सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
टी–२० महिला विश्वकपमा आज

पहिलो संस्करणको विजेता इङ्ल्यान्ड र साविक उपविजेता दक्षिण अफ्रिका भिड्दै

सोमबार, २१ असोज २०८१, १२ : ५६
सोमबार, २१ असोज २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा सोमबार एक खेलमात्र खेलिने भएको छ । आइतबारको खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।

यी दुबै टोलीले पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । हालसम्म इङ्ल्यान्डले एकपटक उपाधि जितेको छ । इङ्ल्यान्डले सन् २००९ मा घरेलु मैदानमा आयोजित पहिलो संस्करणको फाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

यसका अतिरिक्त इङ्ल्यान्ड तीनपटक फाइनलमा पराजित भएको छ । सन् २०१२ मा सम्पन्न तेस्रो संस्करणको फाइनलमा इङ्ल्यान्डलाई अस्ट्रेलियाले चार रनले हराएको थियो । सन् २०१४ मा सम्पन्न चौथो संस्करणको फाइनलमा इङ्ल्यान्डलाई अस्ट्रेलियाले ६ विकेटले हराएको थियो ।

यसैगरी, सन् २०१८ मा सम्पन्न छैटौँ संस्करणको फाइनलमा पनि अस्ट्रेलियाले नै इङ्ल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । अर्कोतिर, दक्षिण अफ्रिकाले भने हालसम्म महिला टी–२० विश्वकपको उपाधि चुम्न सकेको छैन ।

दक्षिण अफ्रिका एकपटक फाइनलसम्म पुगेको थियो । सन् २०२३ मा सम्पन्न आठौँ संस्करणको फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको थियो । त्यो विश्वकप दक्षिण अफ्रिकामै आयोजना भएको थियो । यस अर्थमा दक्षिण अफ्रिका साविक उपविजेता पनि हो ।

दक्षिण अफ्रिका र इङ्ल्यान्ड प्रतियोगिताको समूह ‘बी’ मा छन् । यी दुबै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । आफ्नो पहिलो खेलमा यी दुबै टोली विजयी भएका थिए । पहिलो खेलमा इङ्ल्यान्डले बंगलादेशलाई २१ रनले र दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले हराएका थिए ।

तालिकामा दुई खेल खेलेको वेस्ट इन्डिज दुई अंकसहित पहिलो, एक खेल खेलको इङ्ल्यान्ड दुई अंकसहित दोस्रो, एक खेल खेलेको दक्षिण अफ्रिका दुई अंकसहित तेस्रो र दुई खेल खेलेको बंगलादेश दुई अंकसहित चौथो स्थानमा छन् । स्कटल्यान्ड भने आफ्नो दुबै खेलमा पराजित भएको छ ।

इङ्ल्यान्ड यसपटक अनुभवी खेलाडी हिथर नाइटको कप्तानीमा रहेको छ । ३३ वर्षीया हिथर नाइट इङ्ल्यान्डकी अलराउन्डर खेलाडी हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा सतक प्रहार गरेकी छन् । उनको बलिङ पनि उत्कृष्ट छ ।

यसैगरी, दक्षिण अफ्रिका भने यसपटक लाउरा वोल्भार्डको कप्तानीमा रहेको छ । २५ वर्षीया लाउरा टोलीकी प्रभावशाली ब्याटर हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले तीनवटै ढाँचाको क्रिकेटमा सतक पनि प्रहार गरिसकेकी छन् ।

महिला टी–२० विश्वकपको यो नवौँ संस्करण हो । प्रतियोगिता अक्टोबर २० तारिखसम्म सञ्चालन हुनेछ । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ । महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले एकछत्र राज गर्दै आएको छ । अस्ट्रेलियाले हालसम्म ६ पटक टी–२० महिला विश्वकपको उपाधि उचालिसकेको छ । अस्ट्रेलिया महिला विश्वकपको साविक विजेता पनि हो ।

यसका अतिरिक्त इङ्ल्यान्ड र वेस्ट इन्डिजले पनि एक–एकपटक टी–२० महिला विश्वकपको उपाधि जितेका छन् । इङ्ल्यान्डले सन् २००९ मा आफ्नै भूमिमा आयोजित पहिलो संस्करणको फाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

वेस्ट इन्डिजले भने सन् २०१६ मा भारतमा आयोजित पाँचौँ संस्करणको उपाधि चुमेको थियो । त्यो विश्वकपको फाइनलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई आठ विकेटले हराउँदै पहिलो पटक उपाधिमाथि कब्जा जमाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप