सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

सुनसरीमा किसान भन्छन्– यस पटकको दसैँ दशा भएर आयो

सोमबार, २१ असोज २०८१, ०९ : ३३
सोमबार, २१ असोज २०८१

सुनसरी । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले ती मध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । 

उनी भन्छन्, “दसैँ अगाडि नै धान भित्र्याउने सोच बनाएको थिए ।  आफूलाई खान पुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए ।  यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो । ”

 यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन ।  उनले भने, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ । ”

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गरेका थिए । उनले भने, “बाढीले  भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो ।  यसपटक दसैँ दशा भएर आयो । ” 

 बाढीका कारणले जिल्लाको धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।  

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आकलन एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ । कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले  बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले बाढीबाट रु दुई करोड ५० लाख बराबरको धान नोक्सानी भएको बताए। उनले भने, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी  छ  ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप