सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

‘मोहन सर : व्यक्ति र कृति’ सार्वजनिक

सोमबार, २१ असोज २०८१, १४ : ५९
सोमबार, २१ असोज २०८१

सल्यान । सल्यानको शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व मोहनसिंह थापाबारे पुस्तक प्रकाशन भएको छ । ‘मोहन सर : व्यक्ति र कृति’ स्मृतिग्रन्थ सल्यान सदरमुकाममा विश्व शिक्षक दिवस तथा मोहनसिंह थापाको जन्मदिनको अवसर पारेर लोकार्पण गरिएको हो ।

पुस्तकमा ६१ वर्षको उमेरमै दिवङ्गत मोहनसिंह थापाबारे ४५ जनाका स्मृति तथा उनका अप्रकाशित डायरी पनि सङ्गृहीत छन् । ती सबै स्मृतिहरूको सार छ— उनी यस्तो शिक्षक थिए जो आफ्नो औपचारिक अध्ययनभन्दा माथिल्लो तहमा सल्यान क्याम्पसमा पढाउँथे । बिहान सबेरैदेखि राति अबेरसम्म पढाउँदा पनि ट्युसन फि लिन्नथे । उनले जीवनभर पढाइरहे तर नियमित तलब–सुविधा, पेन्सन, स्थायित्व पाएनन् । 

आजीवन शिक्षण कर्म गरेका थापाले बिहान सबेरैदेखि राति अबेरसम्म आफ्नै घरमा पनि निःशुल्क पढाउँथे । २०२८ सालको एलएसलीमा जिल्ला प्रथम भएका थापाको पहुँच नपुग्नाले छात्रवृत्तिमा थप पढ्न पाएनन् । 

आफ्नो शैक्षिक योग्यताभन्दा माथि उनले सल्यान क्याम्पसमा स्नातक तहलाई लामो समय पढाएका थिए । सर्टिफिकेट नभएको भन्दै सल्यानको पहिलो विद्यालय त्रिभुवन जन माविमा १८ वर्ष पढाए पनि उनी रित्तै हात बिदा भएका थिए । 

२०४९ मा सल्यान क्याम्पस खुलेपछि उनले सर्टिफिकेटबिनै गणित र अर्थशास्त्र पढाएका थिए । गाउँगाउँबाट सदरमुकाम पढ्न आउने धेरैलाई उनले निःशुल्क डेराबास दिन्थे । आजीवन अविवाहित मोहन थापालाई सबैले मोन सरका नामले चिन्छन् । 

पुस्तकलाई मोहन सरका विद्यार्थी प्रवीण भण्डारी र विमल आचार्यले स्वयंसेवी रुपमा सम्पादन संयोजन गरेका हुन् भने प्रकाशन खर्च मोहन सरका भाइ भूपेन्द्र र बहिनी सोबिताले व्यहोरेका छन् । पुस्तक सबैलाई निःशुल्क वितरण गरिएको छ ।

पुस्तक लोकार्पण गर्दै कर्णाली प्रदेशका उद्योगमन्त्री सुरेश अधिकारीले भने, ‘मैले स्कुल–क्याम्पसमा मात्र होइन, घरमा पनि उहाँसँगै पढेँ । धेरै जनाको भविष्य उज्ज्वल बनाउनमा उहाँको अतुलनीय योगदान छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप