लैनसिंह बाङ्देलका कालजयी चित्र, जो जीवनसँग गाँसिन्छन्
करिब ३० वर्षपछि मूर्धन्य कलाकार लैनसिंह बाङ्देल (सन् १९१९–२००२) का चित्र काठमाडौँमा देखा परे । ‘माई डिभोसन टु आर्ट’ नाम दिएर हालै (सेप्टेम्बर ८–२२) मा उनका चित्रको एकल प्रदर्शनी गरियो, लाजिम्पाटस्थित ‘तप्का ग्यालरी’मा ।
काठमाडौँ उपत्यकामा हुने समूहगत कला प्रदर्शनीमा यसअघि पनि उनका चित्र फाट्टफुट्ट नदेखिएका होइनन्, तथापि यसरी उनका चित्रको मात्रै एकल प्रदर्शनी हुन पाएको थिएन ।
यसपटकको प्रदर्शनीमा उनका २० वटाजति विश्व प्रसिद्ध चित्र राखिएका थिए । यी हरेक चित्र आफैँमा इतिहास हुन् ।
शान्त–स्निग्ध र चिसा रङ (कुल कलर)ले भरिएका उनले चित्रले प्रदर्शन कक्षमा शान्त वातावरण सिर्जना गरेको आभास हुन्थ्यो । उनका चित्रमा कहीँ–कहीँ उग्र गरम रङ (एक्स्टिङम वार्म कलर) ले अलिकता छोप्न खोेजे पनि चिसोपन ल्याइहाल्ने उनको खुबी देखिन्छ ।
मनलाई शीतल अनि आनन्दको अनुभूति दिने धमिलो र मधुरो रूपविहीन उनका चित्रभित्र गर्भमा कुनै रूप सादृश्य हुन्छ । अमूर्तता भित्र गाढा निला, राता र पहेँला रङहरूकोे उच्शृङ्खलता नदेखिनुले पनि चित्र सौम्य देखिन्छन् । राता र पहेँला रङ मधुरो र धमिलो गरी आउँदा ती चिसोपनमा परिणत भएका देखिन्छन् । रङको संयोजनमार्फत गरमको आभास दिन खोज्दाखोज्दै पनि उनका चित्र मनोरम देखिएका छन्, जसले गर्दा चित्रमा एक खालको मनमोहक वातावरण सिर्जना भएको आभास हुन्छ । यस्तै उनका अमूर्त चित्रभित्र शास्त्रीयताको सुगन्धलाई अनुभूत गर्न सकिन्छ ।
१५औँ शताब्दीका महान् मूर्तिकार माइकल एन्जेलोले भन्ने गर्दथे— कलाकारले व्यक्तिको कला बनाउँदा सुतेको र मरेको छुट्टिन सक्नुपर्छ । यता हाम्रा बाङ्देलले भन्ने गर्दथे– म प्रकृतिसँग आकर्षित नभएको भए सम्भवतः साहित्य वा कलामा इच्छुक हुँदिनथेँ ।
उनले सन् १९७१ मा बनाएको ‘एटम’ शीर्षकको चित्र, जो अमूर्त हो, यद्यपि अमूर्तताभित्र पनि हिमाल, पहाड आदि आएका छन् । यस्तै, उनले सन् १९८६ मा बनाएको ‘माउन्ट एभरेस्ट’ नामको चित्रलाई गहिरो गरी अवलोकन गर्दा हिमाल दृश्यावलोकन हुन्छन् ।
यसरी यथार्थदेखि अमूर्ततासम्मको यो कलायात्राले उनको सिर्जनगत प्रक्रियालाई राम्ररी झल्काउँछ । उनका चित्र अलौकिक र मनमोहक लाग्छन् ।
काठमाडौँमा हुने गरेका कला प्रदर्शनीमध्ये यसलाई एउटा उत्कृष्ट कला प्रदर्शनी भन्नैपर्छ । बाङदेलका चित्र हेर्ने लालसा भएका भावकका लागि यो एउटा अवसर पनि हो ।
यी चित्रले नेपालमा कसरी आधुनिक कलाको विशेष गरेर अमूर्त कलाको शुभारम्भ भएको रहेछ ? चित्रमा कलागत प्रवृत्तिहरू कसरी परिवर्तन हुँदै गएका रहेछन् ? कसरी पश्चिमी चित्रांकन पद्धतिले नेपालमा प्रवेश पाएको रहेछ ? आदिबारे बुझ्ने आधार दिन्छन् ।
यसो त यहाँ उनले सिर्जना गरेका थोरै चित्र मात्र प्रदर्शन भए । खासगरी व्यक्तिचित्र, दृश्यचित्र, अमूर्त चित्र, यथार्थवादी आदि चित्र यहाँ प्रदर्शित छन् ।
सरल, सहज अनि सानो तुलिकाघातको प्रयोगले बनेका उनका कलाले नेपालका दर्शकलाई नयाँ स्वाद चखाएका थिए । विशेष गरेर तैल माध्यमबाट यस्ता चित्र बनेका छन् । बिस्तारै समय लगाएर बनेका यी चित्रमा उनीमा रहेको एकाग्रता र संयमता स्पष्ट रूपमा दृष्टिगोचर हुन्छन् ।
नेपालमा आधुनिक कला भित्र्याउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका उनका यस्ता चित्र नेपालमा एकमुष्ठ कहीँ पनि हेर्न पाइँदैन । सङ्ग्रहालयमा त कतै छँदै छैनन् । कला, साहित्य र संगीतका जिम्मा पाएका सरकारी निकायसँग पनि उनका चित्रको सङ्ग्रह छैन । यसर्थ सानै रूपमा भए पनि यो कला प्रदर्शनी धेरै महत्त्वका साथ देखिन गएको छ । जिम्मा पाएका कलाका निकायलाई यस्तायस्तै काम गर्न र गराउन पे्ररणा मिल्नुपर्ने हो ।
यो कला प्रदर्शनीमा उनको ‘न्युड सिरिज’का केही चित्र, ‘चाइल्ड सिरिज’का चित्र र दृश्य चित्रहरू, व्यक्तिचित्र अनि अमूर्त कला प्रदर्शनी गरिए । उनका सबैजसो चित्र निराश र हतास मनस्थितिमा देखिन्छन्, वा गम्भीर देखिन्छन् ।
यसपालिको प्रदर्शनमा उनले सन् ६० अघि र पछि बनाएका चित्र राखिएका थिए । ६० को दशकको उत्तराद्र्धमा नेपालमा आधुनिक कलाको उदय भएको थियो । बाङदेलका यी चित्रले आकार कसरी निर्विकार हुँदै जान्छन् भन्ने अनुभूत गराउँछन् ।
नेपालको समसामयिक कलामा महत्त्वपूर्ण कलागत मोड ल्याउने श्रेय बाङदेललाई नै जान्छ । कला–साहित्यमा अथाह ज्ञान बोकेका बाङ्देल साहित्य लेखन, कला लेखन र कला सिर्जनामा समान रूपमा दख्खल राख्थे । यसैले उनी आदरणीय व्यक्तित्व थिए । के कलाकार, के साहित्यकार, सबैले उनलाई आदरभावले हेर्थे ।
नेपालमा कलाको नौलो धारको विकास गर्ने बाङ्देलले नेपाली प्राचीन र माध्यमिक कलाको गहिरो अध्ययन गरे । यस सम्बन्धमा उनका केही पुस्तक प्रकाशित छन् ।
अमेरिकामै बस्दै आएका उनैका ज्वाइँ डा. विभाकर शाक्यको अथक् प्रयासबाट यो कला प्रदर्शनी सम्भव भएको थियो ।
‘डार्क टोन’का चित्र
बाङदेलका चित्र अलिकता गाढा अँध्यारो, धमिलो वा भनौँ ‘डार्क–टोन’मा देखिन्छन् । पचासको दशकका चित्र विशेष गरेर ‘डार्क टोन’मै देखिन्छन् । बिस्तारै थप ‘कन्ट्रास–कलर’ले चित्रमा ठाउँ पाउन थालेको पाइन्छ ।
बाङदेलनका प्रायः चित्रमा मिति लेखिएको छैन, एक–दुईवटालाई छाडेर । यसर्थ पनि चित्रसँगै राखिएका मितिका आधार राम्ररी नखुट्याई यसबारे थप कुरा भन्न सकिँदैन ।
युरोपतिर संरचनागत एप्रोचको एकताका निकै बोलबाला थियो । कलामा आधुनिक युग देखापरेपछि यो एप्रोच हराउँदै गयो, तथापि बाङ्देल भने यसैलाई पनि आफ्नो कलामा समाहित गर्न भ्याएका छन् । युरोपमा बस्दा उनले पश्चिमी कलाको आधुनिक विशेषतालाई रामै्रसँग मनन गरेका थिए । पश्चिमी प्रभावले गर्दा उनका चित्रमा अनुहार अनि हात र खुट्टाका औँलाहरू पातला र सुरिला देखिन्छन् । लगभग पिकासोले यस्तै हात–खुट्टा चित्रमा बनाउने गर्दथे । यही पश्चिमको प्रतिविम्ब बाङदेलका कलामा स्पष्ट देखापर्छन् ।
आधुनिक कलाका कैयौँ शैलीगत विशेषतालाई उनका कलामा एकमुष्ठ छाम्न सकिन्छ । अलिकता अँध्यारोपनका साथै आधुनिक कलाका धेरै शैलीका अंशलाई प्रयोग गर्दा पनि उनको कला आफैँमा एक अलग्ग शैली बन्न गएको देखिन्छ । यसरी अँध्यारोपनले चित्रपट छोपिँदा भावकले रोमाञ्चित अनुभूत पनि गर्छन् । अनि यथेष्ट मात्रामा आनन्दानुभूति महसुस भएको आभास हुन्छ । बाङ्देलको यो चित्रगत स्वभाव पनि हो ।
नेपाली आधुनिक कलाको शीर्षस्थ स्थानमा बसिसकेका बाङदेलले नेपाली समसामयिक कलामा एक नयाँ धारको विकास गरेका थिए । नेपालमा उनको एकल प्रदर्शनी त्यति धेरै भएनन्, तापनि जति भए तिनको ऐतिहासिक रूपमा अभिलेखन भएका छन् ।
यो कला प्रदर्शनीमा उनको ‘न्युड सिरिज’का केही चित्र, ‘चाइल्ड सिरिज’का चित्र र दृश्य चित्रहरू, व्यक्तिचित्र अनि अमूर्त कला प्रदर्शनी गरिए । उनका सबैजसो चित्र निराश र हतास मनस्थितिमा देखिन्छन्, वा गम्भीर देखिन्छन् । रूपहरूलाई मात्र आकार दिएर सपाट रङहरूतिर उन्मुख हुनु अनि भाव अभिव्यञ्जनालाई निकाल्न खोज्नु उनको खास विशेषता जस्तो देखिन्छ ।
मुखाकृति पनि डिटेलमा छैन, तथापि अन्तर्मनको पीडा र दुखेसोलाई सम्प्रेषण गर्न उनका चित्र सक्षम देखिन्छन् । उनले आफ्ना चित्रमा समग्रमा पीडा नै प्रस्फुटन भएको देखिन्छ । उनी युरोपमा बस्दा निकै दुःखकष्ट गरे होलान् जस्तो भएर उनका अन्तर्मनका भावचित्रमार्फत बाहिर आएकोजस्तो देखिन्छ । यथार्थ बन्दाबन्दै आधुनिकतातर्फ मोडिइहाल्ने उनको कलागत स्वभाव देखिन्छ ।
कला जब जीवनसँग गाँसिन्छ
विभिन्न कालखण्डमा बनाएका यी चित्रले उनको जीवनको आरोह–अवरोहलाई खुलस्त भएर प्रस्फुटन हुन दिएका छन् । आफूले देखे–भोगेका समाजका मौन दर्दलाई उनले निला, पहेँलो वा राता रङद्वारा प्रस्तुत गर्न खोजेको देखिन्छ । उनका चित्रपटमा आकार पनि सलबलाउँछन्, शरीरका कोशिका सलबलाएजस्तो गरी । यस्तै अमूर्तताभित्र पनि जीवनको कुनै न कुनै रुपले आकार लिएको हुन्छ । यही नै उनको खास विशेषता पनि हो ।
उनले जीवन र कलालाई गाँस्नुको पछाडि पिकासोको प्रभाव परेको हो कि जस्तो लाग्छ । पिकासोले दुःखका बेला बनाएका चित्रलाई ‘ब्लु पिरियड’ र अलि सुख हुन थालेपछि बनाएका चित्रलाई ‘पिंक पिरियड’ भनेर विश्लेषण गरिएको छ ।
कला र जीवन गाँसिनु अर्को सन्दर्भ छ, १५औँ शताब्दीका महान् मूर्तिकार माइकल एन्जेलोले भन्ने गर्दथे— कलाकारले व्यक्तिको कला बनाउँदा सुतेको र मरेको छुट्टिन सक्नुपर्छ ।
यता हाम्रा बाङ्देलले भन्ने गर्दथे– म प्रकृतिसँग आकर्षित नभएको भए सम्भवतः साहित्य वा कलामा इच्छुक हुँदिनथेँ ।
उनी आफैँले आफ्ना बारेमा लेखेको लामो आलेख छ । बच्चा छँदा दार्जिलिङको डाँडाको टुप्पामा पुगी जब उनले सूर्यको सुनौलो प्रकाश हिम–शृंखलामाथि परेको हेरे, तब उनले हिमालको आभा अनुभूत गरे, प्रकृतिमाथि उनको अगाध प्रेम बस्यो । उनले बनाएका हिमालका सिर्जनात्मक चित्र हेर्दा हामीलाई पनि यस्तै अनुभव हुन्छ ।
जीवनको आरोह–अवरोह
भारतको दाजिर्लिङमा जन्म भई उतैबाट सन् १९३९ मा कलकत्ता स्कुल अफ आर्टमा भर्ना हुन पुगेका कलाकार बाङ्देल तत्पश्चात् सन् १९५२ मा उच्च शिक्षा हासिल गर्न युरोपको लन्डन पुगेका थिए । सुरुको केही समय बेलायतमा र त्यसपछि लामो समय फ्रान्सको पेरिसमा बिताएर उनी पुनः बेलायत फर्के ।
तत्कालीन राजा महेन्द्रको अनुरोधमा उनी सन् १९६१ मा बेलायतबाट नेपाल आएका हुन्, यतै बस्ने गरी । पहिलोपल्ट सन् १९६२ मा उनको एकल कला प्रदर्शनी नेपालमा भएको थियो । त्यतिबेला पश्चिमी आधुनिक कलागत प्रवृत्ति नेपालमा अचानक झुल्केजस्तो भएर उनका कला देखिएका थिए । कलागत विषय, कलर स्किम, बोल्ड रेखाहरूको कुदाइ, पात्रहरूको छनोट आदिले गर्दा उनका चित्र हुबहु पश्चिमीजस्तै देखिन्थे । कतै कतै त विश्व प्रसिद्ध कलाकार पिकासोको जस्तो पनि देखिन्थ्यो । नेपालमा देखिरहेका चित्रभन्दा उनका चित्र अलग्ग थिए ।
नेपालमा पहिलोपटक एकल कला प्रदर्शनी गर्नुअघि उनले विदेशमा दुईपटक एकल कला प्रदर्शनी गरिसकेका थिए । हुन त उनीभन्दा अघि नेपालमा पश्चिमी चित्रांकन पद्धतिले प्रवेश नपाएको भने होइन, तथापि पश्चिममा उदय भएको प्रभाववादी ‘कलर स्किम’ अनि उत्तर प्रभाववादीको दरिला रेखा उनका चित्रमा अनौठो पाराले देखिन्थे । जसमा आधुनिक कलाको विशेषतालाई स्पष्ट छाम्न सकिन्थ्यो ।
उनका चित्रमा विशेष प्रकारका कलर स्किम अनि बोल्ड रेखाहरूको प्रयोग हुन्थ्यो । यसले विश्वकला इतिहासमा नौलो धार स्थापित गरेका विश्वप्रसिद्ध कलाकार भ्यानगग र पल गौगुइनको निकै ठुुलो प्रभाव उनीमा परेको देखिन्छ ।
अर्भिङ स्टोनको पुस्तक ‘लस्ट फर लाइफ’ र उलियम समरसेट मौघमको पुस्तक ‘द मुन एन्ड सिक्सपेन्स’ उनले कैयौँपल्ट पढ्न भ्याएका थिए । भ्यानगग र गौगुइन उत्तर प्रभाववादीका अगुवा कलाकार थिए । जसले विश्व कला इतिहासमा नौलो कला धारको विकास गरे । उनीहरूले प्रकृतिको बाह्य स्वरूपलाई जस्ताको तस्तै नउतारेर आफ्नो भावनालाई अभिव्यक्त गर्न चित्रलाई माध्यम बनाएका थिए । अन्तर्मनको भावले त्यति बेलाको कलामा प्रवेश पाउँदा आधुनिक कलाको बिउ रोपिएको थियो ।
हुन त बाङदेल कलाकत्तामै हुँदै पनि पश्चिमी कलामा उनको चाख जागिसकेको थियो । अनि यसलाई अझ गहन रूपमा अध्ययन गर्न युरोप जान बाटो खोज्दै पनि थिए । उनी कलकत्तामै हुँदै कलकत्ता स्कुल अफ आर्टमा अध्ययनका क्रममै स्वदेशी आन्दोलनमा संलग्न भएका कलाकारसँग उठबस गर्ने मौका पाएका थिए ।
स्वदेशी आन्दोलन भनेको चाहिँ जबर्जस्ती लादिएको पश्चिमी कलागत प्रवृत्तिलाई केही भारतीय कलाकारले बहिष्कार गरी भारतीय कलाको आधुनिक रूपका साथ कलामा पुनर्उत्थान गरेका थिए । यस बेलाका कलाकार, साहित्यकार अनि कला–अनुसन्धानकर्ता, कला लेखक, समीक्षक आदिसँग उनको नजिकको सामीप्यता रह्यो । कलामा उनको प्राज्ञिक ज्ञान यसै बखत जुर्मुराएर उठेको देखिन्छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा बिदा
-
वर्तमान सरकारलाई असफल हुने छुट छैन : महासचिव पोखरेल
-
नेपाल प्रिमियर लिग क्रिकेटको पहिलो संस्करणको नालीबेली
-
जसपा नेपालका अध्यक्षद्वारा एनपीएल विजेतालाई बधाई
-
चरित्रहत्या गर्नेविरुद्ध साइबर ब्युरोमा पुगिन् समीक्षा अधिकारी
-
पार्टी सङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी : माधव नेपाल