सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
पहिरोमा परी ६ बाल खेलाडीको मृत्यु प्रकरण

छानबिन समिति गठन गर्ने एन्फाको निर्णयप्रति वरिष्ठ उपाध्यक्ष खड्को असहमति

सोमबार, २१ असोज २०८१, १० : १२
सोमबार, २१ असोज २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन बैठकले गरेको एक निर्णयप्रति एन्फाकै बरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले असहमति ब्यक्त गरेका छन् ।

गत असोज १२ गते मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित एन्फा वात्सल्यदेबी एकेडेमीमा पहिरोमा परी ६ जना बाल खेलाडीको निधन भएको थियो ।

एन्फा कार्यसमितिको आइतबार बसेको आपतकालीन बैठकले उक्त घटनाको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको थियो ।

एन्फा केन्द्रीय सदस्य विकाश नारायण श्रेष्ठको संयोजकत्वमा गठित छानबिन समितिमा टिकाराम लामा (एन्फा केन्द्रीय सदस्य) र दामोदर भट्टराई (एन्फा सहायक महासचिव) सदस्यका रुपमा रहेका छन् ।  

छानबिन समितिलाई घटनाको सत्य–तथ्य विवरण संकलन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । तर, वरिष्ठ उपाध्यक्ष खड्काले छानबिन समितिमाथि नै प्रश्न उठाएका छन् ।

‘छानबिन समितिमा रहेका सदस्यहरुप्रति मेरो असहमती छ । एन्फा र ब्यवस्थापन समितिको लापरवाहीका कारण घटना भएको भनेर प्रश्न उठिरहेको छ । छानबिनको दायरामा पर्ने ब्यक्ति नै समितिमा रहेको र सो घटनाको छानबिन गर्न संसदीय समिति समेत गठन भइसकेको अवस्थामा यो समितिको औचित्य नहुने हुँदा यो निर्णयमा मेरो सहमती नरहेको ब्यवहोरा जानकारी गराउँछु,’ वरिष्ठ उपाध्यक्ष खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खड्काले नै उक्त घटनाको विषयमा छलफल गर्न एन्फा कार्यसमितिको आपतकालीन बैठक बोलाउन माग गरेका थिए । उनको माग अनुसार नै एन्फाको अपतकालीन बैठक बोलाइएको थियो ।

आपतकालीन बैठकले उक्त घटनामा मृत्यु भएका ६ जना बाल फुटबल खेलाडी आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आयार्च, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनको परिवारलाई राहत स्वरुप जनही आठ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसैगरी, बैठकले प्रत्येक दिवंगत खेलाडीको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकहरुलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई स्वर्गिय ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । दिवंगत खेलाडीहरुको सालिक वा स्मृति स्तम्भ निर्माणका लागि वात्सल्यदेबी माविसँग पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, आपतकालीन बैठकले दिवंगत बाल खेलाडीहरुको परिवारलाई थप राहतका लागि विश्व फुटबल महासंघ (पिफा) र एसियाली फुटबल महासंघ (एएफसी)सँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप