सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

नेताको आशीर्वादमा चलेका भ्रातृ संस्था : निर्देशन समितिले गराइदेला महाधिवेशन ?

सोमबार, २१ असोज २०८१, १९ : ४४
सोमबार, २१ असोज २०८१

काठमाडौँ । ८ वर्ष पश्चात् असोज १६ मा प्रमुख तीन भ्रातृ संस्थाको महाधिवेशन गराउने भन्दै सत्तामा रहेको दल नेपाली कांग्रेसले निर्देशन समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीको नेतृत्वमा दुई–दुई केन्द्रीय सदस्य रहने गरी तीन वटा निर्देशन समिति गठन गरेका हुन् । जसको मुख्य जिम्मेवारी नियमित महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाको महाधिवेशन गराउनु हो ।

भ्रातृ संस्थाहरूको नियमित महाधिवेशन गराउन नसक्दा लामो समयदेखि नेतृत्व हस्तान्तरण हुन सकेको छैन । यही ‘जाम’लाई खुलाउने भन्दै कांग्रेसले नेपाल विद्यार्थी संघ,नेपाल तरुण दल र नेपाल महिला संघको महाधिवेशन गराउन निर्देशन समिति गठन गरेको हो ।

सभापति शेरबहादुर देउवाले तरुण दल निर्देशन समितिको संयोजक सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई बनाएका छन् । उनको नेतृत्वमा केन्द्रीय सदस्यद्वय सरिता प्रसाईं र जीतजङ्ग बस्नेत सदस्य छन् ।

यसैगरी नेविसंघ निर्देशन समितिमा सहमहामन्त्री किशोरसिंह राठौरले जिम्मेवारी पाएका छन् । राठौरको नेतृत्वमा केन्द्रीय सदस्यद्वय प्रतिमा गौतम र राजीव ढुङ्गाना सदस्य छन् ।

महिला संघ निर्देशन समितिको जिम्मा सहमहामन्त्री उमाकान्त चौधरीले पाएका छन् । चौधरीको नेतृत्वमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य छन् ।

निर्देशन समितिले आफूले जिम्मेवारी पाएका भ्रातृ संस्थाको महाधिवेशनका लागि पार्टीका तर्फबाट आवश्यक समन्वय र निर्देशन गर्ने छन् । नेपाल महिला संघकी अध्यक्ष उषा राउत पार्टीले निर्देशन समिति बनाएपछि महाधिवेशन गराउन सहज हुने विश्वास गर्छिन् ।

‘महाधिवेशन गराउन सहज होस् भनेर निर्देशन समिति बनेको हो । उहाँहरूले हामीसँगको सहकार्यमा चुनावको प्रक्रियासम्म पुराउनु हुन्छ,’ राउतले भनिन्, ‘निर्देशन समिति बनेपछि उहाँहरूसँग सम्पर्क भएको छ । बाढी पहिरोको विपत् नआएको भए दसैँ अघि नै बैठक बसेर काम थालनी भइसक्ने थियो ।’

चैत मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने जिम्मेवारी निर्देशन समितिले पाएका छन् । महाधिवेशन नभए त्यसको जिम्मेवारी निर्देशन समितिले नै लिने गरी जवाफदेही बनाउने निर्णय केन्द्रीय समितिबाट भएको छ ।

नेविसंघको जिम्मेवारी पाएकी केन्द्रीय सदस्य प्रतिमा गौतम निर्देशन समितिले चैतभित्र महाधिवेशन सम्पन्न गराएर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गराइछाड्ने बताउँछिन् ।

‘भ्रातृ संस्थाको महाधिवेशन धेरै गिजोलियो । निर्देशन समितिले विवादहरू समाधान गर्दै महाधिवेशन गराएर नयाँ समितिलाई नेतृत्व हस्तान्तरण गराइछाड्छ,’ उनले भनिन्, ‘हामी दसैँपछि काम थाल्छौँ । अधिवेशनका लागि गर्नुपर्ने सबै काम हामीले गर्नुपर्ने हुन्छ ।’

नेतृत्वको आशीर्वादकै भरमा भ्रातृ संस्थालाई तदर्थवादमा चलाउन पल्किएको पार्टी हो नेपाली कांग्रेस । माउ पार्टीको शीर्ष नेतृत्वलाई भ्रातृ संस्था आफू अनुकूल बन्ने ‘ग्यारेन्टी’ नहुँदा तिनको अधिवेशन नभएको दशक पुगेको हो ।

भ्रातृ संस्थाहरू कांग्रेसका नर्सरी हुन् । नियमित अधिवेशनको माध्यमबाट नेतृत्व उत्पादनको कारखाना मानिने नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल तथा नेपाल महिला संघलाई चलायमान बनाउने कामबाट कांग्रेस चुकेकै हो । नियमित अधिवेशन नगराउँदा भ्रातृ संस्थाहरूले आफ्नो पकडका साथै सम्बन्धित विषय र मुद्दामा आवाज बुलन्द गर्ने नैतिक धरातलसमेत गुमाउँदै गएका छन् ।

कम्तीमा हरेक तीन वर्षमा हुनुपर्ने नियमित अधिवेशन हुन नसक्दा पुस्ता पलायन पनि ठुलो संख्यामा भएको छ । नेपालकै पुरानो दल कांग्रेसले आफूलाई एकमात्र लोकतान्त्रिक पार्टी भएको दाबी गर्दछ । तर, आफ्नै भ्रातृ संस्थाको वैधानिक अधिवेशन नगराएर पार्टीले लोकतान्त्रिक अभ्यासमा आफूलाई खरो उतार्न सकेको छैन ।

विद्यार्थीसँग जोडिएको नेविसंघ, युवा पुस्तासँग जोडिएको तरुण दल तथा आधाभन्दा धेरै जनसंख्यासँग जोडिएको महिला संघलाई पार्टीले उठ्नै नसक्ने गरी थला पार्दै लगेको छ । संस्थापन र इतर समूहले ६०–४० को भागबण्डामा मक्ख परेर तदर्थवाद हावी हुँदा कांग्रेस पार्टीनै कमजोर हुँदै गएको छ । कांग्रेसमा यी तीनबाहेक अन्य दर्जन हाराहारीमा भ्रातृ संस्था वैधानिकता गुमाएर बसेका छन् । त्यसैले निर्देशन समिति बनाएर भए पनि महाधिवेशन गर्नुपर्ने बाध्यतामा कांग्रेस पुगेको हो ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्मा सम्बन्धित निर्देशन समितिले सम्बन्धित भ्रातृ संस्थाको विधानसँग सम्बन्धित अप्ठ्यारो फुकाउने, फरकफरक बिचार समूहको व्यवस्थापन गर्ने, जिल्ला जिल्लामा देखिएका विवाद समाधान गर्नेमात्र होइन, अधिवेशनको तालिका टुङ्गो लगाउने तथा अधिवेशन नै सम्पन्न गर्ने जिम्मेवारी दिइएको उल्लेख गर्छन् ।

‘अब गगन, विश्वप्रकाश, पूर्णबहादुर दाइ या सभापतिले हेर्ने विषय रहेन । डेडिकेटेड टिम बनाएर उहाँहरूलाई जिम्मेवारी दिएका छौँ,’ महामन्त्री शर्माले रातोपाटीसँग भने, ‘अधिवेशनको प्रक्रियामा भ्रातृ संस्थाहरू लागेको भन्ने बुझ्नुपर्छ ।’

अन्य भ्रातृ संस्थाको निर्देशन समिति कहिले ?

नेविसंघ,तरुण दल र महिला संघबाहेक कांग्रेसका अन्य भ्रातृ संस्था पनि छन्, जसले महाधिवेशन कुरेर बसेका छन् । १५ भ्रातृ संस्थामध्ये २ वटाबाहेक अन्य दर्जन भ्रातृ संस्था अधिवेशन पर्खेर बसेका छन् । आदिवासी जनजाति महासंघ र मुस्लिम संघले मात्र केही समय अघि अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व स्थापित गरेका छन् । त्यसबाहेक अन्य भ्रातृ संस्था तदर्थवादको भरमा चलिरहेका छन् ।

तर, अन्य भ्रातृ संस्थाको अधिवेशन गराउने विषयमा कांग्रेसले निर्देशन समिति बनाउने तयारी गरेको देखिँदैन । एक कांग्रेस नेताका अनुसार अन्य निर्देशन समिति गठन गर्ने तयारी भएको छैन ।

‘मुख्य तीन भ्रातृ संस्थाको लागि बन्यो । अन्य तत्काल बन्ने तयारी छैन,’ ती नेताले भने, ‘सायद निर्देशन समिति नबनाई अधिवेशन हुन सक्छ ।’

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नेविसंघ, तरुण दल, महिला संघ, किसान महासंघ, दलित संघ, लोकतान्त्रिक खेलकुद संघ, प्रजातन्त्र सेनानी संघ, भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र थारु संघको महाधिवेशन हुन बाँकी छ ।

‘सबै भ्रातृ संस्थालाई एकै बास्केटमा हालेर हेर्न मिल्दैन । १४ औँ महाधिवेशन सम्पन्न भएपश्चान् २ भ्रातृ संस्था र अन्य शुभेच्छुक संस्थाको अधिवेशन भएका छन्,’ महामन्त्री शर्माले भने, ‘हामी प्रक्रियामा छौँ । सधैँ तदर्थवादमा भ्रातृ संस्था चल्छ भन्न मिल्दैन ।’

कहिलेबाट भएन अधिवेशन?

नियमित महाधिवेशन नभएको भन्दै २०७८ फागुन ३ मा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले १० भ्रातृ संस्थाहरूको केन्द्रीय समिति भङ्ग गरेको थियो । त्यस बखत नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपाङ्ग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघका केन्द्रीय समिति भङ्ग गरिएको थियो ।

नेपाल विद्यार्थी संघको अन्तिम पटक ०७३ मा महाधिवेशन भएको थियो । त्यसपश्चान् संघ तदर्थवादमा चलिरहेको छ । २०७६ सालमा पहिलो पटक राजीव ढुङ्गाना तदर्थ समिति अध्यक्ष बने । उनी पार्टीको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि ०७८ चैत ९ मा दुजाङ शेर्पाको संयोजकत्वमा महाधिवेशन गर्ने गरी तदर्थ समिति बनाइयो । पटकपटक तदर्थ समितिको म्याद थप भए पनि हालसम्म महाधिवेशनको टुङ्गो लागेको छैन ।

उस्तै हविगत नेपाल तरुण दलको पनि छ । ०७३ पछि नियमित अधिवेशन हुन नसकेको तरुण दलको तदर्थ नेतृत्वमा विद्वान गुरुङ छन् । उनी ०७८ चैत ९ मा तदर्थ समितिको अध्यक्ष बनेका हुन् ।

हाल नेपाल महिला संघको तदर्थ समितिको नेतृत्व उषा राउत मिश्रले गरिरहेकी छन् । उनलाई ०७९ मा सभापति शेरबहादुर देउवाले तदर्थ समितिको जिम्मेवारी दिएका हुन् । महिला सङ्घको पनि ०७३ पछि महाधिवेशन भएको छैन ।

नेपाल किसान महासंघको अवस्था झन् बिजोग छ । महासङ्घको ०६४ पछि महाधिवेशन हुन सकेको छैन । नेपाल प्रजातन्त्र सेनानी संघको पनि ०६४ पछि महाधिवेशन हुन सकेको छैन । हाल बालकृष्ण दाहाललाई तदर्थ समिति संयोजक बनाइएको छ । नेपाल दलित संघको पनि ०६९ पछि महाधिवेशन हुन सकेको छैन । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले ०६६ मा मान्यता पाए पनि त्यसपश्चात् महाधिवेशन गराएकै छैन । नेपाल भूतपूर्व सैनिक संघको ०७३ जेठ २३ पछि महाधिवेशन भएको छैन । नेपाल ठाकुर समाजले ०७९ साउनमा महाधिवेशन गराए पनि विवादका कारण समिति खारेज भएको छ । ०७९ साउन २ गते नेपाल थारु संघले मान्यता पाएको हो । संघको असोज २० मा केन्द्रीय तदर्थ समिति विस्तार भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ पनि केन्द्रीय तदर्थ समितिकै भरमा चलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप