मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

गाजामा हमास हमलाको एक वर्ष पूरा, इजरायल, हमास र हिज्बुल्लाहद्वारा आक्रमण तीव्र

सोमबार, २१ असोज २०८१, २१ : ४६
सोमबार, २१ असोज २०८१

गाजा । गाजामा युद्ध निम्त्याउने गरी हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको आज ठ्याक्कै एक वर्ष पुगेको छ । यसै अवसरमा उक्त समूहले सोमबार इजरायललाई निशाना बनाएर कैयौँ रकेट प्रहार गरेको छ । 

हमलाका कारण इजरायलभर अलर्ट साइरन बजेका थिए । इजरायली सेनाले कैयौँ रकेट आकाशमै नष्ट गरेको दाबी गरेको थियो । हमासलाई समाप्त पार्ने लक्ष्यसहित सुरु गरेको आक्रमणको १२ महिनापछि इजरायलले दक्षिणी गाजामा थप आक्रमण हुने चेतावनी दिएको छ ।

हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमला गरेको एक वर्ष पुग्दै गर्दा सोमवार इजरायल, हमास र हिज्बुल्लाह सबैले अर्को पक्षविरुद्ध आक्रमण गरेका थिए । इजरायलसहित विश्वभरि हमास हमलाको स्मरण गरिएको छ । हमासले गरेको उक्त हमलामा १ हजार २०० जना मानिसको ज्यान जानुको साथै २५१ जनालाई बन्धक बनाएको थियो । त्यसयता इजरायली हमलामा गाजा क्षेत्रमा झन्डै ४२ हजार मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मध्यपूर्व क्षेत्र चिन्तामा

सोमबार इजरायलले दक्षिण लेबननमा गरेको हमलामा कैयौँ अग्नि नियन्त्रकहरू मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले गाजा र लेबननमा हमास र हिज्बुल्लाहका निसानाहरूमा हमला गरेको बताएको छ । गाजाबाट इजरेलतर्फ रकेट प्रहार गर्दा तेल अभिभमा दुईजना घाइते भएको बताइएको छ ।

हिज्बुल्लाहले पनि उत्तरी इजरेलमा क्षेप्यास्त्र प्रहार गर्दै ७ अक्टोबरका घटनालाई ‘साहसपूर्ण’ भनेको छ । उसले इजरायली फौजको प्रतिरोध गर्न सकिनेमा आफूहरू विश्वस्त भएको बताएको छ ।

अक्टोबर ७ को स्मरण गर्दैगर्दा गत साता इरानले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र हमलाको इजरायलबाट हुने ठानिएको बदला कारबाहीलाई लिएर सम्पूर्ण मध्यपूर्व क्षेत्र चिन्ता छ । 

‘इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानको आक्रमणको जबाफ आफूले सही ठह‍र्‍याएको समय र मितिमा दिइने बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले इरानको परमाणु वा तेल प्रशोधन स्थलहरूमा आक्रमण भएको हेर्न नचाहेको बताएका छन् । इजरायलीहरू इरानलाई पोहोरको हमास हमलाको समर्थक ठान्छन र राष्ट्रपति बाइडनको सल्लाह नमान्न त्यहाँ दबाब बढेको छ,’ बीबीसीका संवाददाता जेरोमी बावेनले भनेका छन् । 

के भन्छन् विश्व नेताहरू ? 

हमासको हमलाको एक वर्ष पुगेको दिन अमेरिकी राष्ट्रपति जो बाइडनले यो एक वर्षमा धेरै गैरसैनिकले दुःख पाएको बताएका छन् । इजरायल एक्लो नभएको पनि उनले बताए । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पीडितहरू सदा सम्झनामा रहने बताए । ब्रिटेनका प्रधानमन्त्री किर स्टार्मरले अक्टोबर ७ लाई होलोकस्ट यता यहुदीहरूमाथि आइपरेको सबैभन्दा अँध्यारो दिनको संज्ञा दिएका थिए । जर्मन चान्सलर ओलाफ सोल्जले उनको देशले इजरेलको पीडा बुझेको बताए ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जाेग नोभा साङ्गीतिक कार्यक्रम भएको स्थलमा पुगेर त्यहाँ आयोजित स्मृति सभामा सामेल भएका थिए । हमासले हमला गर्नु अघि बजेको अन्तिम गीत त्यहाँ  बजाइएको थियो । आफन्तहरूले मारिएका सयौँको फोटो उचालेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप