मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

पूर्वविजेता इङ्ल्यान्डसँग केही लागेन साविक उपविजेता दक्षिण अफ्रिकाको

मङ्गलबार, २२ असोज २०८१, १० : ४२
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको सोमबार राति सम्पन्न खेलमा इङ्ल्यान्डले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको छ । जितसँगै इङ्ल्यान्ड समूह ‘बी’ तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

दुई खेल खेलेको इङ्ल्यान्डले चार अंक बटुलेको छ । यसअघि इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा बंगलादेशलाई २१ रनले हराएको थियो । दुई खेल खेलेको वेस्ट इन्डिज दुई अंकसहित दोस्रो, समान खेल खेलेको दक्षिण अफ्रिका दुई अंकसहित तेस्रो, समान खेल खेलेको बंगलादेश दुई अंकसहित चौथो स्थानमा छन् । पाँचौँ स्थानमा आसिन स्कटल्यान्डले भने दुबै खेल हारेको छ ।

सोमबार रातिको खेलमा टस जिती पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय २४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले १९.२ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

इङ्ल्यान्डको जितमा नाट सिभर ब्रन्टले अविजित ४८ रनको योगदान गरिन् । उनले ३६ बलमा ६ चौका पनि हिर्काइन् । ओपनर डानी हजले ४३ रन बनाइन् । उनले ४३ बलमा चार चौका पनि प्रहार गरिन् । एलिस क्याप्सीले १९ रन बटुलिन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि कप्तानसमेत रहेकी ओपनर ब्याटर लाउरा वोल्भार्डले ४२ रन बनाएकी थिइन् । उनले ३९ बलमा तीन चौका पनि हिर्काइन् । अन्य ब्याटरको प्रदर्शन भने गतिलो रहेन ।

यी दुबै टोलीले पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । हालसम्म इङ्ल्यान्डले एकपटक उपाधि जितेको छ । इङ्ल्यान्डले सन् २००९ मा घरेलु मैदानमा आयोजित पहिलो संस्करणको फाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

यसका अतिरिक्त इङ्ल्यान्ड तीनपटक फाइनलमा पराजित भएको छ । सन् २०१२ मा सम्पन्न तेस्रो संस्करणको फाइनलमा इङ्ल्यान्डलाई अस्ट्रेलियाले चार रनले हराएको थियो । सन् २०१४ मा सम्पन्न चौथो संस्करणको फाइनलमा इङ्ल्यान्डलाई अस्ट्रेलियाले ६ विकेटले हराएको थियो ।

यसैगरी, सन् २०१८ मा सम्पन्न छैटौँ संस्करणको फाइनलमा पनि अस्ट्रेलियाले नै इङ्ल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । अर्कोतिर, दक्षिण अफ्रिकाले भने हालसम्म महिला टी–२० विश्वकपको उपाधि चुम्न सकेको छैन ।

दक्षिण अफ्रिका एकपटक फाइनलसम्म पुगेको थियो । सन् २०२३ मा सम्पन्न आठौँ संस्करणको फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको थियो । त्यो विश्वकप दक्षिण अफ्रिकामै आयोजना भएको थियो । यस अर्थमा दक्षिण अफ्रिका साविक उपविजेता पनि हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप