सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

नेपाल प्रिमियर लिग : मालिक, मार्की खेलाडी र मोटो रकममा भित्रिएका खेलाडीहरू

सोमबार, २१ असोज २०८१, २१ : १०
सोमबार, २१ असोज २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडीको अक्सन प्रक्रिया पुरा भएको छ । अक्सनमार्फत सहभागी क्लबले १०–१० जना खेलाडी खरिद गरेका छन् । 

अक्सनका लागि चार सय २६ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । क्यानले एनपीएलका लागि असोज ५ देखि १२ गतेसम्म खेलाडीको नाम दर्ता प्रक्रिया खुला गरेको थियो । नाम दर्ता गराएका कुल चार सय २६ खेलाडीमध्ये नेपाल प्रिमियर लिग तयारी समितिले एक सय ४२ जना खेलाडीको नाम अक्सनका लागि छनोट गरेको छ । 

अक्सनमा सहभागी भएका २७ जना खेलाडीको नाम ‘ए’ क्याटेगोरीमा परेको थियो । अक्सनका लागि ‘बी’ क्याटेगोरीमा ३८ जना खेलाडी रहेका थिए । यसका अतिरिक्त अक्सनमा सहभागीमध्ये ७७ जना खेलाडी ‘सी’ क्याटेगोरीमा रहेका थिए । 

अक्सनपछि सहभागी प्रत्येक क्लबमा खेलाडीको सँख्या ११ पुगेको छ । सहभागी आठवटै टोलीमा एक–एकजना मार्की खेलाडी रहेका छन् । मार्की खेलाडीको टुंगो यसअघि नै लागिसकेको छ । सहभागी क्लबहरूले आफ्नो नाम र लोगो पनि यसअघि नै सार्वजनिक गरिसकेका छन् । 

प्रतियोगितामा सहभागी टोलीहरू विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् । नेपाल प्रिमियर लिग आगामी मंसिर १६ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।  

अब सहभागी आठवटै क्लबले चार–चारजना विदेशी खेलाडी आफ्नो टोलीमा आबद्ध गर्नेछन् । यसका अतिरिक्त आठवटै क्लबले एक–एकजना स्थानीय खेलाडी पनि टोलीमा समावेश गर्नेछन् । आइतबार सम्पन्न अक्सनपछि प्रत्येक टोलीको अवस्था यस्तो रहेको छ । 

विराटनगर किङ्स

विराटनगर किङ्स एमएडी ड्रिम्स स्पोर्टस प्रालिको स्वामित्वमा रहेको छ । एमएडी ड्रिम्स स्पोर्टस प्रालिले एक करोड ५१ लाख रुपैयाँमा विराटनगर किङ्सको स्वामित्व खरिद गरेको थियो । विराटनगर किङ्सको मार्की खेलाडी सन्दीप लामिछाने हुन् ।

आइतबारको अक्सनमा विराटनगर किङ्सले दुई खेलाडीका लागि सर्वाधिक १५ लाख रुपैयाँ खर्चिएको थियो । विराटनगर किङ्सले लोकेश बम र प्रतिश जीसीलाई १५–१५ लाख रुपैयाँमा खरिद गरेको हो । अक्सनमा क्लबहरूले कुनै पनि खेलाडीका लागि खर्च गर्न पाउने यो अधिकतम सीमा हो । 

यसैगरी, विराटनगर किङ्सले बसिर अहमदका लागि पनि १० लाख रुपैयाँ खर्चियो । यसका अतिरिक्त विराटनगर किङ्सले राजेश पुलामी मगर, जितेन्द्र कुमार मुखिया, अनिल खरेल र दीपक बोहरालाई पाँच–पाँच लाख रुपैयाँमा खरिद गर्‍यो । 

विराटनगर किङ्सले सुवाष भण्डारीका लागि दुई लाख ५० हजार रुपैयाँ खर्चियो भने नरेन भट्ट र मृनाल गुरुङलाई दुई–दुई लाख रुपैयाँमा किन्यो । योसँग विराटनगर किङ्सको टोली ११ सदस्यीय पुगेको छ । विराटनगर किङ्सले अब चार विदेशी खेलाडी र एक स्थानीय खेलाडी भित्राउन बाँकी छ । अक्सनमा विराटनगर किङ्सले कुल ६६ लाख ५० हजार रुपैयाँ खर्च गर्‍यो ।

b

 चितवन राइनोज 

चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको क्लब हो । चितवन राइनोजलाई चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार रुपैयाँमा खरिद गरेको हो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् ।

आइतबार काठमाडौँमा सम्पन्न अक्सनमा चितवन राइनोजले कुनै पनि खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँ खर्च गरेन । चितवन राइनोजले अक्सनमा तीनजना खेलाडीलाई भने १०–१० लाख रुपैयाँमा खरिद गरेको थियो । 

चितवन राइनोजले रिजन ढकाल, कमलसिंह ऐरी र शरद भेषावकरलाई १०–१० लाख रुपैयाँमा खरिद गरेको हो । विपिन रावलका लागि चितवन राइनोजले आठ लाख रुपैयाँ खर्चिएको थियो । चितवन राइनोजले चारजना खेलाडीलाई भने पाँच–पाँच लाखमा किन्यो ।

चितवन राइनोजले पाँच–पाँच लाख रुपैयाँ खर्चिएको खेलाडी सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला र दीपक बोहरा हुन् । यसका अतिरिक्त चितवनले रञ्जित कुमारलाई तीन लाख र गौतम केसीलाई दुई लाख रुपैयाँमा खरिद गर्‍यो । अक्सनमा चितवन राइनोजले कुल ६३ लाख रुपैयाँ खर्चियो ।

c

 जनकपुर बोल्ट्स

जनकपुर बोल्ट्स ड्रिम स्पोर्टस प्रालिको स्वामित्वमा रहेको क्लब हो । ड्रिम स्पोर्टस प्रालिले जनकपुर बोल्ट्सलाई दुई करोड पाँच लाख रुपैयाँमा खरिद गरेको हो । आसिफ शेख जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन् । 

आइतबार सम्पन्न अक्सनमा जनकपुर बोल्ट्सले दुईजना खेलाडीलाई अधिकतम १५–१५ लाख रुपैयाँमा खरिद गर्‍यो । जनकपुर बोल्ट्सले १५ लाख रुपैयाँमा खरिद गरेका खेलाडी ललित राजवंशी र अनिल कुमार साह हुन् । 

यसका अतिरिक्त जनकपुर बोल्ट्सले अक्सनमा तीन खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्च गर्‍यो । जनकपुर बोल्ट्सले रुपेश कुमार सिंह, किशोर महतो र आकाश त्रिपाठीलाई १०–१० लाख रुपैयाँमा खरिद गरेको हो । 

जनकपुर बोल्ट्सले तीनजना खेलाडीलाई पाँच–पाँच लाख रुपैयाँमा खरिद ग¥यो । जनकपुर बोल्ट्सले पाँच लाख रुपैयाँमा खरिद गरेका खेलाडी शुभ कंसाकार, शर मल्ल र हेमन्त धामी हुन् । जनकपुर बोल्ट्सले अरनिकोप्रसाद यादबलाई दुई लाख २५ हजार र तुलबहादुर थापामगरलाई दुई लाख रुपैयाँमा किन्यो । जनकपुर बोल्ट्सले अक्सनमा कुल ७९ लाख २५ हजार रुपैयाँ खर्चियो । 

j

 कर्णाली याक्स 

कर्णाली याक्स हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिको स्वामित्वमा रहेको क्लब हो । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले कर्णाली याक्सलाई एक करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको हो । 

कर्णाली याक्सका मार्की खेलाडी भने सोमपाल कामी हुन् । आइतबार सम्पन्न अक्सनमा कर्णाली याक्सले एकजना खेलाडी अधिकतम १५ लाख रुपैयाँमा किन्यो । कर्णाली याक्सले १५ लाख रुपैयाँ खर्चिएको खेलाडी गुलसन कुमार झा हुन् ।

यसैगरी, कर्णाली याक्सले नन्दन यादबलाई ११ लाख रुपैयाँमा किन्यो । कर्णाली याक्सले तीन खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्चियो । कर्णाली याक्सले मौसम ढकाल, अर्जुन घर्ती र देव खनाललाई १०–१० लाख रुपैयाँमा खरिद गरेको हो ।

यसका अतिरिक्त, कर्णाली याक्सले दुई खेलाडी रित गौतम र भुवन कार्कीका लागि पाँच–पाँच लाख रुपैयाँ खर्चियो । कर्णाली याक्सले दीपेन्द्र रावत र दीपक डुम्रेलाई तीन– तीन लाख रुपैयाँ तथा युनिस बिक्रमसिंह ठकुरीलाई दुई लाख रुपैयाँमा खरिद गर्‍यो । कर्णाली याक्सले अक्सनमा कुल ७४ लाख रुपैयाँ खर्चियो । 

k

 काठमाडौँ गुर्खाज 

काठमाडौँ गुर्खाज कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको क्लब हो । कान्तिपुर पब्लिकेसनले काठमाडौँ गुर्खाजलाई तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा खरिद गरेको हो । काठमाडौँ गुर्खाज नाम पनि कान्तिपुर पब्लिकेसनले नै राखेको हो ।

काठमाडौँ गुर्खाजका मार्की खेलाडी भने करण केसी हुन् । आइतबारको अक्सनमा काठमाडौँ गुर्खाजले दुई खेलाडीलाई अधिकतम १५–१५ लाख रुपैयाँमा खरिद ग¥यो । साहाब आलम र भीम सार्कीलाई काठमाडौँ गुर्खाजले १५–१५ लाख रुपैयाँमा किनेको हो ।

यसैगरी, काठमाडौँ गुर्खाजले एक खेलाडीका लागि १० लाख रुपैयाँ खर्चियो । काठमाडौँ गुर्खाजले १० लाख रुपैयाँमा किनेको खेलाडी रासिद खान हुन् । शंकर राणका लागि भने काठमाडौँ गुर्खाजले नौ लाख ५० हजार रुपैयाँ खर्चियो ।

यसका अतिरिक्त, काठमाडौँ गुर्खाजले तीन खेलाडीलाई पाँच–पाँच लाख रुपैयाँमा किन्यो । काठमाडौँ गुर्खाजले पाँच लाख रुपैयाँमा खरिद गरेका खेलाडी सुमित महर्जन, कृष्ण कार्की र दीपेश कँडेल हुन् । काठमाडौँ गुर्खाजले विवेक बेसी, प्रतिक श्रेष्ठ र राजु रिजाललाई दुई–दुई लाख रुपैयाँमा किन्यो । काठमाडौँ गुर्खाजले अक्सनमा कुल ७० लाख ५० हजार रुपैयाँ खर्चियो । 

kc

 लुम्बिनी लायन्स 

लुम्बिनी लायन्स फरच्युना हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको क्लब हो । फरच्युना हेल्थ केयर प्रालीले लुम्बिनी लायन्सलाई एक करोड ८६ लाख चार रुपैयाँमा खरिद गरेको हो । लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेल हुन् । उनी नेपाली राष्ट्रिय टोलीका कप्तान पनि हुन् । 

आइतबार सम्पन्न अक्सनमा लुम्बिनी लायन्सले तीन खेलाडीका लागि अधिकतम १५–१५ लाख रुपैयाँ खर्चियो । लुम्बिनी लायन्स क्लबले १५ लाख रुपैयाँमा खरिद गरेको खेलाडी सूर्य तामाङ, विवेक यादव र सन्दीप जोरा हुन् । 

यसैगरी, अक्सनमा लुम्बिनी लायन्सले दुई खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्चियो । लुम्बिनी लायन्सले आशुतोष घिरैया र तिलकराज भण्डारीलाई १० लाख रुपैयाँमा खरिद गरेको हो । दुर्गेस गुप्ताका लागि भने लुम्बिनी लायन्सले आठ लाख रुपैयाँ खर्चियो ।

यसका अतिरिक्त, लुम्बिनी लायन्सले अर्जुन साउदलाई पाँच लाख रुपैयाँ र दिनेश अधिकारीलाई दुई लाख ७५ हजार रुपैयाँमा खरिद गर्‍यो । लुम्बिनी लायन्सले अभिशेष गौतम र विकास आग्रीलाई दुई–दुई लाख रुपैयाँमा किन्यो । अक्सनमा लुम्बिनी लायन्सले कुल ८४ लाख ७५ हजार रुपैयाँ खर्चियो । 

l

 पोखरा एभेन्जर्स 

पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो । एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महँगोमा बिक्री भएको क्लब पनि हो । 

पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । आइतबार सम्पन्न अक्सनमा पोखरा एभेन्जर्सले एक खेलाडीका लागि मात्र अधिकतम १५ लाख रुपैयाँ खर्चियो । पोखरा एभेन्जर्सले १५ लाख रुपैयाँमा खरिद गरेको खेलाडी सागर ढकाल हुन् । 

यसैगरी, पोखरा एभेन्जर्सले आकाश चन्दलाई ११ लाख ५० हजार रुपैयाँमा खरिद ग¥यो । पोखरा एभेन्जर्सले चारजना खेलाडीका लागि १०–१० लाख रुपैयाँ र दुईजना खेलाडीका लागि पाँच–पाँच लाख रुपैयाँ खर्चिएको थियो ।

पोखरा एभेन्जर्सले १० लाख रुपैयाँमा किनेको खेलाडी किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री र दिलिप नाथ हुन् । पोखरा एभेन्जर्सले पाँच लाख रुपैयाँ खर्चिएको खेलाडी तृतराज दास र सुनाम गौतम हुन् । पोखरा एभेन्जर्सले दिनेश खरेल र अमृत गुरुङलाई दुई–दुई लाख रुपैयाँमा किन्यो । पोखरा एभेन्जर्सले अक्सनमा कुल ८० लाख ५० हजार रुपैयाँ खर्चियो । 

p

 सुदूरपश्चिम रोयल्स 

ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो, सुदूरपश्चिम रोयल्स । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो । 

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी भने दीपेन्द्रसिंह ऐरी हुन् । उनी राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । आइतबारको अक्सनमा सुदूरपश्चिम रोयल्सले एक खेलाडी आरिफ शेखलाई अधिकतम १५ लाख रुपैयाँमा खरिद ग¥यो । 

यसैगरी, सुदूरपश्चिम रोयल्सले अविनाष बोहरालाई १२ लाख रुपैयाँमा आफ्नो टोलीमा भित्रायो । सुदूरपश्चिम रोयल्सले विनोद भण्डारीका लागि भने १० लाख रुपैयाँ खर्चियो । ईशान पाण्डेलाई सुदूरपश्चिम रोयल्सले नौ लाख ५० हजार रुपैयाँमा किन्यो ।

यसका अतिरिक्त, सुदूरपश्चिम रोयल्सले अर्जुन कुमाललाई सात लाख ५० हजार तथा खड्कबहादुर बोहरा र नरेश बुढाऐरलाई पाँच–पाँच लाख रुपैयाँमा खरिद गर्‍यो । सुदूरपश्चिम रोयल्सले भोजराज भट्टलाई चार लाख ५० हजार, अमित श्रेष्ठलाई तीन लाख ५० हजार र नरेन साउदलाई दुई लाख रुपैयाँमा किन्यो । सुदूरपश्चिम रोयल्सले अक्सनमा कुल ७४ लाख रुपैयाँ खर्चियो ।

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप