सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
राजनीतिक तरङ्ग

पूर्वराजा ज्ञानेन्द्रको भुटान भ्रमणबारे के भन्छ सरकार ?

परराष्ट्र बेखबर, सरकारका प्रवक्ता भन्छन्– भ्रमणको अर्थ छैन
सोमबार, २१ असोज २०८१, १३ : ५४
सोमबार, २१ असोज २०८१

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पूर्वराजाको भुटान भ्रमणबारे सरकारलाई औपचारिक रूपमा जानकारी नभएको बताएको छ । पूर्वराजाको भुटान भ्रमणबारे विभिन्न चर्चा परिचर्चा भइरहेपनि परराष्ट्रले पूर्वराजाको भुटान भ्रमण नितान्त व्यक्तिगत भएको प्रतिक्रिया दिएको हो । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले पूर्वराजाको भुटान भ्रमणबारे मन्त्रालयलाई औपचारिक रूपमा कुनै जानकारी नभएको बताए । ‘मलाई थाहा भएसम्म भ्रमणबारे कुनै जानकारी छैन’, उनले सोमबार दिउँसो रातोपाटीसँग भने । 

मन्त्रालयका अर्का एक अधिकारीले पूर्वराजाको व्यक्तिगत भ्रमण भएकाले  सरकार सरोकारको विषय पनि नभएको बताए । भुटान सरकारले पूर्वराजालाई ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गरेपनि भुटानी पक्षबाट केही जानकारी नगराएको र निजी भ्रमण नै भएकाले त्यो स्वाभाविक भएको ती अधिकारीको भनाइ छ । 

यसैगरी सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजाको भ्रमणको कुनै अर्थ नभएको बताए । ‘त्यो भ्रमणको केही चर्चा छैन । चर्चा पत्रिकाहरूले गरेका मात्रै हुन्’, उनले भने । 

सरकारी तहबाटै सम्मान दिइएको भन्ने छ नि भन्ने रातोपाटीको प्रश्नमा उनले पूर्वराजाले के खाए र के गरे भन्ने कुराको अर्थ नहुने बताए । ‘गएर के खाएको छ, बसेको छ त्यो के ठुलो कुरा भयो र ?’, उनले भने । भुटानको राजाले नेपालको राजनीतिमा केही गर्न नसक्ने र त्यो मनसाय पनि नभएको उनको भनाइ थियो । उनले भने, ‘भुटानका राजाले यहाँ नेपालमा केही गर्ने पनि होइन। गराउने मनसुवा पनि होइन’, उनको भनाइ थियो । 

 पूर्वराजाको भ्रमणलाई उनको सचिवालयले यसअघि नै ‘निजी’ निजी भएको स्पष्ट पारिसकेको छ । तर भ्रमण ‘निकै प्रेसर’मा भएको निर्मल निवास सूत्र बताउँछ । निर्मल निवासको यो भनाइ र विभिन्न टीकाटिप्पणीका बिच भ्रमणलाई कूटनीतिक र राजनीतिक रूपमा अर्थपूर्ण भएको भनेर कतिपयले बताउँदै आएका छन् । 

पूर्वराजा ४ दिने भुटान भ्रमण गरेर आइतबार काठमाडौँ फर्किएका थिए ।निजी नै भनिएपनि  उनको स्वागतमा भुटानी सरकारले रेड कार्पेट बिछ्याएको थियो ।  यस्तै भ्रमणका क्रममा शाहले भुटानका राजालगायतसँग भेटवार्ता गरेका थिए ।   पूर्वराजाको भ्रमणलाई राजावादीहरूले राजतन्त्र पुनःस्थापनासँग जोडेर टिकाटिप्पणी गरिरहँदा गणतन्त्रवादी दलहरूले पनि सरकारी पक्षले जस्तै भ्रमणको अर्थ नभएको बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप