सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

सरकार ‘नालायक’ भयो : प्रभु साह

सोमबार, २१ असोज २०८१, १६ : ३३
सोमबार, २१ असोज २०८१

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्षासँगैको बाढीपहिरो पीडितलाई सरकारले राहत उपलब्ध नगराएको भन्दै आक्रोश पोखेका छन् । उनले सरकार ‘नालायक’ भएको टिप्पणी समेत गरे ।

महापर्व दसैँ, दीपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको फतुवाबिजयपुर नगरपालिकाको बैरगनियामा सोमबार पार्टीद्वारा आयोजित भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा सहभागी साहले बाढीपहिरोबाट पीडितको उद्धारमा सरकारले ढिलाइ गरेकाले अमूल्य जनधनको ठुलो क्षति भएको बताए । 

‘सरकारले समयमै पीडितको उद्धार गरेको भए सयौँ मान्छेको मृत्यु हुँदैन्थ्यो । अर्बौँको क्षति हुँदैन्थ्यो । उद्धारका लागि छटपटाइरहेका पीडितहरू अहिले राहतका लागि पर्खिरहेका छन् । तर पीडितको उद्धारमा असफल र असक्षम रहेको सरकार कता छ, खोज्नुपर्ने अवस्था छ’ साहले भने, ‘किसानले लगाएको बाली घर भित्र्याउने बेलामा बाढीले क्षति भएको छ । सर्वसाधारण किसान बिहान बेलुका के खाने, कहाँ बस्ने ठेगान छैन । तर सरकार अतिरिक्त तलब लिएर खसी काटेर दसैँको भोजमा रमाइरहेको छ । सर्वसाधारणको बारेमा सोच्ने, बोल्ने, राहत दिने उनीहरूलाई फुर्सत नै छैन।’ 

बाढीपहिरोमा परी अमूल्य जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै उनले राहत वितरणमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिएका छन् ।

साहले महँगी नियन्त्रण गर्न नसकेको सरकार पूर्ण रूपमा असफल र असक्षम रहेको पनि टिप्पणी गरेका छन् । 

‘सरकारी संरक्षणमै व्यापारीले लुट मच्चाएका छन् । यातायातका भाडामा मनोमानी रूपमा यात्रुबाट लुटिँदै छ । यहाँ सरकार नै नभएको जस्तो छ । सरकार भएको भए यसलाई नियन्त्रण गर्थ्यो, सहज बनाउँथ्यो’, साहले भने, ‘पशुपति शर्माको गीत जस्तै भएको छ यहाँ, लुट्न सके लुट कान्छा, नेपालमै छ छुट....।’

सांसद समेत रहेका आजपा अध्यक्ष साहले दसैँ बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने समेत बताए । 

सरकारले देशैभरीका कर्मचारीलाई चाडपर्व बापत दिने एक महिनाको अतिरिक्त रकम ३० अर्बभन्दा बढी हुने भएकाले त्यो रकमले बाढीपहिरो पीडितको घर निर्माण, खाना लगायतका क्षेत्रमा खर्च गर्दा राम्रो हुने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप