बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
फिल्म

दसैँमा डिजिटल प्लेटफर्म : हिट र फ्लप फिल्मले भरिभराउ

मङ्गलबार, २२ असोज २०८१, २१ : ००
मङ्गलबार, २२ असोज २०८१

काठमाडौंँ । अचेल फिल्म हेर्न हलमा पुग्नुपर्छ भन्ने छैन । विश्वमा विकास भएका विभिन्न डिजिटल प्लेटफर्मले घरमै बसेर फिल्म हेर्न सुविधा उपलब्ध गराएको छ । विश्वबजार नियाल्ने हो भने नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभ, युट्युब लगायतका अनगिन्ती ‘ओभर दि टप’ (ओटीटी) प्लेटफर्म चल्तीमा छन् ।

यस्ता प्लेटफर्मबाट संसारभर जुनै कुनामा निर्माण भएका फिल्म पनि घरमै बसेर हेर्न सकिन्छ । विकसित मुलुकको तुलनामा नेपालमा ओटीटी प्लेटफर्म धेरै नभए पनि युट्युब, डिसहोम, सिनेमाघर, कान्तिपुर सिनेमाज, नेट टीभी, भिडियो पसल लगायत भित्रिएका छन् । जसबाट घरमै बसेर नेपाली फिल्म हेर्न सकिन्छ ।

यस्ता डिजिटल प्लेटफर्ममा विभिन्न चाडपर्व लक्षित गर्दै विशेष फिल्म उपलब्ध हुँदै आएका छन् । नेपालमा डिजिटल प्लेटफर्म दर्शकका लागि निःशुल्क र सशुल्क दुई प्रकारमा छन् । निःशुल्क युट्युब हुन् भने सशुल्क अन्य धेरै छन् । जसमा थोरै पैसा तिरेर परिवारले नै फिल्म हेर्न सकिन्छ ।

दसैँ नै लक्षित गरेर डिजिटल प्लेटफर्ममा करिब दर्जन हाराहारीका फिल्म हुँदैछन् । जसमा ‘नाङ्गो गाउँ’, ‘पर्खी बसेँ तिमीलाई’, ‘म’, ‘मसँग मन’, ‘सरौटो’, ‘घर ज्वाइँ’, ‘दान्भी’, ‘दिमाग खराब’, ‘बोक्सीको घर’, ‘फर्की फर्की’, ‘पूजार सार्की’, ‘झिँगे दाउ’ लगायत छन् ।

कसले के ल्याउँदै ?

बुढासुब्बा डिजिटलले यो वर्ष दसैँका लागि भनेर युट्युबमा  तीन फिल्म ‘नाङ्गो गाउँ’, ‘पर्खी बसेँ तिमीलाई’ र ‘म’ सार्वजनिक गर्दैछ । तीमध्ये ‘नाङ्गो गाउँ’ केही दिन अगाडि ल्याइसकेको छ । ‘पर्खी बसेँ’ बिहीबार आएको छ भने ‘म’ छिटै सार्वजनिक हुने जनाएको छ ।

हाइलाइट नेपालले दसैँका लागि ‘मनसँग मन’ र ‘सरौटो’ युट्युबमा सार्वजनिक गर्दैछ । कान्तिपुर सिनेमाज्ले पनि ‘घर ज्वाइँ’ फिल्म ल्याउने तयारी गरेको छ । यो फिल्म केही अगाडिमात्र रिलिज भएको हो ।

त्यस्तै, सिनेमाघर एपले पनि यो दसैँ र तिहारमा गरेर ४ फिल्म ‘बोक्सीको घर’, ‘दिमाग खराब’, ‘फर्की फर्की’ र ‘पूजार सार्की’ ल्याउने तयारी गरेको छ । कुन फिल्म दसैँमा र कुन तिहारमा ल्याउने भन्ने केही दिनमा टुङ्गो लाग्ने सिनेमाघर एपका सागर खरेलले बताए ।

ओएसआर डिजिटलले दसैँका लागि भनेर युट्युबमा यो वर्ष कुनै फिल्म नल्याउने भएको छ । तर ओटीटी एनटी टीभीमा फिल्म ‘झिँगे दाउ’ र नेट टीभीमा ‘दिमाग खराब’ ल्याउँदैछ । डिस होममा केही न केही फिल्म आउने ओएसआर डिजिटलका रुपेन्द्र खड्गीले बताए ।

दसैँ लक्षित गरी डिजिटल प्लेटफर्ममा आउन लागेका सबै फिल्म यसअघि नै हलमा प्रदर्शनमा आइसकेका छन् । तीमध्ये केही व्यावसायिक रूपमा सफल रहेका छन् भने केही असफल भए ।

बुढासुब्बा डिजिटलको दसैँ लक्षित गरी प्रदर्शन गर्ने ‘नाङ्गो गाउँ’, ‘पर्खी बसेँ तिमीलाई’, ‘म’मध्ये ‘नाङ्गो गाउँ’ स्टार कलाकारले भरिएको हिट फिल्म हो । दीपेन्द्र लामा निर्देशित फिल्म एक इमानदार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथामा छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ ।

‘म’का निर्देशक सुवर्ण थापा हुन् । फिल्ममा निराजन प्रधान, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारीको अभिनय छ ।

‘पर्खी बसेँ तिमीलाई’ दीपक श्रेष्ठ निर्देशित फिल्म हो । त्रिकोणात्मक प्रेमकथामा बनेको यो फिल्मको मुख्य भूमिकामा कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकी छन् ।

हाइलाइट नेपालले दसैँका लागि छोड्न लागको ‘मनसँग मन’ र ‘सरौटो’ दुवै व्यावसायिक रूपमा असफल फिल्म हो । ‘मनसँग मन’ प्रेमकथामा बनेको कैलाश राई निर्देशित फिल्म हो । फिल्ममा पुष्प खड्का र वर्षा शिवाकोटीको मुख्य भूमिका छ ।

‘सरौटो’ पनि प्रेमकथामा बनेको फिल्म हो । हरि हुमागाईं निर्देशित फिल्ममा सुमीका मोक्तान र सन्नी सिंहको मुख्य भूमिका छ ।

कान्तिपुर सिनेमाज्ले ल्याउने ‘घर ज्वाइँ’ दयाहाङ राई, मिरुना मगर अभिनित हिट फिल्म हो । फिल्मका निर्देशक अनिल बुढामगर हुन् ।

सिनेमाघर एपले ल्याउने तयारी गरेको फिल्म ‘बोक्सीको घर’, ‘दिमाग खराब’, ‘फर्की फर्की’ र ‘पूजार सार्की’ सबै हिट फिल्ममा पर्छन् । प्रेमकथा, हरर र सामाजिक विषयमा बनेका यी ४ फिल्म अनमोल केसी, प्रदीप खड्का, दयाहाङ राई लगायत स्टार कलाकारका हुन् ।

त्यस्तै ओटीटी एनटी टीभी ल्याउने ‘झिँगे दाउ’ पनि हिट फिल्म हो । ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगे दाउ’मा आँचल शर्मा, केकी अधिकारी, मुकुन भुषालको मुख्य भूमिका छ ।  फिल्म पारिवारिक कथामा बनेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप