मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
किनमेल

तस्बिरमा हेर्नुहोस् सुनौली बजारमा उपभोक्ताको भिड

मङ्गलबार, २२ असोज २०८१, १० : ०५
मङ्गलबार, २२ असोज २०८१

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका, झुस्साकी उमा थापा मगर भारतको सुनौली बजारमा पुगेर दसैँका लागि सामान किनिन् । बुटवलको तुलनामा कपडा सस्तोमा पाइने भएकाले आफू सुनौली बजार आएको उनले बताइन् ।

बुटवलको तुलनामा सुनौलीमा विभिन्न सामान ४० प्रतिशत सस्तोमा पाइने उपभोक्ता बताउँछन् ।

बुटवल, भैरहवाभन्दा सस्तोमा समान पाईने भएकोले धेरै नेपाली उपभोक्ता भारतीय बजार सुनौलीमा जाने गर्दछन् । झन् चाडपर्वमा सुनौली पुगेर किनमेल गर्ने उपभोक्ताको सङ्ख्या उल्लेख्य हुने गर्दछ ।

भारतको महाराजगञ्ज जिल्लामा पर्ने सुनौलीमा नेपाली रुपैयाँ चल्छ र नेपाली भाषामै व्यापार हुन्छ । चिनी, चियापत्ती, साबुनदेखि दसैँका लागि लत्ताकपडा र अन्य सामानसमेत किन्न जानेहरूको भिड सुनौलीमा बढेको छ ।

पछिल्लो समय सुनौलीमा नेपाली ग्राहक कारणले भिडभाड बढेको सुनौलीको २ नम्बर गल्लीमा रहेको एक कपडा पसलका सञ्चालक दीपक जोशीले बताए । अब दसैँ, तिहार, छठ, त्यसपछि नेपालीको कुलपूजा हुने भएकाले सुनौलीमा व्यापार धेरै हुने अपेक्षा रहेको उनले बताए ।

batauli (3)

गत वर्ष नेपाल सरकारले भारतबाट १ सय रुपैयाँभन्दा बढीको सामान ल्याएमा भन्सार शुल्क लगाउने निर्देशन दिएपछि धेरै नेपाली भन्सार तिर्ने झन्झटले गर्दा सामान्य किनमेलका लागि सुनौली जान छाडेका थिए । अहिले उक्त नियम फितलो भएपछि सुनौलीमा कारोबार धेरै भएको भारतीय व्यापारीको बुझाइ छ ।

सुनौली बजारको गल्ली नम्बर २ मा रहेको एक खाद्यान्न पसलका सञ्चालक उमेश रायले सुनौली बजारमा कोभिडपछि पहिलो पटक अहिले धेरै भिडभाड भएको बताए । खाद्यान्नको व्यापार निकै राम्रो रहेको उनको भनाइ छ ।

नेपाली बजारको तुलनामा सुनौलीमा सामान सस्तो

बुटवलको बजारमा चिनी खरिद गर्नुभन्दा सुनौलीमा खरिद गर्दा प्रतिकिलो ४० रुपैयाँ बचत हुन्छ । मुख्यगरी चिनी, साबुन, दालदेखि कपडाजस्ता बस्तुको मूल्य नेपाली बजारको तुलनामा सुनौलीमा सस्तो छ ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद आचार्यले सुनौलीमा सामान सस्तो पाइने भएकाले नेपाली ग्राहकहरू उता जाने गरेका बताए । तर नेपाली बजारको तुलनामा भारतीय बजारमा पाइने सामानको गुणस्तरमा फरक पर्ने उनको दाबी छ । ‘उपभोक्ताले सस्तोमात्र खोज्दा गुणस्तरमा ध्यान दिएको देखिँदैन,’ उनले भने ।

batauli (2)

रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले गत वर्ष एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाउन थालिएपछि सीमावर्ती क्षेत्र सुनौलीको व्यापार खस्किएको बताए । तर यो वर्ष भन्सारमा त्यति कडाइ नहुँदा नेपाली बजारको तुलनामा भारतीय बजार फस्टाएको उनले बताए ।

अधिकारीले भने, ‘नेपाली उपभोक्ताका कारण सुनौली बजारमा भरिभराउ छ, तर यता नेपाली व्यापारीहरूले सटर भाडा तिर्न नसक्ने अवस्था छ ।’

batauli (5)

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले एक सय रुपैयाँभन्दा धेरैको सामान ल्याउनेलाई राजस्व लिनुपर्ने नियम यथावत् रहेको बताए । तर चाडपर्वको बेला धेरै भिडभाड हुने भएकाले सानोसानो बस्तुमा चेकिङ बस्ने कर्मचारी साथीहरूको ध्यान कम पुगेको हुन सक्ने उनको भनाइ छ ।

batauli (4)batauli (6)batauli (7)batauli (8)batauli (9)batauli (10)batauli (11)batauli (12)batauli (13)batauli (14)batauli (15)batauli (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप