शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
पर्यटन

मुख्य सिजनमै आएको विपत्तिले र्‍याफ्टिङ व्यवसाय ठप्प

त्रिशूली र भोटेकोशी किनारामा छैन रौनक, पाँच हजार व्यक्ति प्रभावित
मङ्गलबार, २२ असोज २०८१, ०६ : ४४
मङ्गलबार, २२ असोज २०८१

काठमाडौं । सामान्य अवस्था हुन्थ्यो भने यतिबेला भोटेकोशी, त्रिशूली जस्ता नदी छेउछाउमा र्‍याफ्टिङ बोटको लामबद्ध हुन्थ्यो, लाइफ ज्याकेट लगाएका व्यक्तिहरूको भीड त्यो क्षेत्रमा देख्न सकिन्थ्यो । त्रिशूली र भोटेकोशीममा मात्रै दिनको ५/६ हजार जनासम्मले र्‍याफ्टिङ गर्ने गरेका थिए । तर, यसपालि यो क्षेत्र सुनसान छ, अहिले यो व्यवसायमा ९० प्रतिशत गिरावट आएको व्यवसायीहरू बताउँछन् । 

अघिल्लो शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै आएको बाढीका कारण भोटेकोशी किनारामा धेरै रिसोर्ट बगायो । मुलकोटको सिन्धु बिच रिसोर्टमा त एकजना विदेशी पर्यटक र नेपाली सेनाका एकजना कर्मचारीको मृत्यु नै भयो । यो विषम अवस्थामा साहसिक यात्रामार्फत् भरपुर मनोरञ्जन लिने सेवाग्राहीका चाहना त घटेको छ नै खस्किएको व्यवसायलाई उकास्न ‘एक्सिलिरेट’ गर्नुपर्ने व्यवसायिक मन समेत नदी किनाराका रिसोर्टसँगै बगेर गएको छ ।

नेपाल एशोसिएसन फर र्‍याफ्टिङ एजेन्सी (नारा) का अध्यक्ष शिव अधिकारी र्‍याफ्टिङ कम्पनी सञ्चालन गर्ने सबैजसो रिसोर्ट क्षतिग्रस्त रहेको बताउँछन् । ‘यो आफैँमा पूर्ण व्यवसाय होइन, योसँगै रिसोर्ट पनि जोडिएर आउँछ । यात्रा थकाइ लाग्दा विश्राम गर्नुपर्ने भएकोले यस्ता रिसोर्टहरू नदी किनाराबाट नजिकै राख्नुपर्छ,’ अधिकारी भन्छन्, ‘र्‍याफ्टिङ भनेको नदीमा बग्ने मात्रै होइन, त्योसँगै अरु सेवा नि दिनुपर्छ, रिसोर्टहरू बग्दा समस्या भएको छ  ।’ 

ठप्प व्यवसाय 

अध्यक्ष अधिकारीका अनुसार मुख्य सिजनमै व्यवसाय ठप्प हुनुमा रिसोर्टहरूमा भएको भौतिक क्षति मात्रै कारण भने होइन । यसबाहेक बाटोको अवस्था, मनसुन सक्रिय भइरहनु तथा सेवाग्राही व्यवसायी र मजदुरको मनोविज्ञानले पनि अवरोध गरिरहेको उनको भनाइ छ । 

धादिङको झ्याप्लेखोलादेखि चितवनको मुग्लिनसम्मका विभिन्न खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । पूर्वतिरको अवस्था पनि त्यस्तै छ । पानी नपरेको बेलामा सुख्खा पहिरो खसेर समेत बाटो अवरुद्ध छ । यस्तो अवस्थामा जोखिम मोलेर कोही पनि र्‍याफ्टिङका लागि नजाने नाराका अध्यक्ष शिवअधिकारी बताउँछन् । 

सबैभन्दा महत्त्वपूर्ण समस्या अहिले बाटोको छ । संख्यात्मक रुपमा नेपालमा सबैभन्दा धेरै र्‍याफ्टिङ हुने भनेकै भोटेकोशी र त्रिशूलीमा हो । कर्णालीमा भने धेरै खर्च गर्ने तथा विदेशी पर्यटकले यस्ता प्याकेजहरू किन्ने गर्छन् । तर, मुख्य हिस्सा ओगट्ने यी दुई ठाउँमा जाने बाटोको अवस्था नाजुक छ । धादिङको झ्याप्लेखोलादेखि चितवनको मुग्लिनसम्मका विभिन्न खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । पूर्वतिरको अवस्था पनि त्यस्तै छ । पानी नपरेको बेलामा सुख्खा पहिरो खसेर समेत बाटो अवरुद्ध छ । यस्तो अवस्थामा जोखिम मोलेर कोही पनि र्‍याफ्टिङका लागि नजाने अध्यक्ष अधिकारी बताउँछन् । 

नेपालबाट अझै पनि मनसुन बाहिरिएको छैन । मौसम नखुलेका कारणले पनि मान्छेमा र्‍याफ्टिङको मुड नबनेको अधिकारी बताउँछन् । उनी भन्छन्, ‘र्याफ्टिङका लागि मौसम खुल्नुपर्छ । यो वर्ष अहिलेसम्म पनि मनसुन सकिएको छैन, कहिले घाम त कहिले पानी पर्ने अवस्था कायमै छ, यसले गर्दा स्वतः सेवा लिन चाहनेको संख्या कम भएको छ ।’

त्यसो त, अहिले आम सेवाग्राहीहरू साहसिक पर्यटनमार्फत मनोरञ्जन लिने मुडमा समेत नभएको अध्यक्ष अधिकारी बताउँछन् । ‘विपत्तिका कारण अर्बौँको क्षति भयो, सयौँले ज्यान गुमाए । सरकारले तीन दिन राष्ट्रिय शोक नै घोषणा गर्‍यो, यस्तो अवस्थामा मान्छेमा मनोरञ्जन गरौँ भन्ने मुड पनि भएन, यही कारणले पनि व्यवसाय ठप्प भयो ।’

मुख्य सिजनमै व्यवसाय ठप्प भएपछि दसैँको मुखमा यो क्षेत्रमा आबद्ध झन्डै पाँच हजार व्यवसायी र मजदुरको अवस्था नाजुक बनेको छ । अहिले देशभर झन्डै ९० वटा र्याफ्टिङ कम्पनी क्रियाशील छन् । ती कम्पनीमार्फत एक हजार जना भन्दा धेरै प्रत्यक्ष रुपमा रोजगार छन् । यसरी र्‍याफ्टिङ गर्नेलाई सेवा दिने रिसोर्ट एवं ट्राभल तथा लजिस्टिक सपोर्टका लागि सो बराबरको रोजगारी यो क्षेत्रले दिँदै आएको थियो ।

र्‍याफ्टिङमा तीन लाखसम्म खर्च गर्छन् पर्यटक

पछिल्लो वर्षहरूमा वार्षिक अढाइदेखि तीन लाख जनाले र्‍याफ्टिङ सेवा लिँदै आएको अनुमान एशोसिएसनको छ । त्यसमध्ये झन्डै ९७ प्रतिशत स्वदेशी र तीन प्रतिशत विदेशी हुने गरेको व्यवसायीहरूको अनुभव छ ।

कर्णाली नदीमा र्‍याफ्टिङ व्यवसाय गर्दै आएका केही व्यवसायीले एउटा विदेशी पर्यटकलाई अढाइदेखि तीन लाख रुपैयाँसम्मको सेवा बेच्ने गर्छन् । यसरी खर्च गर्ने पर्यटकहरू दशदेखि १२ दिनसम्म निरन्तर रुपमा जलक्रिडा गर्छन् । राती समेत खोलाकै छेउमा रिसोर्टमा बस्ने गर्छन् । 

विदेशी पर्यटकले भने यो र्‍याफ्टिङकै लागि ठुलो खर्च गर्न तयार हुने गरेका छन् । अध्यक्ष अधिकारीका अनुसार यसपटक आएका पर्यटकले पनि बाटो लगायत कारणले सेड्युल परिवर्तन गरेका छन् भने कसैले भ्रमण कोट्याएका छन् ।

कर्णाली नदीमा र्‍याफ्टिङ व्यवसाय गर्दै आएका केही व्यवसायीले एउटा विदेशी पर्यटकलाई अढाइदेखि तीन लाख रुपैयाँसम्मको सेवा बेच्ने गर्छन् । यसरी खर्च गर्ने पर्यटकहरू दशदेखि १२ दिनसम्म निरन्तर रुपमा जलक्रिडा गर्छन् । राती समेत खोलाकै छेउमा रिसोर्टमा बस्ने गर्छन् । 

नेपालीहरूले भने यसका लागि प्रतिदिन दुईदेखि पाँच हजार रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । अधिकांशले एक दिन मात्रै यो सेवा लिन्छन् । केहीले भने दुई दिनसम्मको सेवा समेत किन्ने गरेका छन् । तर, यो वर्ष नेपालीको मनोविज्ञान समेत कमजोर भएको अधिकारी बताउँछन् ।

हाइड्रोपावर विस्तारले व्यवसायमा असर

पछिल्लो समय बढ्दै गएको हाइड्रोपावर परियोजनाका कारण र्‍याफ्टिङ व्यवसायमा असर पर्दै गएको व्यवसायीहरू बताउँछन् । खासगरी लामो यात्रा दूरीको र्‍याफ्टिङ गर्न ती परियोजनाकै कारण असर परिरहेको छ । हाइड्रोपावरको नाममा भोटेकोशी, सुनकोशी, त्रिशूली, कर्णाली जस्ता मुख्य नदीहरू थुन्ने र नहर बनाएर लैजाने प्रवृत्तिले विदेशी पर्यटकहरू घट्दै गएको उनीहरूको अनुभव छ । यो अवस्था घट्नुको सट्टा बढ्दै गएकोले धेरै कम्पनीहरू बन्द हुँदै गएका छन् । 

अध्यक्ष अधिकारीको भनाइमा केही वर्ष अघिसम्म र्‍याफ्टिङ सेवा दिने कम्पनीको संख्या १६० वटासम्म थियो । अहिले ९० वटा मात्रै सञ्चालनमा छन् । धेरै खर्च गर्ने विदेशी पर्यटक घटेकै कारण ती कम्पनीहरू बन्द भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप