो, योसँगै नाम पनि स्थगन गरेको भए राम्रो हुन्थ्यो ।’

दाहालले पार्टी र नेतृत्व वैधानिक प्रक्रियामा आइसकेको अवस्थामा प्रचण्ड नाम राख्न उपयुक्त नहुने तर्क गरे । प्रचण्ड पथसँगै प्रचण्ड नामलाई पनि स्थगित गर्दा समग्र माओवादी आन्दोलनलाई फाइदा पुग्ने दाहालको विश्वास छ ।

उनले भने– प्रधानमन्त्री बनिसक्नु भएकाले पुष्पकमल दाहाल लेख्नैपर्ने भएपछि प्रचण्ड पनि थपेर लामो नामको आवश्यकता किन ? लेख्नै मन लागे उहाँको पुरानो नाम ‘विश्वास’ पनि राम्रै छ । प्रचण्ड पथसँगै प्रचण्डलाई सम्मानपूर्वक स्थगित गर्दा समग्र माओवादी आन्दोलनमा यो नाम गौरव मानिन्छ । यसले पुष्पकमललाई पनि राम्रै गर्छ ।

फेरि माओवादी आन्दोलनको सही पुनर्गठन हुनसक्यो वा नाममा हिजोजस्तै गर्व बन्ने अवस्था बन्यो वा भुइँमान्छेलाई यो नामबाट जारी भएको अपिलमा फेरि त्याग र बलिदानीपूर्ण सङ्घर्षमा जान जागृत गर्ने अवस्था आयो भने राख्नु उत्तम हुने उनले सुझाव दिए ।

तर माओवादीका सचिव दीनानाथ शर्माले अबको समाजवादी आन्दोलनको नेतृत्व प्रचण्डको नेतृत्वमै हुने सम्भावना देखिएकाले तत्कालै विकल्पमा जान सक्ने अवस्था नभएको तर्क गरे । एमाले लगायत वामपन्थी शक्तिहरू यथास्थितिवादबाट बाहिर जान नसक्ने अवस्था रहेको र माओवादीभित्रै उत्तराधिकारी तयार भइनसकेको अवस्थामा प्रचण्ड बाहेक अन्य विकल्प नदेखिएको शर्माले स्पष्ट पारे ।

पार्टीभित्र विचारको संश्लेषण र नेतृत्वको केन्द्रीकरण गर्ने उद्देश्यले प्रचण्ड पथ ल्याइएको शर्माले स्मरण गरे । पार्टीले स्थापित गरेको प्रचण्डलाई कसैको लहड वा चाहनामा विस्थापित गर्न नसक्ने उनले बताए ।

‘पार्टीभित्र लामो बहस र छलफलपछि ०५७ सालमा विचारको संश्लेषण र नेतृत्वको केन्द्रीकरण गर्न प्रचण्ड पथ स्थापित गरेको हो । आगामी समाजवादी क्रान्तिको नेतृत्व पनि उहाँ(बाहेक) किरण, बाबुराम, विप्लव वा अन्यले गर्न सक्ने म देख्दिनँ । निर्विकल्प प्रचण्ड नै हुन् । पार्टीले स्थापित गरेको नाम कसैको लहड वा चाहनामा विस्थापित हुने होइन । यो युग, परिस्थिति अनुसार जन्मिने विषय हुन्’, शर्माले भने ।

प्रचण्ड पथबारे वरिष्ठ नेता नारायणकाजी पक्षधर नेताहरूले यो विषय पहिले नै टुङ्गिसकेकाले बहस गर्नु आवश्यक नभएको बताएका छन् । उपमहासचिव गिरिराजमणि पोखरेलले ०६९ मा हेटौंडामा भएको सातौँ महाधिवेशनले नै माओवाद, माओ विचारधारा र प्रचण्ड पथबारे फैसला गरेको दाबी गरे । महाधिवेशनले माओ विचारधारा खारेज गरी पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद अङ्गीकार गरी प्रचण्ड पथ स्थगित गरेको उनले सुनाए ।

‘हेटौंडा महाधिवेशनले पार्टीको मार्गदर्शक सिद्धान्त माओ विचारधारा खारेज गरी माओवाद राख्ने निर्णय गरिसकेको छ । प्रचण्ड पथबारे हामीसँग भन्दा पनि तत्कालीन माओवादीका नेताहरूसँग कुरा गर्दा राम्रो होला । एकतापछि हामीले पार्टी छोडेका पनि छैनौँ । कुनै सैद्धान्तिक मतभेद देखिएको पनि छैन । एउटै पार्टीमा भएपछि यसमा बहस गर्नु उपयुक्त छैन’, उनले भने ।

सचिव लीलामणि पोखरेलले त्यतिबेला माओवादको पक्षमा नेकपा माओवादी र माओ विचारधाराको पक्षमा नेकपा एकता केन्द्र रहेको स्पष्ट पारे । २०६५ पुसमा बसेको संयुक्त केन्द्रीय समिति बैठकले माओवाद र माओविचार धारा एकता महाधिवेशनबाट टुङ्ग्याउने र प्रचण्ड पथ तत्कालका लागि स्थगित गर्ने निर्णय भएको उनले बताए । सोही निर्णय बमोजिम पार्टीको सातौँ महाधिवेशनले निर्णय गरिसकेको उनले स्पष्ट पारे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीपी गजुरेलले प्रचण्ड पथ पार्टीले स्थापित गरेको मार्गदर्शक भएकाले फेरि बिउँताउने वा नबिउँताउने भन्नेमा प्रमुख हकदार प्रचण्ड नै भएको मत राखे । उनले नामको पछाडि प्रचण्ड राख्ने कि नराख्ने विषयलाई मुद्दा बनाउन आवश्यक नभएको तर्क गरे ।

‘एकता केन्द्रसँग पार्टी एक भएपछि नारायणकाजी श्रेष्ठले प्रचण्डपथ अहिले नराखौँ भन्नुभयो । उहाँकै प्रस्तावमा एकतापछि प्रचण्ड पथ छोडेको हो । जहाँसम्म नामको पछाडि प्रचण्ड राख्ने विषयलाई ठुलो इस्यु बनाउन आवश्यक छैन । युद्धमा सहभागी सबैले उपनाम राखेकै हो,’ गजुरेलले भने, ‘प्रचण्ड स्थापित गराएको पार्टीले हो । प्रचण्ड पथ छोड्ने वा नछोड्ने आधिकारिक व्यक्ति प्रचण्ड नै हुन् ।’

०५७ सालमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले दूरगामी महत्त्वका निर्णय भएको नेपाल समाजवादी पार्टीका नेता विष्णुहरि शर्माले दाबी गरे । त्यतिबेला विचारको संश्लेषणसहित प्रचण्ड पथ स्थापित गरेको उनले स्मरण गरे । जनयुद्धको बेला प्रचण्डले कुशल नेतृत्व गरेकाले शान्ति प्रक्रियामा आएपछि उक्त पदवी राख्ने वा नराख्ने बहसको विषय भएको शर्माले बताए ।

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा ०५७ सालको दोस्रो राष्ट्रिय सम्मलेनले उथलपुथल र चर्को बहस ल्यायो । यो  सम्मेलनले विचार संश्लेषण गरी पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्ड पथको रूपमा ग्रहण गर्‍यो । शान्ति प्रक्रियामा आएपछि त्यो ओज प्रचण्डले गुमाइसकेका छन्’, उनले भने ।

bishnu sharma

किन राखियो प्रचण्ड पथ ?  

०५१ सालमा दीर्घकालीन जनयुद्धमा जाने कि नजाने विषयमा तत्कालीन नेकपा एकता केन्द्रभित्र तीव्र मतभेद देखियो । अहिलेका नारायणकाली समूह दीर्घकालीन जनयुद्धको विपक्षमा उभिए । प्रचण्ड, किरण, बाबुराम, बादल लगायत मूल नेतृत्व दीर्घकालीन जनयुद्धको पक्षमा उभियो । अन्ततः पार्टी विभाजन भयो । प्रचण्डसहितको मूल नेतृत्व ०५२ सालदेखि सशस्त्र विद्रोहमा होमियो । माओवादी विद्रोहले क्रान्तिकारी अन्तर्राष्ट्रिय संगठन(रिम)ले मान्यता दिएको थियो ।

ग्रागीण उत्पीडित श्रमिक, महिला, मधेसी, जनजाति, मुस्लिम, किसान वर्गहरूले साथ दिएको थियो । प्रचण्डको नेतृत्वमा जनयुद्धले देशभर गुणात्मक फट्को मारेपछि ०५५ सालमा बसेको पार्टीको विस्तारित बैठकमा विचारको संश्लेषण, दुई लाइन सङ्घर्ष र नेतृत्वको केन्द्रीकरणको विषयमा बहस भएको थियो ।

विस्तारित बैठक सबै हिसाबले महत्त्वपूर्ण रहेको माओवादी नेताहरूको दाबी छ । वर्गसङ्घर्ष र दुई लाइन सङ्घर्षको आवश्यकताले नेतृत्वको केन्द्रीकरण र स्थापना प्रक्रियाबारे गम्भीर रूपले सोच्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यतिबेला ६ वटा शीर्षकमा छलफल गरी महत्त्वपूर्ण निर्णय लिएको थियो ।

१.वर्तमान परिस्थितिका केही मुलभूत विशेषताहरू

२. पार्टी इतिहाससँग सम्बन्धित केही कुराहरू

३. ऐतिहासिक पहलदेखि तेस्रो योजनासम्म जनयुद्धको संक्षिप्त सिंहावलोकन

४. जनयुद्धको अनुभव र केही महत्त्वपूर्ण प्रश्नहरू

५. दुई लाइन सङ्घर्ष र पार्टी शुद्धीकरणको प्रश्न

६. नयाँ चरण र नयाँ योजना

२०५७ माघ २६ देखि फागुन १ गते सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा पार्टीको पथ प्रदर्शक विचारको रुपमा ‘मार्क्सवाद–लेनिनवाद–माओवाद र प्रचण्ड पथ’ सम्बन्धी प्रस्ताव अनुमोदन गरेको थियो । यसैअनुसार आफ्ना वैचारिक–राजनैतिक, सांगठनिक र फौजी कारबाही सञ्चालन गरेको थियो ।

यद्यपि प्रचण्ड पथ राख्ने कि नराख्ने विषयमा व्यापक बहस भएको माओवादी नेताहरूले बताएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता गजुरेलले प्रचण्डबाटै उक्त प्रस्ताव आएको दाबी गरे । प्रचण्डको प्रस्तावमा बाबुराम र बादल मौन बसेको उनले जिकिर गरे । यद्यपि आफूले विरोध गरेको गजुरेलले दाबी गरे ।

त्यतिबेलाको कुरा स्मरण गर्दै उनले भने, ‘नेपालमा प्रचण्ड पथ भन्ने बेलै भएको छैन । भर्खर जनयुद्ध सुरू गरेका छौँ । प्रयोग गरेर गुणात्मक विकास हुनुपर्‍यो । त्यस्तो गुणात्मक विकास अहिले केही देखिने बेलै भएको छैन । त्यसकारण अहिले हतार गर्न हुँदैन भन्ने मेरो मत थियो । म प्रचण्ड पथको विपक्षमा उभिएको प्रचण्डलाई राम्रोसँग थाहा थियो ।’

तर माओवादी केन्द्रका सचिव शर्माले विचार संश्लेषण र नेतृत्व स्थापित गर्ने उद्देश्यकासाथ प्रस्ताव आएको दाबी गरे । नेपालको जनयुद्ध रुसको जस्तो पनि नभएको र चीनको जस्तो पनि नभएकाले विश्वमाझ मौलिक विचार स्थापित गर्न प्रचण्ड पथ ल्याइएको उनको तर्क छ ।

तथापि त्यतिबेला यसबारे तीन लाइन सङ्घर्ष देखिएको उनले बताए । शर्माका अनुसार यानप्रसाद गौतम आलोक प्रवृत्तिका नेताहरूले प्रचण्डवाद नै राख्नुपर्ने मत राखेका थिए । बाबुराम पक्षले प्रचण्ड विचारधारा राख्नुपर्ने मत राखेका थिए । सीपी गजुरेल लगायतले प्रचण्डको नाममा कुनै फुर्को जोड्न आवश्यक नभएको मत राखेका थिए ।

प्रचण्ड आफैँले जनयुद्धको संश्लेषण गर्दा ‘गाइडिङ एक्पिरेन्स अफ नेप्लिज रिभोलुसन’ अर्थात् नेपाली क्रान्तिको मार्गनिर्देशक अनुभवका आधारमा प्रचण्ड पथ राख्नुपर्ने विचार राखेका थिए ।  

‘त्यतिबेला शब्दावली के राख्ने सम्बन्धमा अन्योल भएको थियो । प्रचण्ड आफैँ अन्योलमा थिए । छलफल हुँदै जाँदा प्रचण्ड पथ आयो । अन्तिममा प्रचण्ड पथ सर्वसम्मत भयो । त्यसलाई दोस्रो राष्ट्रिय सम्मलेनले एकमतले पारित गर्‍यो’, शर्माले भने ।

नेपाली क्रान्तिलाई विश्वमाझ स्थापित गर्न प्रचण्ड पथमा जानु परेको उनले सुनाए । ‘जनयुद्धमा मूल नेता को हो भन्ने छुट्टिएको थिएन । किरण, बाबुराम, बादलले आफूलाई मूल नेता भएको दाबी गरिरहेका थिए,’ उनले भने, ‘०५७ सालको दस्तावेज ऐतिहासिक र दूरगामी महत्त्वको छ । लाइन अफ लिडरशिपलाई केन्द्रित गर्न विचार संश्लेषण गर्नुपर्छ भन्ने बहसका साथ प्रचण्ड पथ स्थापित भएको हो । यसलाई अब हटाएर वा मेटाएर मेटिँदैन ।’

प्रचण्डको राजनीतिक यात्रा

कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको समूहबाट ०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनेर प्रचण्डको राजनीतिक यात्रा प्रारम्भ भएको थियो । ०३४ सालमा उनी निर्मल लामा र मोहनविक्रम सिंहहरूले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन समूह) मा प्रवेश गरे ।

सुरुमा शिक्षण पेसासँगै राजनीतिमा हात हालेका प्रचण्ड ०३५ सालमा पूर्णकालीन कार्यकर्ता (होलटाइमर) बने । त्यसपछि ०३६ सालमा चितवन जिल्ला कमिटी सदस्य हुँदै ०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय महासचिव भए । ०४० सालमा युवक संघको केन्द्रीय अध्यक्ष बने ।

पार्टीगत राजनीतिमा प्रचण्ड ०४१ सालमा नेकपा मशालको केन्द्रीय सदस्यमा निर्वाचित भए । ०४३ सालमा उनी पोलिटब्युरो सदस्य थिए । ०४५ सालमा सेक्टरकाण्ड असफल भएसँगै महामन्त्री वैद्यले राजीनामा दिएपछि उनी महामन्त्री बने । ०४८ सालमा उनी नेकपा एकता केन्द्रको महामन्त्रीमा निर्वाचित भए । ०५१ सालमा एकता केन्द्रको नाम फेरेर नेकपा माओवादी राखियो । ०५२ सालदेखि माओवादी पार्टीले प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरू गर्‍यो । ०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट महामन्त्री प्रचण्ड पार्टीको अध्यक्ष बने ।

प्रचण्ड ०५८ सालमा जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर बने । ०६२ साल मंसिरमा रुकुमको चुनवाङ बैठकले सात राजनीतिक दलसँग सम्झौता गर्ने निर्णय गर्‍यो । १२ बुँदे शान्ति सम्झौताको बलमा ०६२/६३ सालमा जनआन्दोलन सफल भएपछि ०६३ असार २ गते उनी बालुवाटारबाट सार्वजनिक भए । प्रचण्ड ०६५ साल साउनमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । उनी ०६९ मा हेटौंडामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशन र ०७८ मा काठमाडौँमा भएको आठौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रचण्ड ०७३ र ०७९ मा प्रधानमन्त्री भएका थिए । विशेष महाधिवेशनमा जानुअघि उनले समाजवादी कार्यदिशालाई थप व्याख्या गर्ने तयारी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप