मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री सिंहद्वारा रेलका पुराना र दुर्लभ वाष्प इन्जिन निरीक्षण

सोमबार, २१ असोज २०८१, २२ : ३३
सोमबार, २१ असोज २०८१

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र दुर्लभ वाष्प इन्जिन निरीक्षण गरेका छन् । उनले आज यहाँको जनकनन्दिनी गाउँपालिका–२ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मर्मत केन्द्र) मा थन्क्याइएका आठ वटा वाष्प इन्जिनको निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि मुख्यमन्त्री सिंहले ऐतिहासिक महत्त्वका वाष्प इन्जिनको संरक्षण तथा सम्वद्र्धन गरी पर्यटनसँग जोड्न रेल्वे सङ्ग्रहालय स्थापनामा जोड दिँदै सोका लागि सङ्घ सरकार तथा अन्य सम्बद्ध सङ्घीय निकायसँग पहल गर्ने बताए । उनले सङ्ग्रहालय स्थापनासँगै खजुरी क्षेत्रलाई विभिन्न मार्गबाट जोड्ने पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।

 विश्वको परिवहन विकासक्रमको इतिहासमा ती इन्जिनको अवलोकन तथा पुरानो रेल्वे प्रविधिको अध्ययन गर्न सङ्ग्रहालय स्थापना गर्न सके संसारभरकै पर्यटकका लागि गन्तव्य बन्ने विश्वास उनले व्यक्त गरे ।
“सडक तथा यातायात विकसित नहुँदा सय वर्षअघि नेपालमा रेल्वे सञ्चालनमा आएको इतिहास जर्गेना गर्न र त्यसमार्फत मधेसको तत्कालीन सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्था बुझ्न सङ्ग्रहालयले मद्दत गर्नेछ”, मुख्यमन्त्री सिंहले भने । 

भारतबाट गोलिया काठ ओसार्ने उद्देश्यले विसं १९९४ मा सुरु भएको जयनगर–जनकपुर–विजलपुरा रेलसेवा सञ्चालनका लागि ती इन्जिनको प्रयोग गरिएको थियो । जनकपुर–जयनगर रेलसेवाका लागि डिजल इन्जिन आएपछि र विसं २०७० मा ब्रोडगेज रेल्वे सञ्जाल विकास भएपछि वाष्प इन्जिन प्रयोगविहीन भएको हो ।

खजुरीस्थित रेल्वेका वाष्प इन्जिन नेपालका अतिरिक्त भारत र बेलायतमा मात्र छन् । महावीर, पशुपति, गुहेश्वरी, राम, सीता, जानकी आदि नेपालका महत्वपूर्ण धार्मिकस्थल तथा धार्मिक विभूतिका नाउँ दिइएका ती इन्जिनको संरक्षण गर्न नेपाल रेल्वे कम्पनी लिमिटेडले इन्जिन राखिएका क्षेत्रमा केही समयअघि देखि घेराबेरा लगाउन सुरु गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप