मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकप

६ पटकको च्याम्पियन अस्ट्रेलियालाई उत्साही न्युजिल्यान्डको चुनौती

मङ्गलबार, २२ असोज २०८१, ११ : ०४
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा मंगलबार साबिक विजेता अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्दैछ । अस्ट्रेलिया र न्युजिल्यान्डबिचको खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका अस्ट्रेलिया र न्युजिल्यान्डले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएको थियो ।

न्युजिल्यान्डले भने आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई ५८ रनले पराजित गरेको थियो । तालिकामा दुई अंकसहित न्युजिल्यान्ड पहिलो र समान अंक जोडेको अस्ट्रेलिया दोस्रो स्थानमा छन् । दुई खेलबाट दुई अंक जोडेको पाकिस्तान तेस्रो र समान खेलबाट समान अंक बटुलेको भारत चौथो स्थानमा रहेका छन् । पाँचौँ स्थानमा आसीन श्रीलंका भने आफ्नो दुवै खेलमा पराजित भएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । अस्ट्रेलिया टी–२० महिला विश्वकपको सर्वाधिक सफल राष्ट्र हो । न्युजिल्यान्डले भने दुईपटक फाइनलमा पुगेर पनि उपाधि चुम्न सकेको छैन ।

आईसीसी महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले एकछत्र राज गर्दै आएको छ । अस्ट्रेलियाले हालसम्म ६ पटक टी–२० महिला विश्वकपको उपाधि उचालिसकेको छ । अस्ट्रेलियन टोलीले सन् २०१० (दोस्रो संस्करण) मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई तीन रनले हराएको थियो ।

यसैगरी, सन् २०१२ मा पनि अस्ट्रेलिया च्याम्पियन बनेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई चार रनले हराएको थियो । सन् २०१४ को उपाधि पनि अस्ट्रेलियाले नै चुमेको थियो । अस्ट्रेलियाले फाइनलमा इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै उपाधिमा ह्याट्रिक गरेको थियो ।

यसैगरी, अस्ट्रेलियाले सन् २०१८ मा चौथो पटक उपाधि उचालेको थियो । त्यतिबेला पनि फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई नै आठ विकेटले पराजित गरेको थियो । अस्ट्रेलियाले सन् २०२० मा पाँचौँ पटक उपाधि चुमेको थियो । फाइनलमा अस्ट्रेलियाले भारतलाई ८५ रनले हराएको थियो ।

यसैगरी, अस्ट्रेलियाले सन् २०२३ मा छैटौँ पटक उपाधिमाथि कब्जा जमाएको थियो । त्यतिबेला अस्ट्रेलियाले फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै उपाधिमा दोस्रो पटक ह्याट्रिक गरेको थियो । त्यसैले अस्ट्रेलिया टी–२० महिला विश्वकपको साबिक विजेता पनि हो ।

अर्कोतिर, न्युजिल्यान्डको टोली सन् २००९ मा सम्पन्न पहिलो र सन् २०१० मा सम्पन्न दोस्रो संस्करणको फाइनलमा पुगेर पनि पराजित भएको थियो । सन् २००९ को विश्वकपको फाइनलमा घरेलु टोली इङ्गल्यान्डले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

त्यसपछि सन् २०१० मा सम्पन्न विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । महिला टी–२० विश्वकपको इतिहासमा सबैभन्दा कम अन्तरको जितको कीर्तिमान पनि त्यही खेलले बनाएको छ ।

त्यसयता न्युजिल्यान्ड फाइनलसम्म पनि पुग्न सकेको छैन । अस्ट्रेलिया र इङ्ल्यान्डका अतिरिक्त वेस्ट इन्डिजले पनि एकपटक महिला टी–२० विश्वकपको उपाधि उचालेको छ । वेस्ट इन्डिजले सन् २०१६ मा भारतमा आयोजित पाँचौँ संस्करणको उपाधि चुमेको थियो । त्यो विश्वकपको फाइनलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई आठ विकेटले हराउँदै पहिलो पटक उपाधिमाथि कब्जा जमाएको थियो ।

यस पटकको महिला विश्वकपमा अस्ट्रेलियन टोली एलिसा जिन हेलीको कप्तानीमा रहेको छ । ३४ वर्षीया अनुभवी खेलाडी हेली टोलीकी प्रभावशाली ब्याटर पनि हुन् । उनले अस्ट्रेलियाका लागि टेस्ट, एक दिवसीय अन्तर्राष्ट्रिय र टी–२० गरी तीनवटै ढाँचाको प्रतियोगितामा अब्बल प्रदर्शन गरेकी छन् । ताहलिया म्याकग्रा अस्ट्रेलियन टोलीकी उपकप्तान हुन् ।

यसैगरी, न्युजिल्यान्डको टोली यसपटक सोफी डेभिनको कप्तानीमा रहेको छ । ३५ वर्षीया सोफी टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले देशका लागि एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् ।

टेस्ट क्रिकेटमा भने उनले हालसम्म ‘डेब्यू’ गरेकी छैनन् । दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले सतक बनाएकी छन् । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा एक सय एक र टी–२० अन्तर्राष्ट्रियमा एक सय १७ विकेट पनि लिइसकेकी छन् ।

पछिल्लो समय न्युजिल्यान्डको टोली लयमा पनि देखिएको छ । जारी विश्वकपमै पनि आफ्नो पहिलो खेलमा भारतजस्तो बलियो प्रतिद्वन्द्वीलाई हराएपछि न्युजिल्यान्ड उत्साही पनि बनेको छ । त्यसैले नवौँ महिला विश्वकप अन्तर्गत मंगलबार राति खेलिने अस्ट्रेलिया र न्युजिल्यान्डबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा बङ्गलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप