मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

स्थानीय तह उपनिर्वाचनमा पनि तालमेलकै नीतिमा माओवादी !

कांग्रेस–एमालेबाहेकका वाम–देशभक्त दलहरूसँग सहकार्य गर्न पहल
मङ्गलबार, २२ असोज २०८१, १० : ४७
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तह उपनिर्वाचनमा तालमेलकै नीति अख्तियार गरेको छ । सो पार्टीले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचन एक्लै लड्नेगरी तयारी गर्ने भनेपनि सो आन्तरिकरुपमा तालमेलको ढोका भने खुलै राखेको हो । 

यसका लागि माओवादी केन्द्रले पार्टीको मातहतका कमिटीलाई सर्कुलर नै पठाएर स्पष्ट पारेको छ । माओवादी केन्द्रका एक नेताका अनुसार सोमबार केन्द्रीय कार्यालयबाट स्थानीय तह उपनिर्वाचनका सन्दर्भमा ‘विशेष परिपत्र’ जारी भएको छ । 

हाललाई एकल रूपमा चुनाव लड्नेगरी तयारी गर्ने तर अन्य दलसँग सहकार्य गर्नेबारे पहल भने जारी राख्नेगरी परिपत्र भएको ती नेताको भनाइ छ । तर माओवादीले नेपाली कांग्रेस, नेकपा एमालेसहितका सत्तारुढ दलसँग भने तालमेल नगर्ने नीति लिएको छ । 

‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रूपमा चुनाव लड्ने तयारी गर्ने । तर, यसका साथै सत्तारुढ दल बाहेकका बाम–देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने’, पार्टीको आन्तरिक सर्कुलर उद्धृत गर्दै ती नेताले रातोपाटीसँग भने । 

Capture

गत साउनमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी आम निर्वाचनमा तालमेल नगर्ने र आफ्नो शक्तिमा चुनाव लड्ने निर्णय गरेको थियो । जनतासँग सम्बन्ध टुटेकाले अब तलसम्म जानेगरी कार्यक्रम बनाउने र चुनावसम्म सबै जनासम्म पुग्ने निर्णय भएको त्यतिबेला उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताएका थिए । ‘आउने चुनावमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेका छौँ । त्यसअघि हाम्रो नीति, विचार र कार्यदिशा सोझै जनतामा पुर्‍याउँछौँ । यो जनतामा जाने सुवर्ण अवसर पनि हो’, सापकोटाको भनाइ थियो ।

पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत पार्टीका कार्यक्रमहरूमा एक्लै चुनाव लड्ने बताउँदै आएका छन् । पार्टीको दोलखा–काठमाडौँ सम्पर्क–समन्वय समितिले असोज १९ गते गरेको कार्यक्रममा प्रचण्डले उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका थिए । विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको उनको भनाइ थियो । 

अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उनको भनाइ थियो । 

त्यसको भोलिपल्ट गृहजिल्ला चितवन पुग्दा पनि प्रचण्डले सोही कुरा दाहोर्‍याए । प्रेस सेन्टर नेपाल चितवन शाखाले आइतबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने दाबी गरेका हुन् । 

‘म प्रधानमन्त्रीबाट हटे पनि जनताको बिचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छौँ भन्ने आधार देशभरि घुमेर देखेको छु’, उनको भनाइ थियो ।  उनीमात्रै नभएर पार्टीका अन्य नेताले पनि यस्तै प्रतिक्रिया दिँदै आएका छन् । 

माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले भने पार्टीले एकल चुनाव लड्ने दाबी गरे । ‘त्यही अनुसार हामीले कार्यक्रम पनि पठाएका छौँ’, उनले भने, ‘आवश्यक परेको खण्डमा हामीले विपक्षी दलहरूसँग पनि सहकार्य गर्न सक्छौँ मात्र भनेको हो ।’ उनले यसलाई चुनावी तालमेल भन्न नमिल्ने दाबी गरे ।

यस्तै नेकपा माओवादी केन्द्रका एक उपमहासचिवले भने विपक्षी मोर्चामा बसेपछि सत्ताविरुद्ध तालमेल गर्न खोजिनु स्वाभाविक हुने बताए । ‘आवश्यक परेको खण्डमा विपक्षी दलसँग सहकार्य पनि हुन्छ, तालमेल पनि हुन्छ । तर हाम्रो मिसन भनेको एकल लड्ने हो । तर, सत्ताविरुद्ध जहिले पनि मोर्चाबन्दी हुन्छ त्यो स्वाभाविकै पनि हो ।’

उपनिर्वाचनलाई आयोगमा २५ दल दर्ता

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि आयोगमा २५ वटा दल दर्ता भएका छन् । जसमा माओवादीले नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, आम जनता पार्टीका साथै राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि सहकार्य गर्न सक्नेछ । रास्वपा पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुन लागेको हो ।

चुनावअघि पार्टीको आन्तरिक तयारी

तालमेलको गर्न सकिने नीति लिएपनि त्यसअघि भने पार्टीले स्थानीय तह निर्वाचनका लागि आवश्यक सबै आन्तरिक तयारी गर्नेछ । जसअनुसार उपनिर्वाचनको तयारीका लागि रिक्त रहेका वडा अध्यक्षको उम्मेदवार छनोट गर्दा वडा पार्टीका सदस्यहरूलाई भेला गराएर सहमतिका आधारमा उम्मेदवार छनोट गर्ने छ ।  यदि सहमति हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीको आधारमा उम्मेदवार छनोट गरी पालिका समितिलाई सिफारिस गर्ने माओवादीको सर्कुलरमा उल्लेख छ । 

त्यसपछि पालिकाको पार्टी समितिले निर्णय गर्ने र सो को जानकारी कार्तिक २५ गतेसम्म प्रदेश पार्टी कार्यालय र पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा लेखी पठाउने अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा उल्लेख रहेको एक नेताले रातोपाटीलाई बताए । 

यस्तै रिक्त रहेका पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, लगायत पदको उम्मेदवार छनोट गर्दा सम्बन्धित पालिका अन्तर्गतका सबै वडाहरूका प्रतिनिधि र पालिका पार्टी समितिको संयुक्त बैठक बसी सहमतिको आधारमा उम्मेदवार छनोट गरिनेछ । छनोटपछि सोको जानकारी कार्तिक २५ गतेसम्म पार्टी केन्द्रीय कार्यालयलाई गराउन मातहतका कमिटीलाई निर्देशन दिइएको छ । 

यस्तै जिल्ला समन्वय समिति प्रमुखका लागि पार्टी जिल्ला समन्वय समितिले सिफारिस गर्ने र प्रदेश समितिले निर्णय गर्नुपर्नेछ । जुन अभ्यास अघिल्लो पटकका चुनावहरूमा पनि गरिएको थियो भने पछि तालमेलको औपचारिक निर्णय भएको थियो । 

यस्तै माओवादीले उपनिर्वाचन प्रयोजनका लागि सबै वडाहरूमा मतदाता नामावली अपडेट गराउने, पार्टी निकटका मतदाताहरूलाई जागरूक गराउने, उप–निर्वाचन हुन गइरहेका वडा र पालिकाहरूमा चुनाव प्रचार–प्रसार समिति गठन गर्ने, प्रचार–प्रसारलाई व्यवस्थित गर्न जन भेटघाट, घरदैलो, पिँडिसभा, चौतारी सभा, कोणसभा र आवश्यकता अनुसार अन्य सभाहरू गर्ने निर्णय पनि छ । 

०७४ यता तालमेलमा रमेको माओवादी

०७४ सालको निर्वाचनयता माओवादीले तालमेल गर्दै आएको छ । २०७० को निर्वाचनमा हार बेहोरेपछि ०७४ मा वाम गठबन्धन गरेर माओवादी तालमेलमा सहभागी भएको थियो । त्यतिबेला एमालेसँग तालमेल गरेर पछि पार्टी एकता नै भएपनि पछि सर्वोच्चको फैसलासँगै पार्टी एकता भङ्ग भएको थियो । ०७४ सालमा माओवादीले ५३ सिट जितेको थियो । 

एमालेसँगको सम्बन्ध टुटेपछि माओवादी कांग्रेससँग सहकार्य गर्न पुग्यो भने सोहीअनुसार स्थानीय तह निर्वाचनमा कयौँ सिटमा कांग्रेससँग नै तालमेल गर्‍यो भने आम निर्वाचनमा पनि कांग्रेससँग नै तालमेल भयो । उक्त तालमेलको आधारमा संघमा माओवादीले ३२ सिट जितेको छ । 

अहिले राजनीतिक समीकरण परिवर्तनपछि एमाले र कांग्रेस एकठाउँमा उभिएपछि माओवादी प्रतिपक्षमा हुत्तिएको थियो । त्यसयता प्रचण्डले अब जनतामा जाने र पार्टीलाई बलियो बनाएर एक्लै चुनाव लड्ने बताउँदै आएपनि अझैपनि सहकार्यको ढोकालाई भने खुलै राखिएको हो । मंसिर १६ गते ४१ स्थानीय तहका विभिन्न पदमा उपनिर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप