सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
दसैँ

काठमाडौँमा करिब ५० हजार खसीबोका खपत हुँदै

सोमबार, २१ असोज २०८१, १४ : ५१
सोमबार, २१ असोज २०८१

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका तथा च्याङ्ग्रा ल्याएर आइतबारदेखि बिक्री सुरु गरेको छ । कम्पनीले यो वर्ष १८ सय खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ । 

जसमध्ये १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा रहेका छन् । यी खसीबोका र च्याङ्ग्रामा बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिइएको छ । 

बिक्री थालेको पहिलो दिनमा १५० वटा खसीबोका र ४० वटा च्याङ्ग्रा बिक्री भएको खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । बजारको मूल्यभन्दा खाद्यले सहुलियत मूल्यमा बिक्री गरेकाले अपेक्षाअनुसार बिक्री भइरहेको उनले बताइन् ।

‘पहिलो दिन व्यापार राम्रो भएको छ । अब झन् धेरै व्यापार बढ्छ । यो वर्ष खाद्यले ल्याएका खसीबोका र च्याङ्ग्रा दसैँको अवधिमै सकिने देखिएको छ,’ सुवेदीले भनिन् । 

कम्पनीले गत वर्ष २ हजार वटा खसीबोका र ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो । कुल च्याङ्ग्राामध्ये ४७ च्याङ्ग्रा बाँकी थिए । तीमध्ये कुकुरको टोकाइबाट २५ च्याङ्ग्रा मरेका थिए भने बचेका २२ वटा च्याङ्ग्रा मूल्य घटाएर १ हजार १५ रुपैयाँ प्रतिकिलोका दरमा दसैँपछि बिक्री गरिएको थियो । 

कम्पनीले यस वर्ष खसीबोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो वर्ष अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत कम हो । अघिल्लो वर्ष खरिद गरिएका सबै च्याङ्ग्रा बिक्री नहुँदा ठुलो घाटा बेहोर्नु परेकाले यो वर्ष च्याङ्ग्राको परिमाण घटाइएको कम्पनीको भनाइ छ ।

कम्पनीले परिमाण घटाएकै वर्ष दसैँमा खसीबोकाको मासु खपत बढ्ने देखिएको छ । बाढी पहिरोले राजमार्ग अवरुद्ध भएका कारण धेरैजसो मानिसहरू घर जान नपाएर काठमाडौँमै दसैँ मनाउनु पर्ने अवस्था आएको छ । यसले काठमाडौँमा मासुको खपत बढी हुने व्यवसायीहरूको अनुमान छ । 

गत वर्षको तुलनामा यो वर्ष ५ देखि १० हजार खसीबोकाको माग बढ्ने देखिएको नेपाल माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गी बताउँछन् । ‘धेरै मानिस काठमाडौँमा हुँदा ५ देखि १० हजार वटासम्म खसीबोकाको माग बढ्ला भन्ने अनुमान हो,’ खड्गीले भने । 

खड्गीकाअनुसार अघिल्ला वर्षहरूमा ३५ हजारदेखि ४० हजार वटा खसीबोका खपत हुँदै आएको थियो । अहिले बजारको अवस्था हेर्दा ५० हजार हाराहारीमा खसीबोका खपत हुने देखिएको छ । निजी व्यापारीले ३० देखि ३५ हजार खसीबोका र करिब ३ हजार च्याङ्ग्रा ल्याउने उनको भनाइ छ । खड्गीले भने अनुसार माग बढे निजी र सरकारी निकायले ल्याउने खसी बोकाले माग धान्न नसक्ने देखिएको छ । 

कति खपत हुन्छ भन्नेबारे अनुमान गर्न नसकिरहेको कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवन खतिवडा बताउँछन् । ‘मानिसहरू दसैँ मनाउन गाउँ नगए पनि बाढी पहिरोका कारण धेरै मानिस शोकमा डुबेको अवस्था पनि छ । यति नै खपत होला भन्न सक्ने अवस्था छैन,’ खतिवडाले भने । 

कलंकी खसी बजारमा दसैँका लागि खसीबोका दैनिक २ हजार २२ सयको हाराहारीमा आइरहेका छन् । ‘अहिले खासै व्यापार छैन । अब दुई दिनभित्रमा धेरै माग बढ्छ । हामी ३६५ दिन नै खसीबोका ल्याएर बिक्री गर्ने मान्छेलाई माग पुरा गर्न नसकिएला भन्ने डर छैन । माग भए अनुसार कारोबार बढाउने छौँ । अभाव होला भन्ने छैन,’ खतिवडाले भने । 

खतिवडाका अनुसार कलंकीको खसीबोका बजारमा मात्रै २५ हजार खसीबोका आउने अनुमान छ । यस्तै २ हजार च्याङ्ग्रा र ५०० भेडा ल्याउने तयारी छ । 

मूल्य कति ?

खाद्यले यो दसैँका लागि जिउँदो खसीबोका मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्रा १ हजार २३० निर्धारण गरेको छ । तर १० रुपैयाँ छुट गरी खसीबोकाको मूल्य ६६० रुपैयाँ र च्याङ्ग्राको मूल्य १ हजार २२० रुपैयाँमा बिक्री गरिरहेको छ ।

गत वर्ष कम्पनीले सुरुवातमा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार २५० रुपैयाँ तोकेको थियो । तर सो मूल्यमा बिक्री नभएपछि खसीबोकामा प्रतिकिलो २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङ्ग्राको २५ रुपैयाँ सहुलियत दिएर १ हजार २२५ रुपैयाँमा बिक्री गरेको थियो । 

जसअनुसार गत वर्षको तुलनामा खाद्यले यो वर्ष खसीबोकाको मूल्य १० रुपैयाँ बढीमा बिक्री गरिरहेको देखिन्छ । 

व्यवसायीहरूले भने खसीबोका प्रतिकिलो मूल्य ६५० देखि ७३० सम्म बिक्री गरिरहेका छन् । यस्तै च्याङ्ग्रा १ हजार २०० देखि १ हजार ३०० सम्म बिक्री भइरहेको छ । गत वर्षकै मूल्यका आधारमा यो वर्ष पनि बिक्री गरिरहेको कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप