सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ को विमोचन

सोमबार, २१ असोज २०८१, १३ : ५७
सोमबार, २१ असोज २०८१

काठमाडौँ ।  नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फुलहरू’ को आइतबार बेल्जियममा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतका अतिथिहरूले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै राजदूत राजभन्डारीले विदेशमा बस्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश विकासमा ठुलो सहयोग पुग्ने बताए । पुस्तक युरोपका नेपालीहरूको दस्ताबेजको रूपमा रहने भएकाले पनि इतिहास बन्ने उनको धारणा रहेको थियो । पुस्तक मार्फत विदेशमा रहने नेपालीहरूको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।

राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, सङ्घर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरूले कसरी विश्व सामु फैलाई रहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यवाद सहित शुभकामना व्यक्त गरे । 

यस्तै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरूले धेरै चुनौतीका बिचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय  काम गरेकोमा धन्यवाद व्यक्त गरिन् । 

नेपाल पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविष्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरूका सत्य कथाहरू सङ्कलन गरेकोमा पत्रकार गौतमप्रति आभार प्रकट गरे । आफ्नो जनभूमि छोडेर फरक भूगोल संस्कार र संस्कृतिमा आफूलाई स्थापित गर्न नेपालीहरूले युरोपमा गरेका सङ्घर्षका कथाहरू प्रेरणादायी बन्ने उनले बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तक माथि टिप्पणी गर्दै यसले युरोप भित्रका अधिकतम देशका बिभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिए । पुस्तक अभिलेखका रूपमा रहने भएकाले यसको महत्त्व उच्चतम हुने उनले बताए ।

कार्यक्रममा अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले पुस्तक माथि टिप्पणी गर्दै निकै सङ्घर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताए । दुई सय अठासी पेज रहेको पुस्तकको टिप्पणी गर्दै दाहालले अन्तर्वातामा आधारित भएर पुस्तक प्रकाशन भएको बताए ।

यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरूको सङ्घर्षको अन्तरकथा तयार पारी विमोचनका लागि अनेसासलाई अवसर दिनुभएकोमा धन्यवाद दिए ।  कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरि भट्टराई, उपाध्यक्ष कासी दनै, ओएनएफ बेल्जियमका अध्यक्ष विनोद न्यौपाने, जनसम्पर्क समिति बेल्जियमका उपसभापति विराट जोशी लगायतले कृति सफलताको शुभकामना व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप