सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

राहत एवम् पुनर्निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

सोमबार, २१ असोज २०८१, १६ : ५९
सोमबार, २१ असोज २०८१

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरूलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । 

माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ‘बाढी पहिरोबाट प्रदेशमा ठुलो क्षति भएकोले राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको नियमित बजेटबाट सम्भव हुने नदेखिएकोले सङ्घीय सरकार, विकास साझेदार दातृ निकायहरू तथा निजी क्षेत्रसमेतको सहयोग जुटाउनेगर ‘राहत एवं पुनर्निर्माण कोष’ स्थापना गरियोस्,’ उनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । 

यस्तै उनले बेपत्ताहरूको खोजी, उद्धार र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडितलाई दसैँअघि नै राहत दिन माग पनि गरेका छन् । दलको प्रमुख सचेतक गीता तिम्सिना र सचेतक सपना परियारसहित पुगेको टोलीले बाढीबाट विस्थापित भएर घरबारविहीन भएका र घरमा क्षति पुगेका नागरिकको लागि तत्काल बसोबासको व्यवस्थापन गर्न पनि माग गरेको छ । 

विपद्का कारण आम नागरिक, किसान, साना व्यवसायी, जलविद्युतलगायत विभिन्न आयोजनाहरूमा भएको क्षति मूल्याङ्कन गरी उचित क्षतिपूर्तिको लागि प्रदेश सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताउँदै आङबोले बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन सडक, पुल पुलेसाको मर्मत कार्यमा तीव्रता दिँदै तत्काल सञ्चालन हुन नसक्ने स्थानमा वैकल्पिक बाटो प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका छन् । 

ज्ञापनपत्रमा विपदपूर्वको आवश्यक तयारी तथा प्रतिकार्यको तयारीमा सरकार चुकेको भन्दै विषम परिस्थितिमा आम नागरिकमा आशाको सञ्चार गर्दै प्रभावकारी प्रतिकार्य, राहत र सहयोग हुनुपर्नेमा सरकारका तर्फबाट एकीकृत, समन्वयकारी र प्रभावकारी पहल हुन नसकेको उल्लेख छ । ‘विपत् प्रतिकार्यको समयमा सरकारको उच्च राजनीतिक नेतृत्वको सक्रियता नदेखिनु दुःखद अवस्था हो । जसले गर्दा जनस्तरबाट आलोचना र आक्रोश बढेको देखिन्छ,’ उक्त पत्रमा भनिएको छ । ज्ञापनपत्रमा सरकारले यो घटनाबाट पाठ लिएर तत्कालीन तथा दीर्घकालिनरुपमा विपत् व्यवस्थापनका लागि काम गर्नुपर्नेमा जोड दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप