सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

विपत‍्मा सरकारले आफ्नो रफ्तार बढाउनुपर्छ :  अष्टलक्ष्मी शाक्य

अब पनि हामीले विपद व्यवस्थापनको पूर्वतयारी नगरे अझ ठुलो दुर्घटना हुनसक्छ
सोमबार, २१ असोज २०८१, १६ : १०
सोमबार, २१ असोज २०८१

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विपत‍्मा सरकारले रफ्तार बढाउनुपर्ने बताएकी छन् । असोज ११ र १२ परेको अविरल वर्षापछिको बाढीपहिरो र डुबानले मुलुकलाई ठुलो क्षति भएको भन्दै उनले पीडामा परेका नागरिकहरूलाई जतिसक्दो चाँडो मलहम पट्टी लगाएर सरकार भएको आभास दिनुपर्ने बताइन् ।

‘यस्तो विपत‍्का बेलामा जनताको साथमा सरकार र राजनीतिक पार्टीहरू पनि छन् भन्ने महसुस गराउनुपर्छ’, रातोपाटीसँगको कुराकानीमा शाक्यले भनिन्, ‘त्यसका लागि सरकार ‘एक्सन ओरेन्टेड’ हुनुपर्छ ।’ विपत‍्मा एमाले के गर्दैछ ? सरकारको काम गराइमा ढिलासुस्ती किन भइरहेको भनेर रातोपाटीले शाक्यलाई सोधेको छ । प्रस्तुत छ, उनीसँगको संक्षिप्त कुराकानी-

  • दसैँको मुखमा वर्षाजन्य विपत्तिले नागरिकहरू पीडामा छन्, जनता पीडामा परेको अवस्थामा नेकपा एमाले के गर्दैछ ?

नेकपा एमालेले पार्टीगत रूपमा पीडामा परेका नागरिकलाई राहत, उद्धार र पुनर्स्थापनामा सहयोग गर्नुपर्छ भनेर केन्द्रीय सचिवालय बैठकमार्फत निर्णय गरेको छ । प्रधानमन्त्री अमेरिकाबाट फर्कने बित्तिकै बसेको उक्त बैठकको निर्णयअनुसार पार्टीका सबै कमिटीहरूलाई नागरिकको सेवामा खट्न निर्देशन पनि दिइसकेको छ ।

सचिवालय बैठकअघि पनि हामी विपत‍् व्यवस्थापन विभागको बैठक बसेर सबै जनसङ्गठनका प्रमुखहरूलाई बोलाएर तुरुन्तै पीडामा परेका जनताकाबीचमा उद्धार, राहत, पुनर्स्थापना र सरसफाइका काम गर्न पार्टी पङ्क्ति परिचालन गर्न भनेका थियौँ । अहिले अरु सबै काम छाडेर जनताको दुख कष्टमा साथ दिनुपर्छ भन्ने सोचले हामीले यस्तो निर्णय गरेका हौँ । विपत‍्कै कारण यो वर्ष दसैँको शुभकामना आदानप्रदान समेत नगर्न र जनताको दु:ख र पीडामा मलहम पट्टि लगाउन पार्टीपक्तिलाई निर्देशन गरेका छौँ ।

  • पार्टीको निर्देशनअनुसार सबै पार्टी पङ्क्ति जनताको सेवामा खटिएका छन् त ?

सबै कुरा त मलाई थाहा छैन । तर प्रभावित क्षेत्रका पार्टी कमिटीहरूले सकेको काम गरिरहेका सूचना आएका छन् ।

  • एमालेको नेतृत्वमा सरकार छ, तर प्रभावित नागरिकहरूले अहिलेसम्म पनि सरकार देख्न पाएनौँ भनेको सुनिन्छ । तपाईंलाई सरकारले चुस्त दुरुस्त काम गर्न सकेको छ भन्ने लाग्छ ?

पर्याप्तको मापन के हो ? कतिसम्म भयो भने पर्याप्त हुन्छ ? त्यसैले पर्याप्तको कुरा नगरौँ । किनभने यो धेरै ठुलो नोक्सान हो । आँखै अगाडि मानिस ढल्नु भनेको यो भन्दा ठुला पीडा के हुन्छ ? आफ्नो मेहनत सबै बगाउनु, श्रीसम्पत्ति डुब्नु नै सबैभन्दा ठुलो पीडा हो । यस्तो बेलामा पर्याप्त भन्ने कुरा हुँदैन । तरपनि पीडामा संवेदनशील हुनुपर्छ । मलहम लाउने हुनुपर्छ, जबाफदेही हुनुपर्छ । यस्तो बेलामा जनताको साथमा सरकार छ है, पार्टीहरू पनि छन् भन्ने महसुस गराउनुपर्छ । त्यसका लागि सरकार ‘एक्सन ओरेन्टेड’ हुनुपर्छ भनेर मैले भन्ने गरेको छु । यसका साथै अब पनि हामीले विपत‍् व्यवस्थापनको पूर्व तयारी गरेनौँ भने अझ ठुलो दुर्घटना हुनसक्छ । यसपटक पनि यसमा हामीले समयमै ध्यान दिन नसकेकै हो । कमजोरीलाई सच्चाएर अब अघि बढ्नुको विकल्प छैन ।

  • विपत‍् व्यवस्थापनको पूर्व तयारीमा त कमजोरी नै देखियो । विपत‍्पछि पनि सरकार जुन एक्सनमा जानुपर्ने हो त्यो देखिएन यसमा के कारणले कमजोरी हुन पुगेको जस्तो लाग्छ ?

 ढिलै भएपनि सरकार एक्सनमा त गयो, एक्सनमै गएन भन्ने पनि होइन । सर्वदलीय बैठक बस्यो, विभिन्न निर्णय पनि गर्‍यो, काम गर्ने भनेको त सरकारले नै हो । तर जति गर्नुपर्ने हो त्यति नगरेको हुनसक्छ ।  

  • विपत‍्पछि प्रमुख प्रतिपक्ष दलको नेताले सर्वदलीय बैठक बोलाएपछिमात्र सरकार पक्षले सर्वदलीय बैठक बोलाएको देखियो । यसमा त सरकारको उदासीनता नै देखियो नि ?

त्यो स्थिति आउन दिनुहुँदैन थियो । तातिने भनेको प्रमुख प्रतिपक्ष होइन, सरकार नै हो । जहाँ जे स्रोत छ त्यो परिचालन गर्दै सवैलाई समेट्ने काम सरकारको हो । मनमुटाबहरू सबै थाती राखेर विपत‍्को सामना गर्दै जनतालाई बचाउने हो । एकै पटक सरकारले सबै समस्या समाधान नगर्ला तर राहत र पुनर्स्थापनाका कुरामा सबै मिलेर अघि बढ्नुपर्ने थियो । त्यसका लागि पहलकदमीमा थोरै कमजोरीचाहिँ भएको छ । अब दसैँ तिहारको बेला छ । बित्नेहरू बिते पनि बाँचेकाहरूलाई कठिन छ । बस्ने बास छैन, लगाउने कपडा छैन । यातायात अवरुद्ध छ । विभिन्न जिल्लामा जाँदा पनि कतिबेला के हुन्छ भन्ने त्रास अझैपनि छ ।

  • केन्द्रमा कांग्रेस एमालेको बलियो सरकार छ, प्रदेश र स्थानीय तहमा पनि सरकार छन् । यस्तो बेलामा आइलागेको संकटमा पनि तदारुकताका साथ काम सरकारले काम गरेको देखिँदैन । यसमा तीन तहका सरकारबिचको समन्वय पनि नभएको हो कि जस्तो देखिन्छ तपाईंले त्यो महसुस गर्नुभएको छ ?

सरकारहरूका बीचमा समन्वयको अभाव देखियो,यसमा दुई मत छैन । त्यसमा पनि विज्ञहरूले अग्रिम सूचना दिएका थिए । विज्ञहरूले भनेकै बेलामा तत्काल सर्वदलीय बैठकहरू बसेर पूर्वतयारीका काम गर्न सकेको भए क्षति कम हुन सक्थ्यो । तर जे छ त्यसकै आधारमा आपत‍्विपतमा काम गर्नुपर्छ । आपत‍्विपतमा पशुपन्छी र मान्छेले मान्छेलाई बचाउने हो । पशुपन्छी बचाउन सकिएन भनेपनि पहिलो प्राथमिकता मान्छे बचाउने हुनुपर्छ । त्यसैले सरकारले केही गरेन भन्ने कुरा पनि होइन । भन्नेले त सरकार चुक्यो, असफल भयो भन्लान् तर त्यसरी पनि टिप्पणी गर्ने होइन । बरु सरकारले गरेको काममा के पुगेन ? के कुरामा ढिला र कमजोरी भयो भनेर केलाउन जरुरी हुन्छ । किनभने आगामी दिनका लागि पनि यो गर्न जरुरी छ ।

आपत् पर्दा यो गर्ने र त्यो गर्ने भन्ने अनि केही समयपछि सबै बिर्सने समस्या वा प्रवृत्ति नागरिकदेखि सरकारसम्मै छ । यसलाई सुधार गर्न के गर्नुपर्ला त ?

नहुनुपर्ने कुरा यही हो । हामी कोरोनाबाट पीडित भएको धेरै भएको छैन । कोरोनाबाट हामीले धेरै कुरा गुमाएर पनि बिर्सियौँ । हाम्रोमा बाढीपहिरो, आगलागी र भूकम्प पनि आइरहन्छ । यस्ता विभिन्न प्रकृतिका विपत्ति आउँदा के गर्ने, कसरी कमभन्दा कम क्षति बेहोर्ने भनेर स्रोत र साधनले भ्याउनेसम्मको पूरै तयारी गर्न जरुरी छ । हामीमध्ये कतिपयमा प्रकृतिलाई दोहन गर्ने प्रवृत्ति छ । प्रकृतिलाई दोहन गरेपछि हामीलाई बाँकी राख्दैन । प्रकृतिसँग मिलेर अघि बढ्ने रणनीति बनाउन जरुरी छ । प्रकृति बोल्दैन तर उ आफ्नै ढङ्गले अघि बढ्छ ।

  • बाढीपहिरो र डुबानले क्षति गरेको १० दिन बितिसकेको छ । अहिलेसम्म सरकार क्षति सङ्कलनमै अलमलिएको छ । अनि पीडामा परेका नागरिकलाई त सरकार हुनु र नहुनुमा के भिन्नता होला र ?

 यस्तो बेलामा सरकार सुस्त होइन चुस्त हुनुपर्छ । बाहिरको मानिसले भन्दा गर्नुपर्ने सरकारले नै हो । सरकारसँग के छैन ? चाहेको खण्डमा सरकारले कठिन काम पनि गर्नसक्छ । सरकार यतिबेला एक सेकेन्ड पनि आराम गर्ने बेला होइन । सबै स्रोतसाधन र शक्ति परिचालन गर्ने बेला हो यो ।

  • तर तपाईंले भनेजसरी सरकार किन परिचालन भएन भन्ने मेरो प्रश्न हो ?

समस्या नभएको होइन । तर सरकारले नगरेको पनि होइन । गरिरहेको छ । तर जुन खालको विपत‍् आयो सोही खालको रफ्तार भएन भन्ने मलाई पनि लागेको छ ।

त्यसकारण मैले भन्ने गरेको छु सबै कुरा छाडेर अर्को मानिसको पीडामा मानवीय भावनाका साथ सहयोग गर्नुपर्छ । साथै जलवायु परिवर्तनको असर के कसरी पर्दैछ भन्ने पनि हामीले हेक्का राख्नुपर्छ । त्यसबारे हामीले छलफलको विषय पनि बनाएका छैनौ । युरोपलगायत कतिपय मुलुकमा जलवायु परिवर्तनको एजेन्डा बोकेन भने भोट नै हाल्दैनन् । अव यसमा पनि हाम्रो ध्यान जानुपर्छ र छलफल बढाउनुपर्छ । मानिस नै रहेन भने समृद्धि र विकासको अर्थ हुँदैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप