सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा ४६ लाख जनसङ्ख्यालाई खाद्य असुरक्षा

सोमबार, २१ असोज २०८१, १९ : ३९
सोमबार, २१ असोज २०८१

काठमाडौँ । नेपालमा कुल जनसङ्ख्यामध्ये ४६ लाख जनसङ्ख्यालाई खाद्य असुरक्षा रहेको छ । विश्व खाद्य दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कुनै नकुनै प्रकारले खाद्य असुरक्षा रहेको जनसङ्ख्या ४६ लाख रहेको बताइएको हो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. राम कृष्ण श्रेष्ठले घरपरिवारको हिसाबले करिब आधा जनसङ्ख्यामा खाद्य असुरक्षा देखिएको बताए । उनले जम्मा घरधुरीमध्ये ५२ प्रतिशत घरधुरीमा खाद्यको असुरक्षा देखिएको बताए । ‘५२ प्रतिशत घरधुरी खाद्य असुरक्षा देखिन्छ । त्यसमध्ये पनि खाद्य असुरक्षा २० प्रतिशत, मध्यम प्रकारको खाद्य असुरक्षा २२ प्रतिशत र गम्भीर प्रकारको खाद्य असुरक्षा १० प्रकार घरधुरी सङ्ख्या छ,’ उनले भने ।

शरीरलाई चाहिने सूक्ष्म, भिटामिन, मिनिरल विभिन्न प्रकार आवश्यक पर्छ तर सो खाद्य तत्त्व प्राप्त हुन नसकेको उनले बताए । ‘शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट मात्रै खानका लागि प्रतिपरिवार १४१ रुपैयाँ खर्च सकेका छौँ,’ उनले भने, ‘यसलाई पोषण युक्त बनायो ३४८ रुपैयाँ हुन्छ । २४७ रुपैयाँ महँगो पर्छ । यस्तो खानामा खर्च गर्न सक्ने परिवार २२ प्रतिशत मात्रै छन् ।’  

खाद्य असुरक्षाको रेखामुनि रहेका ७६ राष्ट्रहरूमध्ये विश्वव्यापी भोकमरी सूचकाङ्कमा ४४ औँ स्थानमा नेपाल पर्दछ । करिब ४१ प्रतिशत मानिसले आवश्यक न्यूनतम आहारभन्दा कम उपभोग गरिरहेका छन् । सरकारी निकायको प्रयासका कारण दीर्घ कुपोषण (पुड्कोपन)को अवस्थामा केही सुधार आएता पनि यो अझै पनि उच्च नै रहेको सहसचिव श्रेष्ठले बताए । उनले अझै पनि नेपाली बालबालिकामा ख्याउटेपन देखिएको बताए । ‘ कृषिको उत्पादन, उपभोग बढेको छ,’ उनले भने, ‘तर फास्ट फुड र प्याकेजका खाद्य वस्तु खाने प्रचलन बढेको छ, यसले पोषणयुक्त खानमा सहयोग पुगेको देखिँदैन ।’

कृषि अभियन्ता उद्धव अधिकारले साना किसानले थेगेको कृषिलाई सुधार गर्नका लागि सरकारले रणनीति बनाउनु पर्ने सुझाए । सरकारले कृषि बीमाको रणनीति ल्याए पनि प्राकृतिक विपद्ले पुर्‍याएको क्षतिलाई सहयोग नगर्ने देखिएको गुनासो गरे । उनले यसलाई सुधार गरी यस्ता क्षतिलाई पनि बीमाले सम्बोधन गर्नुपर्ने धारणा राखे । ‘प्राकृतिक क्षतिलाई बीमाबाट सहयोग गर्नपर्छ, जसका लागि सरकारले कोष बनाउनु पर्छ,’ उनले भने, ‘किसानलाई चिन्ने आधार बढाउनु पर्ने । समुदाय तहमा गएर वास्तविक किसानको पहिचान गर्नुपर्छ ।’ यस्तै, उनले सरकारले समर्थन मूल्य कार्यान्वयन जोड दिनुपर्ने बताए ।

कृषि विभागका प्रवक्ता डा. अरुण काफ्लेले खाद्यका लागि ऐन र नियमावाली आइसकेको बताए । खाद्य दिवसको नारालाई सार्थक बनाउन सबै पक्षको दायित्व रहने उनले बताए ।

‘सुखी जीवन र समुन्नत भविष्यको लागि खाद्य अधिकार’ नाराका साथ सोमबार ४४ औँ विश्व खाद्य दिवस २०८१ मनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप