सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

सरकारको बदमासी : पैसा लिने, इम्बोस्ड नम्बर प्लेट नदिने

सोमबार, २१ असोज २०८१, १० : ०५
सोमबार, २१ असोज २०८१

पोखरा । सरकारले नयाँ दर्ता हुने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । इम्बोस्ड नम्बर प्लेटका लागि तोकिएको शुल्क नतिरेसम्म सवारी नै दर्ता हुँदैनन् । यातायात व्यवस्था कार्यालय कास्की कार्यालयले नयाँ दर्ता भएका सवारीसँग इम्बोस्डको लागि शुल्क असुल गरे पनि हालसम्म प्लेट प्लेट चाहिँ उपलब्ध गराएको छैन । 

कार्यालयमा आर्थिक वर्ष २०८०/०८१ मा १० हजार १ सय ९१ सवारी साधन दर्ता भए । मोटरसाइकल ८ हजार ६ सय २०, साना सवारी १ हजार १ सय ४९ र ठुला सवारी ४ सय २२ वटा दर्ता भएका हुन् । कार्यालयका अनुसार मोटरसाइकलको लागि २ हजार ५ सय, साना गाडीको लागि ३ हजार २ सय र ठुला सवारीको लागि ३ हजार ६ सयका दरले रकम उठाइएको छ ।

इम्बोस्ड नम्बर प्लेटका लागि भनेर २ करोड ६७ लाख ४६ हजार रुपैयाँ सङ्कलन गरिएको छ । इम्बोस्ड नम्बर प्लेटका लागि रकम तिरेको वर्ष दिनसम्म पनि उपभोक्ताले साधारण प्लेट नै प्रयोग गर्न बाध्य छन् । ‘उपभोक्ताहरू इम्बोस्डको रकम तिर्नै मान्नुहुन्न । हामीले जबरजस्ती लिइरहेका छौँ,’ कार्यालयका निमित्त प्रमुख अशोक गौतमले भने, ‘प्लेट उपलब्ध गराइदिन धेरै पटक विभागमा पत्र लेखेका छौँ । विभागले प्लेट उपलब्ध गराइदिएको छैन । हामीले के दिने ? उपभोक्तालाई न प्लेट दिन सकियो, न जवाफ दिन सकियो ।’ 

यसबाहेक गएको वर्ष मात्रै विद्युतीय गाडी समेत ५ सय २८ वटा दर्ता भएका छन् । मोटरसाइकल स्कुटर ९० वटा, कार ३ सय ७० वटा, पिकअप भ्यान १३ वटा र माइक्रो बस ५५ वटा दर्ता भएका कार्यालयले जनाएको छ । कार्यालयले गएको वैशाख २५ गते इम्बोस्ड नम्बर प्लेट उपलब्ध गराइदिन लिखित निवेदन नै पठाएको थियो । ‘सरकारी चार पाङ्ग्रे १ सय ७, दुई पाङ्ग्रे २ सय १२, भाडाका चार पाङ्ग्रे ९५ भन्दा बढीले राजश्व रकम भुक्तान गरी प्लेट कुरिरहेकोले थप अन्य प्लेट पनि शीघ्र उपलब्ध गराइदिन अनुरोध छ,’ विभागमा पठाइएको पत्रमा उल्लेख छ ।

त्यसपछि असोज असोज १ गते अर्को पत्र पठाएर पुनः नम्बर प्लेट मागेको छ । २०८० चैत १८ गते पनि विभागमा नम्बर प्लेट माग गरी पत्र पठाइएको गौतमले जानकारी दिए । ‘धेरै पटक पत्र पठाइयो । कुनै प्रतिक्रिया पाएका छैनौँ,’ उनले भने, ‘चैतमा पठाएको पत्रको जवाफ नआएपछि असोजमा अर्को पत्र गएको छ ।’ विभागकै परिपत्र अनुसार सवारीको नयाँ दर्ता र नामसारी गर्दा इम्बोस्ड नम्बर प्लेट जडानको लागि भनेर छुट्टै शुल्क असुलिएको हो । ‘नम्बर प्लेट उपलब्ध गराउन नसक्दा थप समस्या सिर्जना भएको छ । त्यसैले माग बमोजिम को नम्बर प्लेट तत्कालै उपलब्ध हुनुपर्छ,’ गौतमले थपे, ‘अहिलेकै प्लेट दिन नसकेपछि अब प्लेट बापतको शुल्क लिने वा नलिने भन्ने अन्योलमा छौँ ।’

हालसम्म गण्डकीमा दर्ता भएका सवारी साधनका लागि ६ हजार ४ सय ६७ वटा प्लेट प्राप्त भएको छ । त्यसमध्ये ५ हजार ४ सय ८२ वटा जडान गरिएका छन् । ९ सय ४७ वटा जडान गर्न बाँकी छन् । गण्डकी प्रदेशमा हालसम्म ३ लाख १८ हजार ३ सय ७२ सवारी साधन दर्ता भएका छन् । मोटरसाइकल २ लाख ४९ हजार ४ सय ३८ वटा दर्ता भएको छ भने कार, जिप, भ्यान २० हजार ८ सय १७, बस, मिनिबस र मिनी ट्रक १० हजार ८ सय ४६, माइक्रो बस १४ हजार ५ सय १३ दर्ता भएका छन् । 

यस्तै, ट्याक्टर र पावर टिलर १२ हजार २ सय १२, क्रेन, डोजर, एक्स्काभेटर र ट्रक ७ हजार ८९, पिकअप भ्यान ३ हजार ४ सय १० र टेम्पो ४७ वटा दर्ता भए । यातायात व्यवस्था कार्यालय कास्कीका अनुसार आर्थिक वर्ष २०७५।०७६ देखि विद्युतीय सवारीको पनि दर्ता सुरु भएको छ । हालसम्म ९ सय ९० वटा विद्युतीय सवारी दर्ता भएका कार्यालयले जनाएको छ । त्यसमध्ये मोटरसाइकल र स्कुटर ३ सय ७३ वटा छ भने कार सबैभन्दा धेरै ५ सय ४९ वटा छ । पिकअप भ्यान १३ वटा र माइक्रो ५५ वटा दर्ता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप