सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
सडकको दुरावस्था

कर्णाली राजमार्ग जीर्ण, यात्रा गर्दा कुलदेवता पुकार्छन् यात्रु

टालटुलका लागि ६ वर्षमा झण्डै ६ करोड खर्च, अवस्था उस्तै
सोमबार, २१ असोज २०८१, १७ : ३०
सोमबार, २१ असोज २०८१

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बाङ्गेसिमलदेखि दैलेख र कालिकोटको सिमाना दहीखोलासम्मको दुरी १३२ किलोमिटर छ । सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको उक्त सडकखण्डका खाल्टा टालटुल गर्नमात्रै ६ वर्षको अवधिमा झण्डै ६ करोड रकम खर्च भएको छ । तर राजमार्गको अवस्था भने अझै बेहाल छ ।

साँघुरो र ठाउँ–ठाउँमा उप्किएको कालोपत्रेले राजमार्गमा दुर्घटनाको जोखिम बढाइरहेको छ । अर्कोतर्फ सवारी साधनको पार्टपुर्जा छिट्टै बिग्रिने गरेको सवारी चालक बताउँछन् । यात्रुलाई पनि यो सडकमा निकै सास्ती हुने गरेको छ ।

यो सडक यति जोखिमपूर्ण छ कि यात्रा गर्दा आफ्ना देवी–देवतालाई पुकार्छन्् यात्रीहरू । केही दिनअघि सुर्खेतबाट दैलेखको ठाटीकाँध जाँदै गरेका पारस शाहीले भने, ‘सुविधा होस्, गन्तव्यमा छिटो पुगियोस् भनेर गाडी चढिन्छ, तर यहाँ त ठिक उल्टो भयो ।’

घरबाट निस्कने बेला सधैँ आफ्ना कुलदेवतालाई पुकारेर मात्रै गाडी चढ्ने गरेको उनले सुनाए । रोजगारीका लागि भारत गएर फर्किएका उनी आफूले थाहा पाएदेखि नै यो बाटोको अवस्था उस्तै रहेको बताउँछन् ।

राकम कर्णालीका अर्जुन शाही पनि ‘भगवान भरोसा’मै यात्रा गर्नुपर्ने बताउँछन् । ‘हामी यो सडकमा यात्रा गर्न थालेको झण्डै १५ वर्षजति भयो होला, तर राज्यले यो सडकको स्तरोन्नतिमा ध्यान दिएन,’ उनले भने, ‘यो सडक कहिले राम्रो बन्ला ?’

यतिबेला चाडपर्वको समय छ । दसैँ सुरु भएसँगै राजमार्गमा सवारी साधनको चाप बढेको छ । तर सडकको अवस्था बेहाल हुँदा यात्रु समयमा गन्तव्यमा पुग्दैनन् । वीरेन्द्रनगरदेखि रामघाटसम्मको दुरी करिब १०० किलोमिटर रहे पनि सडक जीर्ण भएकाले पाँच घण्टा लाग्ने गरेको उक्त राजमार्गमा सवारी साधन चलाउँदै आएका गणेश रोकाया बताउँछन् । यदि सडक पूरै कालोपत्रे र सहज भएको खण्डमा साढे दुई घण्टामै पुग्न सकिने उनको आकलन छ ।

पानी परेको खण्डमा राजमार्गमा झन् समस्या आउने गरेको छ । तल कर्णाली नदी, माथि पहाडको खोँच हुँदै बनेको छ सडक । द्वन्द्वकालमा निर्माण कार्यमा बिलम्ब हुँदा सडक एकसरो मात्रै खनियो । जसका कारण अहिले यो सडक ‘मृत्यु मार्ग’ का नामले चिनिन्छ । यो सडकमा बर्सेनि हुने दुर्घटनामा सयौँ नागरिकले अकालमै ज्यान गुमाइरहेका छन् ।

घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने यो सडक  स्तरोन्नतिमा राज्यको ध्यान पुगेको छैन । केन्द्र अन्तर्गत भएकाले प्रदेश सरकारले यो सडकका लागि बजेट छुट्ट्याउने गरेको छैन । यो राजमार्गको टालटुल, मर्मत मात्रै नभइ पूर्ण रूपमा स्तरोन्नति गर्नुपर्ने छ । तर केन्द्र सरकारले बजेटमा उपेक्षा गर्दै आएको छ ।

2

राजमार्ग स्तरोन्नतिका लागि त परै जावस्, टालटुल र मर्मतका लागि समेत पर्याप्त बजेट नहुँदा यात्रा कष्टकर बन्दै गएको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतले खाल्टा टालटुल गर्ने काम गर्दै आएको छ । डिभिजन कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलका अनुसार आर्थिक वर्ष ०७५/०७६ देखि अहिलेसम्म १३२ किलोमिटर सडकको खाल्टाखुल्टी टालटुलमा मात्रै झण्डै ६ करोड रकम सकिएको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा ७९ लाख ९० हजार, ०७६/०७७ मा ६४ लाख ५२ हजार, ०७७/०७८ मा २२ लाख ६० हजार रकम टालटुलमा सकिएको छ । यस्तै आर्थिक वर्ष ०७८/०७९ मा १ करोड ३१ लाख रकम खर्च भएको छ भने ०७९/०८० मा ४९ लाख ४८ हजार रकम सकिएको छ ।

karnali rajmarga 2

आर्थिक वर्ष ०८०/०८१ मा टालटुलका लागि पनि बजेट थिएन भने चालु आर्थिक वर्ष केही सडक कटिङका लागि ५० लाख र अन्य कामका लागि दुई करोड रकम विनियोजन गरिएको छ ।

टालटुलका लागिमात्रै करोडौँ रकम सकिँदा पनि राजमार्गमा यत्रतत्र खाल्टाखुल्टी छन् भने कालोपत्रे उप्किएर घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुन्छ ।

राजमार्ग अन्तर्गत सुर्खेतको कुल्यानकाँधदेखि तल्लो डुङ्गेश्वरखण्ड भूगोलका कारण निकै जोखिमपूर्ण छ । उक्त खण्डको केही ठाउँमा कालोपत्रे रहे पनि सडक साँघुरो रहेकाले सवारी साधन आहोरदोहोरमा समस्या छ । तल्लो डुङ्गेश्वरदेखि दहीखोलाखण्डको अधिकांश कालोपत्रे उप्किएको छ । निकै जीर्ण अवस्थामा रहेको उक्त खण्ड अन्तर्गत पालिका मोडदेखि पादुका खोलाको अवस्था झन् नाजुक छ ।

karnali rajmarga

अत्यधिक साँघुरो, धेरै मोड तथा घुम्ती भएको, भिरालो तथा चट्टानी भूगोल भएकाले ती खण्ड अत्यधिक जोखिमयुक्त रहेको सडक डिभिजन सुर्खेतले जनाएको छ । तल्लो डुङ्गेश्वर–राकम कर्णालीसम्मको जीर्ण सडक मर्मतका लागि विभिन्न समयमा व्यवस्थापन भएका निर्माण सम्झौतामा निर्माण कम्पनीले समयमा काम नगर्दा समस्या भएको सडक डिभिजन सुर्खेत कार्यालयका डिभिजन प्रमुख इन्जिनियर खुमबहादुर भण्डारी बताउँछन् ।

‘मर्मत तथा स्तरोन्नतिका लागि बजेट व्यवस्थापन हुँदैन । हरेक वर्ष वर्षाका कारण पहिरो जाने हुँदा जीर्ण सडक बन्यो,’ उनले भने, ‘हामीले काम नगर्ने चार निर्माण कम्पनीको ठेक्का सम्झौता अन्त्य गरिदिएका छौँ भने ती कम्पनीलाई सार्वजनिक खरिद अनुगमन तथा मूल्याङ्कन कार्यालयबाट कालोसूचीमा राखिएको छ ।’

साथै उनीहरूलाई सम्झौता शर्त एवं कानुन अनुसार हुने सम्पूर्ण कारबाहीको प्रक्रिया अघि बढेकोसमेत भण्डारीले बताए ।

ठेक्का अन्त्य पश्चात उक्त सडकखण्डमा मर्मत तथा पुनर्निर्माणका लागि लागत अनुमान गरी सडक बोर्डबाट आवश्यक बजेट व्यवस्थापनका लागि प्रस्ताव पेस गरिएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा पालेतडादेखि असाराघाटसम्मको १० किलोमिटर सडक मर्मतका लागि ठेक्का व्यवस्थापन प्रक्रियामा छ । अहिले वर्षाका कारण ठाउँ–ठाउँमा गएको पहिरोले सडकको अवस्था कुरुप देखिएको छ ।

4

भण्डारीका अनुसार पहिरो गएका र ठुल्ठुला खाल्टाखुल्टी रहेका ठाउँमा पन्छाउने र पुर्ने काम भइरहेको छ । चाडपर्वका सजिलो होस् भनेर सम्पूर्ण मेसिनरी सामान राजमार्गमा परिचालन गरिएको उनले बताए ।

१३ वर्षदेखि बन्न सकेन एउटा पुल

यो राजमार्ग अन्तर्गत दैलेखको ज्याक्सी खोला भन्ने ठाउँमा १३ वर्षदेखि पुल बन्न सकेको छैन । पुल निर्माणका लागि आर्थिक वर्ष ०६८/०६९ मै ठेक्का भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण अहिलेसम्म बन्न नसकेको सडक डिभिजनका इञ्जिनियर टोपनारायण पौडेल बताउँछन् ।

उनका अनुसार ०७९ जेठ २८ गते काम नगर्ने ठेकेदारको ठेक्का अन्त्य गरिएको छ भने ठेक्का सम्बन्धी अदालती मुद्दा/मामिलाको कारबाही र ठेक्का अन्त्य पश्चात गर्नुपर्ने सम्पूर्ण कानुनी कारबाही गरिएको छ । आगामी आर्थिक वर्षमा नयाँ ठेक्का व्यवस्थापन गर्न आवश्यक बजेट व्यवस्थापन र ठेक्का सहमतिका लागि निर्णय हुन प्रस्ताव गरिएको डिभिजन कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप