मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
नोबेल पुरस्कार

माइक्रो आरएनए पत्ता लगाउने दुई अनुसन्धानकर्तालाई चिकित्साशास्त्रको नोबेल पुरस्कार

सोमबार, २१ असोज २०८१, २१ : २०
सोमबार, २१ असोज २०८१

स्टकहोम । नोबेल पुरस्कार समितिले यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनलाई संयुक्त रूपमा दिने घोषणा गरेको छ । माइक्रोआरएनएको आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि उनीहरूलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबेल समितिले जनाएको छ । विजेताले संयुक्त रूपमा १‍.१ करोड स्वीडिश क्रोनर नगद पुरस्कार र पदक पाउने छन् । 

यस वर्षसम्म आइपुग्दा ११४ जनालाई चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार दिइएको छ । एम्ब्रोस र रभ्कनले एक प्रजातिको सानो जुकामा आफ्नो अनुसन्धान गरेका थिए । माइक्रोआरएनए जीनहरू बहुकोषीय जीवमा ५० करोड वर्षदेखि विकसित र विस्तारित हुँदै आएका छन् । मानवजातिमा विभिन्न माइक्रोआरएनएका लागि एक हजार वटाभन्दा बढी जिन भएको पत्ता लागि सकेको छ । यस वर्षका पुरस्कार विजेताहरूले पत्ता लगाएअनुसार माइक्रोआरएनएले गर्ने जिन नियमन सबै बहुकोषीय जीवमा हुन्छ ।

ट्रान्स्क्रिप्शन नामक प्रक्रियामार्फत् आनुवंशिक सूचना डीएनएबाट ‘मेसिन्जर आरएनए’ (एमआरएनए)मा प्रसारित हुन्छ । त्यसपछि त्यस्तो सूचना प्रोटीन उत्पादनका लागि कोषभित्रको प्रणालीमा पुग्छ । डीनएनएमा सङ्गृहीत आनुवंशिक निर्देशनबमोजिम प्रोटीनको निर्माण हुने गरी त्यहाँ एमआरएनएको ‘ट्रान्स्लेशन’ हुन्छ । बिसौँ शताब्दीको मध्यदेखि ती प्रक्रियाले कसरी काम गर्छन् भनेर अनुसन्धान हुँदै आएको छ ।

के छ माइक्रोआरएनएको महत्त्व ?

माइक्रोआरएनएले गर्ने ‘जिन रेग्युलेशन’ पहिलो पटक एम्ब्रोस र रुभ्कनले पत्ता लगाएका हुन् । जटिल संरचना भएका जीवहरूको उद्विकास यही विधिका कारण सम्भव भएको मानिन्छ । मानिसको प्रत्येक कोषमा डीनएनएभित्र आनुवंशिक सूचना हुन्छ । हड्डीका कोष, स्नायुकोष, चर्मकोष, सेतो रक्तकोष, मुटुको कोष र अन्य विभिन्न कोषले त्यस्तो सङ्केत अतिविशिष्ट किसिमले प्रयोग गर्छन् । अहिले पुरस्कृत वैज्ञानिकहरूको अनुसन्धानले त्यो कसरी हुन्छ भनेर व्याख्या गरेको छ । 

वंशाणुशास्त्रमा भएका अध्ययनहरूले माइक्रोआरएनए नहुँदा कोष र तन्तुको विकास सामान्य रूपमा हुन नसक्ने देखाएका छन् । माइक्रोआरएनएले गर्ने नियमन मानिसमा असामान्य हुँदा क्यान्सर र जिनमा म्यूटेशन (उत्परिवर्तन) हुन सक्ने देखिएको छ । त्यसबाट जन्मजात श्रवणशक्ति गुम्ने तथा आँखा र हड्डीसम्बन्धी समस्याहरू हुन सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप