सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
अख्तियारको प्रतिवेदन

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने प्रवृत्ति बढ्दो

सोमबार, २१ असोज २०८१, ११ : ३१
सोमबार, २१ असोज २०८१

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गर्ने प्रवृत्ति बढेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तथ्याङ्कले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने प्रवृत्ति बढेको देखाएको छ ।

२०७५ सालदेखि २०८० सालसम्म नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गर्ने २२५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगका अनुसार २०७५ देखि २०८० सम्म तीन हजार ५३९ जनाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरी परेको थियो ।

सरकारी सेवामा प्रवेश गर्न तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने प्रवृत्ति बढेको देखिएको हो । सरकारी कार्यालय, संस्थान र शैक्षिक निकायमा कार्यरत कर्मचारीहरूले अनुचित लाभ लिने उद्देश्यले सुरू नियुक्ति र बढुवाका लागि पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा अनुसन्धान गर्दै आएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा ३४ जना सरकारी कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको छ । झुटा प्रमाणपत्र पेस गरेको तथ्य प्रमाणित हुन आइ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) द्वारा परिभाषित कसुर गरेको देखिएकाले उनीहरूलाई साविक भ्रष्टार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) द्वारा व्यवस्थित हदैसम्मको सजाय माग गर्दै आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गर्ने गरेको हो ।

आरोपपत्रको अवस्था

आयोगले गत आर्थिक वर्ष २०८०/०८१ मा ३४ जनाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

धनुषाको नवयुवक आधारभूत विद्यालय थुम्हौनामा कार्यरत राहत शिक्षक सीताकुमारी यादवको शैक्षिक योग्यताको प्रमाणपत्र तथा अध्यापन अनुमतिपत्र नक्कली भएको भन्ने उजुरी परेपछि आयोगले छानबिन थालेको थियो । अनुसन्धानको क्रममा उनले विहार संस्कृत शिक्षा बोर्डबाट जारी भएको भनिएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्राथमिक तहको अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति लिएको पाइएको आयोगले जनाएको छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजाय गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) मा कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झुटा विवरण दिएमा वा सो सम्बन्धी झुटा प्रमाणपत्र पेस गरेमा निजलाई कसुरको मात्रा अनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रूपैयाँदेखि २० हजार रूपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ ।

रुपन्देही, कोटरीमाई गाउँपालिका–१ वडा कार्यालयमा सामाजिक परिचालक पदमा कार्यरत गौंस मोहम्मद तेलीको समेत शैक्षिक प्रमाणपत्र छानबिन गरिपाउँ भनी उजुरी परेको थियो । आयोगले गरेको अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद भारतबाट जारी भएको भनिएको माध्यमिक तहको झुटा शैक्षिक प्रमाणपत्र पेस गरी सामाजिक परिचालक पदमा करार नियुक्ति लिने कार्य गरेको भन्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

नेपाल वायुसेवा निगममा आठौँ तहका विमान चालक पदमा कार्यरत सम्राटबहादुर शाहको शैक्षिक योग्यता नक्कली रहेको भन्दै आयोगमा उजुरी परेको थियो । उजुरीमाथि अनुसन्धान गर्ने क्रममा उनले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय वाराणसीबाट जारी भएको भनिएको इन्टरमिडिएट तहको झुटा शैक्षिक प्रमाणपत्र पेस गरी विमान चालक पदमा नियुक्ति लिएको भन्दै आरोपपत्र दायर गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा कार्यरत शाखा अधिकृत लक्ष्मण शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै उजुरी परेको थियो । आयोगले गरेको छानबिनका क्रममा उनले भारतको प्रयागराजबाट माध्यमिक शिक्षा परिषद्बाट इन्टरमिडियट परीक्षाको नक्कली प्रमाणपत्र पेस गरेर कम्प्युटर अपरेटर पदमा सुरु नियुक्ति लिइ शाखा अधिकृत (सातौँ तह) मा बढुवासमेत भएको भन्दै आरोपपत्र दायर गरेको थियो ।

२०८०/०८१ मा ३४ जनाविरुद्ध मुद्दा : नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेविरुद्ध विशेष अदालतमा दर्ता भएको मुद्दाको विवरण 

Capture

आयोगले आर्थिक वर्ष २०८०/०८१ मा विशेष अदालतमा मुद्दा दायर गरेका २०१ आरोपपत्रमध्ये ३४ वटा आरोपपत्र नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी छन् ।

गत आर्थिक वर्षमा शिक्षा क्षेत्रका चार हजार ५४३ उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्षको एक हजार १६९ उजुरीको जिम्मेवारी सरेर आउँदा पाँच ७१२ उजुरी थिए, जुन १५.७९ प्रतिशत हुन आउँछ ।

त्यस्तै नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी ५२३ वटा परेका थिए । एक हजार १८२ उजुरी अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आउँदा एक हजार ७०५ उजुरी नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित छन्, जुन ४.७१ प्रतिशत हुन आउँछ ।

नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी परेका उजुरी संख्या 

Capture

२०७९ मा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी ७८८ उजुरी

आर्थिक वर्ष २०७९/०८० मा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाएको भन्दै ७८८ वटा उजुरी परेको थियो । आयोगको तथ्याङ्क अनुसार ९०२ उजुरी अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका थिए । जस अनुसार एक हजार ६९० उजुरी थिए, जुन ६.०२ प्रतिशत हुन आउँछ ।

अख्तियारले २०७९/०८० मा शैक्षिक योग्यता नक्कली प्रमाणपत्र पेस गर्ने ८ वटा आरोपपत्र विशेष अदालतमा दायर गरेको थियो । आयोगले १६२ वटा आरोपपत्र विशेष अदालतमा दायर गर्ने निर्णय गरेको थियो ।

यो वर्ष शिक्षा क्षेत्रसँग सम्बन्धित ३ हजार २७० उजुरी परेका थिए । ८१३ उजुरीको अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको थियो । जस अनुसार शिक्षा क्षेत्रका ४०८३ उजुरी थिए, जुन १४.५५ प्रतिशत हुन आउँछ ।

२०७८ मा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी ९८२ उजुरी

आर्थिक वर्ष २०७८/०७९ मा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै आयोगमा ९८२ वटा उजुरी परेका थिए । ४०१ उजुरी अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आउँदा एक हजार ३८३ उजुरी थिए, जुन ५.६८ प्रतिशत हुन आउँछ ।

आयोगले १३१ वटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो । जसमा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी ६ वटा आरोपपत्र दायर भएका थिए । ६ वटा आरोपत्रमा  ७ जना पुरूष र १ जना महिलालाई प्रतिवादी बनाइएको थियो । जसमा ६ लाख ७४ हजार ५११ रूपैयाँ बिगो मागदाबी गरिएको थियो ।

यो वर्ष शिक्षा क्षेत्रसँग सम्बन्धित एक हजार १६० उजुरी परेका थिए । दुई हजार ५६५ अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको जोड्दा तीन हजार ७२५ उजुरी थिए, जुन १५.३१ प्रतिशत हुन आउँछ ।

शिक्षा (स्थानीय तह समेतगरी) क्षेत्रसम्बन्धी परेका उजुरीको संख्या 

Capture

२०७७/०७८ मा नक्कली प्रमाणपत्रका ३१६ उजुरी 

आर्थिक वर्ष २०७७/०७८ मा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाएको भन्दै ३१६ उजुरी परेका थिए । ९५३ उजुरी अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आउँदा एक हजार २६९ उजुरी थिए, जुन ५.६१ प्रतिशत हुन आउँछ ।

आयोगले ११४ वटा आरोपपत्र विशेष अदालतमा दायर गर्ने निर्णय गरेकोमा ११३ वटा आरोपपत्र दायर भएका थिए । एउटा आरोपत्रपत्र अर्को आर्थिक वर्षमा दायर गरेको थियो, जसमा ३ वटा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी थिए ।

यो वर्ष शिक्षा क्षेत्र (स्थानीय तह समेत) का दुई हजार ७७ उजुरी परेका थिए । एक हजार ४५४ उजुरी अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आउँदा तीन हजार ५३१ उजुरी थिए, जुन १५.६१ प्रतिशत हुन आउँछ ।

२०७६/०७७ मा नक्कली प्रमाणपत्रबारे ४१६ उजुरी  

आर्थिक वर्ष २०७६/०७७ मा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी ४१६ उजुरी परेका थिए । एक हजार ५०३ उजुरी अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आउँदा एक हजार ९१९ उजुरी थिए, जुन ७.६३ प्रतिशत हुन आउँछ ।

यो वर्ष आयोगले ४४१ वटा आरोपपत्र विशेष अदालतमा दायर गरिएको थियो । तीमध्ये नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी ८५ वटा थिए, जसमा ६६ पुरूष र २० महिलालाई प्रतिवादी बनाइएको थियो ।

यो वर्ष शिक्षा (विद्यालय समेत) सम्बन्धी दुई हजार ६९० उजुरी दर्ता भएका थिए । एक हजार ४२६ उजुरी अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आउँदा चार हजार ११६ उजुरी थिए, जुन १६.३६ प्रतिशत हुन आउँछ ।

२०७५/०७६ मा नक्कली प्रमाणपत्रका ५१४ उजुरी

आर्थिक वर्ष २०७५/०७६ मा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी ५१४ उजुरी परेका थिए । एक हजार ५४० अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आउँदा दुई हजार ५४ उजुरी हुन आउँछ, जुन ८.५३ प्रतिशत हुन आउँछ ।

यो वर्ष ३५७ वटा आरोपपत्र विशेष अदालतमा दायर भएको थियो । जसमा ६ वटा आरोपपत्र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएको थियो । जसमा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी ८८ वटा आरोपपत्र थिए, जसमा ६१ जना पुरूष र २७ जना महिलालाई प्रतिवादी बनाइएको थियो ।

यो वर्ष शिक्षा क्षेत्रका तीन हजार १५ उजुरी दर्ता भएका थिए । एक हजार ६९ उजुरी अघिल्ला आर्थिक वर्षको जिम्मेवारी सरेर आउँदा चार हजार ८४ उजुरी थिए, जुन १६.९५ प्रतिशत हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप