मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण एसियाको साझा स्वास्थ्य संकटसँग जुध्ने स्रोत जुटाइदिन मन्त्री पौडेलको आग्रह

मङ्गलबार, २२ असोज २०८१, १० : ५४
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको चर्चा गरेका हुन् । 

भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘दक्षिण एसिया जनसांख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ । स्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ ।’

मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो श्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाए । संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्य मन्त्री र संगठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्य राष्ट्रहरुले आन्तरिक स्रोत थप गर्नुपर्ने बताए ।

‘हामी हाम्रा देशका स्वास्थ्य संकटसँग लड्न आफैं पनि स्रोत बढाउने प्रयास गरिरहेका छौं,’ उनले भने । बैठकका क्रममा मन्त्री पौडेलले संगठनका दक्षिणपूर्वी एसिया निर्देशक सइमा वाजेदसँग भेट वार्ता गरेका थिए ।

त्यसक्रममा मन्त्री पौडेलले नेपाल स्वास्थ्य बीमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन लागि परेको भन्दै संगठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गरेको बताए । उनले संगठन र नेपालका कतिपय स्वास्थ्य प्राथमिकता साझा भएको भन्दै नेपालका आधारभूत समस्या समाधानमा संगठनसँग सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता पनि जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप