सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाएरै छाड्छौँ :  कोइराला

सोमबार, २१ असोज २०८१, १२ : ००
सोमबार, २१ असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन् । सोमबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित सङ्घका नेताहरूसँगको भेटमा बोल्दै डा.कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न नेता एवम् कार्यकर्ताहरूलाई आग्रह समेत गरे । 

‘कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला। दसैँ तिहारको रमाइलोमा मात्रै होइन जनताको सुख दुःखमा पनि पुग्नुस्, दसैँको शुभकामना,’ डा.कोइरालाले भने ।

कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५ औँ महाधिवेशन पर्खनुपर्ने बताए ।  ‘१५ औँ महाधिवेशन पछि यस्तो धारणा हटेर जान्छ । इमानदार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औँ महाधिवेशनपछि स्थापित गरिछाड्छौ,’ उनको भनाइ थियो ।

सो अवसरमा दलित सङ्घका केन्द्रीय सदस्य मुक्तबहादुर महतेले नेता कोइरालासँगको भेटमा दलित सङ्घको आगामी गतिविधि, राजनीतिमा दलित समुदायको निर्णायक उपस्थिति लगायतका विषयमा छलफल भएको जानकारी दिए ।  सो क्रममा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू सरिता प्रसाई, प्रकाश स्नेही , सञ्जय गौतम, सांसद सीता मिजार लगायत उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप